Breaking

दुुर्गा, ऐन बोक्दा ओलीलाई र्‍याख र्‍याख्ती,भीम रावल ओलिका लागि चुनौती, ओलीले प्रचण्ड–माधव पाखा लगाउँदै


काठमाडौँ – एमालेको महाधिवेशन पछिकै शक्तिशाली महाधिवेशन प्रतिनिधि परिषद् बैठक ६ वटा प्रतिवेदनमाथि छलफल गर्दै सकिएको छ । पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनका लागि बलियो पार्टी निर्माणमा बैठक सहयोगी हुने निश्कर्ष निकालिएको छ । वामपन्थी एकतादेखि सत्ता सहकार्यबारे स्पष्ट बोलेको एमाले एकताबद्ध रहेको दाबी गरिए पनि गुटहरु झांगिदै गएको रिपोर्ट पनि एमालेकै संयन्त्रहरुले देखाएकाछन् ।

एमालेको कुम्भ मेला मानिएको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सम्भवतः एमालेकै इतिहासको पहिलो स्पष्ट प्रतिवेदन हुनसक्छ । जहाँ, वामपन्थी एकता, सरकार निर्माण, नयाँ र पुराना राजनीतिक दलदेखि देशमा बढ्दो अस्थीरताबारे स्पष्ट शब्दमा सविस्तार वर्णन गरिएको छ । उनले वामपन्थी एकतामा अरुची देखाउनेदेखि बढी दलमा शक्ति बाँडिदा अस्थिरता बढेको, राजतन्त्र फर्काउने मिसन असफल हुने र कांग्रेसबाट देश नबन्नेसम्मका बिषयमा प्रस्ट पारेका छन् ।

निश्चित दल, विचार या शक्तिलाई निषेध गर्ने गरी अगाडि बढाइने एकता व्यवहारिक र लाभदायी नहुने उनको निश्कर्ष छ । एमालेबाहेक नेपालमा कुनैपनि कम्युनिस्ट शक्ति नभएको छनक दिने ओलीको प्रतिवेदनले कम्युनिस्टका साना पसलहरुसँग एकताको आवश्यकता नै नभएको औल्याएको छ ।

ओलीको यो प्रतिवेदनले पार्टीदेखि सरकारमै पनि केही संकट निम्त्याउने सम्भावना देखिन्छ । गत फागुनमा सरकार बनाउन माधव नेपालको निवासमै छिरेर वाम एकताको ललीपप देखाएका ओलीको माधवसँग सम्बन्ध सुधारिएको चर्चाका बिच वामन्थी ध्रुविकरणमा माधवको आवश्यकता महसुस गरेनन् । यसले उनीसँग एकाताका लागि दोस्रो तहका नेताहरुले गरेको प्रयासलाई समेत फिका पारिदिएको छ ।


नयाँ शक्ति बोकेर उनीहरुलाई नै सही दर्शन र विचारधार नभएका शक्ति भन्दै अथ्र्याएका ओलीले पपुलिस्टहरु विकल्प हुन नसक्ने भन्दै नयाँ शक्तिहरुको चर्को विरोध गरेका छन् । उनीहरुलाई पानीको फोकाको संज्ञा दिएका ओलीले धेरै दिन नटिक्ने समेत बताएका छन् । यसले कोशीमा पहिचानको विपक्ष जाँदा आक्रमण सहनु परेको एमालेलाई पपुलिस्टहरुकै पक्षमा देखिएको जनलहरले चुनावमा प्रभाव पर्नसक्छ ।


वाम ध्रुविकरण भन्दै एमालेसँग मिलेको माओवादीलाई वामपन्थी ध्रुविकरण सम्भव नरहेको वक्तव्यले असर पार्न सक्छ । कांग्रेसको कम्युनिस्ट नबोक्ने भनेको गोदावरीकै हलमा एमालेले कम्युनिस्टका साना पसल नबोक्ने स्पष्ट पारिसकेको छ । यो अवस्थामा एक्लै हिंड्ने वा अरुसंग टासो लाग्ने भन्नेबारे माओवादीको रणनीति के हुन्छ ? भन्ने प्रश्न छ । त्यसमाथि कांग्रेस पनि खस्किदो शक्ति भएकाले उसको नेतृत्वमा देश बन्न नसक्ने बताएका कारण एमाले फेरि प्रतिपक्षमा पुग्ने सम्भावना बलियो देखिन्छ । भने कांग्रेससँग सत्ता समीकरणको सम्भावना समेत कमजोर बन्दै जानेछ ।


१० औँ महाधिवेशनमा सहभागि २ हजार ५४५ प्रतिनिधि गोदावरी जाँदा डा. भीम रावलले भने वहिस्कार गर्दै छुट्टै पत्रकार सम्मेलन गरे । ओलीले औपचारिक जानकारी समेत नगराइ बाइकट गर्ने मनसाय बुझेका रावलले ओलीले स्पष्ट बोलेका बुँदामा थप टिप्प्णी गर्दै उनले सत्ताका लागि जे पनि गर्ने प्रवृत्तिले कम्युनिस्टहरुप्रतिको विश्वास घट्दै गएको र समाजवादको नीति अलपत्र पारेर कतैपनि नपुगिने बताए । ओलीले अहिलेकै नीति र नेतृत्वमा पार्टी चल्ने र त्यसमा कुनै विवाद नरहेको देखाउँदा ओलीको अघि नदेखिने गुटहरुको जञ्जाल र पुराना नेताहरुलाई बाइपास गर्दै लग्ने रणनीतिले ओलीको नेतृत्व सकिने वित्तिकै अर्को संकट आउने निश्चित छ ।

सल्लाहकार परिषद्ले दुर्गा प्रसाईंको नाम नलिइ उनीप्रति लक्षित गर्दै उनले पार्टी छाडेपनि अहिले एमालेलाई बद्नाम गर्नेगरी अभिव्यक्ति दिएको र आधारहीन आरोप लगाइरहेकाले उनीबाट पाठ सिक्नुपर्ने बताइएको छ । परिषद्ले ऐन महरको राजीनामा र पुनः मनोनयको विषय पनि उठाएको छ । किन राजीनामा गर्न लगाइयो र किन मनोनयन गराईयो भन्नेबारे नेतृत्वले बोल्न नसकेकोमा असन्तुष्टि प्रकट गरेको छ ।

ओलीले पार्टी एक रहेको जतिसुकै दाबी गरे पनि केन्द्रीय अनुशासन आयोगले सार्वजनिक रुपमा गुटको विरोध गर्नेहरुबाटै आन्तरिकरूपमा गुटको पसल खोलिएको विश्लेषण गरेको छ । पार्टीमा नेता मन पर्दा ‘देवत्वकरण गर्ने र मन नपर्दा ‘दानवीकरण’ गर्ने चाकडी र चाप्लुसी बढेको एमालेकै प्रतिवेदनले देखाएको छ । पार्टीको हीरक महोत्वकै संघारमा भएको महाधिवेशन पछिकै ठूलो परिषद् बैठकले कस्तो बाटो देखाउँछ त्यो एमालेको व्यवहारले भरपर्छ ।।