Breaking

आत्मानन्दको पाउँमा ठूला नेता, रवि ढुक्क, डेकेन्द्र चेला, डम्बरको लगानी, ५ हजार मतले छिनोफानो (भिडियोसहित)


काठमाडौँ— इलामको उपनिर्वाचनमा मतदाता रिझाउन व्यस्त भएका उम्मेदवार मात्रै होइन कि उम्मेदवारलाई भोट माग्न पुगेका शिर्ष नेतृत्वको समेत ध्यान खिचेका किराँत धर्मगुरु आत्मानन्द लिङ्देन हुन् । अहिले यीनको दैनिकी नै शिर्ष नेता र उम्मेदवारको भेटघाटलाई समय दिँदै व्यतित भइरहेको छ । आखिर निर्वाचनको मुखमा धर्मगुरुकोमा भिड किन ?

उम्मेरले ७० पुगेका किराँत धर्मगुरु आत्मानन्द लिङ्देन अहिले इलाम उपनिर्वाचनको सरगर्मीसँगै राष्ट्रिय राजनीतिमा छाएका छन् । उनि उम्मेदवार हैनन् तथापी उनको इलाममा देखिएको उपस्थिती र समर्थनले उम्मेदवारको पल्ला भारी हुन सक्ने विश्लेषण छ ।
जसका कारण पनि धर्मगुरु आत्मनन्द सचारमाध्यममा छाएकाछन् । फागुनन्दको अवतारको रुपमा किरात धर्मालम्बीहरुले पुजेका आत्मानन्द अहिले भोट बैंकको रुपमा परिभाषित भएका छन् । उनी इलामको माङ्सेबुङ गाउँपालिका–२ मा जन्मिएकाले सो क्षेत्रको मतदाता पनि हुन ।्

रैथाने गुरु र भुगोलले पुजेकै कारण ५ हजारभन्दा बढी भोट आत्मानन्दको अन्तिम इशारामा खस्ने आम विश्लेषण छ । फलतः आत्मनन्दको पकडमा ५ हजार हाराहारीमा व्यक्तिगत मत रहेको अनुमान पाएका पार्टी र स्वतन्त्र उम्मेदवार उनको आश्रममै पुगेर रिझाउन सुरु गरेकाछन् । आत्मनन्द तिनै व्यक्ति हुन् जसको आशिर्वाद लिन कुनै बेला राजनीतिका प्रखर खेलाडी पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र केपी शर्मा ओलीसमेत उनको दैलोमा पुगेका थिए । कोईराला र ओलीले प्रधानमन्त्री हुन पूर्व आशिर्वाद ग्रहण गरेर सत्ताको राजकाग गरेका थिए । अहिले चुनावी रापतापमा, राजेन्द्र लिङ्देन, सिके राउत र झलनाथ खनालसमेत आत्मनन्दको आश्रममा पुगेर आफ्ना उम्मेदवारको पक्षमा समर्थन जुटाउन कसरत गरीरहेकाछन् ।

पाँचपटक इलामबाट निर्वाचित भएका दिवंगत नेता सुवास नेम्वाङले सधैं आत्मानन्दको साथ पाइरहे । चुनावी अभियान नै उनको आशिर्वादबाट सुरु गर्ने राजनीतिक संस्कार बनेको छ । धर्मगुरुले आशिर्वाद दिएपछि उनका अनुयायीको मत पनि पक्का भएको अर्थमा उम्मेदवारहरुले बुझ्ने गरेका छन् ।

धर्मगुरुकै भूमिबाट रास्वपाले मिलनलाई उम्मेदवार बनाउनुको एउटा कारण आत्मानन्दको साथ पाउने विश्वास पनि हो । जहाँ रवि आफै आत्मानन्दको आश्रममा दुईपटक पुगिसके भने उनी स्वयंम्ले समेत आत्मानन्दकै आशिर्वाद र भूमिबाट चुनावी प्रचार सुरु गरे । आश्रमकै आगनमा हुर्किएको र बाबु आमा पनि आत्मानन्दकै अनुयायी भएकाले मिलनले उनको साथ पाउनेमा रास्वपा ढुक्क देखिन्छ ।

