Breaking

एक्लिएका बाबुरामको जोश, निकोलसले हपारे, पहिचानमा विकल्प खोज्दै, डकेन्द्रको सारथी (भिडियोसहित)


काठमाडौँ— नेपाली राजनीतिमा कुनै समय चर्चाको शिखरमा रहेका डा. बाबुराम भट्टराई समयक्रमसँगै अहिले एक्लिएका छन् । राजनीतिमा धोकाधडीको खेल र एक्लोपन कस्तो हुन्छ भन्ने बुझ्न बाबुरामलाई हेरे पुग्छ । एक्लिदै जाँदा किचन क्याबिनेटका सदस्यले समेत बाबुरामको साथ छाडेका छन् । तर, उनी स्वयं भने थाकिसकेका छैनन् ।
दशक लामो सशस्त्र युद्धबाट शान्ति प्रक्रियामा आएसँगै डा. बाबुराम भट्टराईको चर्चा चुलिएको थियो । पहिलो संविधान सभामा माओवादी सबैभन्दा ठूलो दल भएपछि अर्थमन्त्री बनेका डा. भट्टराईको चर्चा चुलियो । भट्टराईलाई निर्विकल्प नेतृत्वको रुपमा आमजनताले अर्थाए । उनको लोकप्रियताले माओवादीमा प्रचण्ड छदै उनी प्रधानमन्त्रीसमेत बने । धोबिघाट गठबन्धनबाट बैद्य, बादल र विप्लवको समते समर्थनमा बाबुराम प्रधानमन्त्री बने । तर, प्रधानमन्त्री बनेपछि उनको लोकप्रियता खस्किदै गयो । आफुलाई प्रधानमन्त्री बनाउने सहयोद्धालाई समेत उनले भुले । जनताको पक्षमा अपेक्षाकृत काम हुन सकेन । सामाजिक सञ्जालमा ताली मात्रै आउने स्थिति बदलियो । तालीभन्दा गाली बढी आउने स्थिति बनाएर उनी प्रधानमन्त्री पदबाट बिदा भए ।

माओवादीमा प्रचण्डपछिको वरीयता बाबुराम नै थिए । तर, माओवादीबाट पार नलाग्ने निष्कर्ष निकाल्दै नयाँ शक्तिको अवधारणासहित अगाडि बढे । उक्त शक्तिलाई सुरुमा धेरैले आशा पनि गरेको थियो । तर, राजनीतिको नयाँ प्रयोगमा भट्टराई सफल हुन सकेनन् । मधेशवादी दल हालको जसपासँग पार्टी एकता गर्न पुगे । त्यहाँ पनि उनी लामो समय टिक्न सकेनन्् । अहिले नेपाल समाजवादी पार्टी स्थापना गरेर बसेका छन् । तर, उनलाई विगतका साथ दिएका अधिकांशले उनलाई छाडिसकेका छन् । ओरालो लागेको मृगलाई बाछोले पनि लखेट्छ भनेझैँ बाबुरामलाई पनि अहिले जनजीविकाको मुद्दामा ऐक्यबद्धता जनाउन जाँदा पनि अपमान सहनु परेको छ ।

बाबुरामका नजिकका विश्वासपात्र गंगानारायण श्रेष्ठ र विश्वदिप पाण्डेले समेत उनलाई छाडिसकेका छन् । बाबुरामको अस्थिर चरित्रले समस्या पारेको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् । बाबुराम राजनीतिको किनारामा हुत्तिसकेका छन् । कम्युनिस्ट विचारधारादेखि माओवादीसम्मलाई भत्केको घरको संज्ञा दिने बाबुराम गत निर्वाचनमा प्रचण्डलाई फेरि नेता मानेर हिड्न तयार भएका थिए । आफ्नो निर्वाचन क्षेत्र नै प्रचण्डलाई सुम्पिएका थिए । प्रचण्डलाई जिताउन बाबुराम दिनरात खटिएका पनि थिए । तर, निर्वाचनपछि प्रचण्ड र बाबुरामबीच दुरी बढ्यो । बाबुराममाथि पार्टी एकतामा भाँजो हालेर जनतालाई धोका दिएको आरोप लाग्न थालेको छ । आफुलाई राष्ट्रपति वा श्रीमतीलाई उपराष्ट्रपति बनाउने प्रस्ताव पूरा नभएपछि बाबुराम एकता प्रक्रियाबाट ढाटिएको गम्भीर आरोप लागेको छ ।

कुनै कालखण्डमा बाबुरामजस्तो नेता कोही छैन भन्दै नारा लाउनेहरू आज उनैलाई देखेर खिसीट्युरी गर्दै छन् । सामाजिक सञ्जालमा सम्भवत सबैभन्दा बढी गाली बाबुरामले नै खान्छन । तर पनि उनी आफ्नो अभियानमा निरन्तर लागिपरेका छन् । राजनीतिक अभियानमा थकाइ लाग्नेहरू छुट्ने उनको तर्क छ । वैकल्पिक शक्ति स्थापना गर्ने लक्ष्यसाथ पार्टी गठन गरेकाले नथाक्ने उनी दाबी गर्छन ।

राजनीतिबाट एक्लिएका बाबुराम पछिल्लो समय इलामको उपनिर्वाचनमा पहिचानवादी उम्मेदवारलाई साथ दिन पुगेका छन् । उनी एक्लिए पनि नथाकेको र जनताको पक्षमा निरन्तर उभिइरहने दाबी गर्छन । तर, उनी हिडेँको बाटो कठिन छ । उनले लिएका मुद्दा र बोकेका एजेण्डा अरुले जफत गरिसकेका छन् । उनको अबको राजनीतिक यात्रा कता पुग्छ, हेर्न केही समय कुर्नै पर्छ ।