धर्मगुरु आत्मानन्दलाई जति रास्वपाले फकाउन खोजेको छ, त्यति नै उनकै उत्तराधिकारी र पहिचानको मुद्दा बोकेर कोशीको नाम फेर्न हिडेका डेकेन्द्र थेगिम पनि आफ्नो पक्षमा समर्थन जुटाउन भगिरथ प्रयासमा छन् । आश्रममै काम गरेको र अझ हर्क र आत्मानन्दको समधुर सम्बन्धले समेत आफुलाई नै गुरुको साथ मिल्नेमा उनी विश्वस्त छन् । जहाँ आत्मानन्दले खोजेकै किरात सगरमाथा प्रदेशको मुद्दालाई उनले बटमलाइन बनाएका छन् । त्यसो त, काँग्रेस नेता शेखर कोइराला नै आत्मानन्दकै आश्रममा पुगेर डम्बरबहादुर खड्कालाई सहयोग मागिसकेका छन् । गएको निर्वाचनमा साथ नपाएर पराजित हुँदा समेत डम्बर आफै गुरुको अनुयायी मै हुँ भन्दै इलामलाई किरात धर्मालम्बीहरुको केन्द्र बनाउने उद्घोष गरि धर्मगुरु रिझाउने नीतिमा छन् ।

यता काँग्रेस जस्तै एमालेका सुहाङ नेम्वाङ पनि बाबु गुमाएको टुहुरोलाई धर्मगुरुले अन्याय गर्न नसक्ने तर्क गर्नेदेखि किरात धर्मका लागि आफ्ना पिताले पु¥याएको योगदानसम्मलाई चुनावी एजेन्डाका रुपमा प्रयोग गर्न खोजिरहेका छन् । त्यसो त एमालेका नेताहरु पनि धर्मगुरुलाई भेट्न दिनरात धाइरहेका छन् ।यता चुनावमा प्रभाव पार्ने कुरालाई स्वीकार्दै गुरुको आशिर्वादकै भरमा चुनाव त नजितिने तर गुरुले कहिल्यै अन्याय नगर्ने भन्दै राजनीतिक उद्देश्य भन्दा पनि सेवा भावको उद्देश्यका साथ गुरुको आश्रममा पुग्नुपर्ने धर्मगुरुहरु बताउँछन् । गुरुको निर्णयले कसैको अन्याय नहुने उनीहरुको भनाइ छ ।

गुरु आत्मानन्दको साथ पाउनकै लागि गृहमन्त्री रवि लामिछानेले फागुनन्दको सालिक भत्काउनेहरुलाई कारबाहीको दायरामा ल्याउने वचन नै दिएका छन् । त्यसो त एमालेसँग चिसिएको पहिचानको सम्बन्ध र काँग्रेसको दलीय दबदबाकै कारण आत्मानन्दले मिलन र डेकेन्द्रमध्ये एक छान्ने स्थानीय जानकारहरुको तर्क छ । तथापी अन्तिम अवस्थाको निर्णय गर्दा जित उन्मुख उम्मेदवार नै छान्ने दाबी पनि भइरहेका छन् । तर अहिले उनको पकेटमै रहेको पाँच हजार मत पाउन र टिम फुटाउन राजनीतिक उम्मेदवारहरु सक्ने बल लगाएर मैदानमा उत्रिएका छन् ।

गत निर्वाचन मात्र ११४ मतको जित हारले टुंगिएको थियो । उपनिर्वाचनको चौतर्फी भिडन्तमा आत्मानन्दको तर्फबाट झर्ने पाँच हजार मतले ठूलो अर्थ राख्ने भएपनि अहिले सबै दलका शिर्ष नेतृत्वलाई आश्वासन दिएपनि अन्तिमको उनको निर्णय निर्णायक नबन्ला भन्न सकिन्न ।