Breaking

सुरुङ मार्गले जगाएको आशा, जापानीले यसरी बनाए, के–के छ सुविधा ? कहिलेदेखि गुड्दैछन् गाडी ?


काठमाडौं उपत्यका जोड्ने पहिलो नागढुंगा–नौबिसे सुरुङमार्गको ब्रेक थू्र भएको छ । जलविद्युत् उत्पादन तथा पानी पथान्तरणको लागि थुप्रै सुरुङ निर्माण भए पनि यातायातका सवारीसाधन सञ्चालन हुने यो नै पहिलो सुरुङमार्ग हो । तर यो मार्ग पूर्ण प्रयोगमा आउन भने अझै एक वर्ष लाग्नेछ ।

पूर्वधार विकासमा नेपाल सुरुङ युगमा प्रवेश गरेको छ । उपत्यका जोड्ने पहिलो नागढुंगा–नौबिसे सुरुङमार्गको मुख्य सुरुङको ब्रेक थ्रू सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरेका छन् । यो सुरुङमा सवारी साधन सञ्चालनमा आए राजधानी प्रवेश गर्दा मुख्य नाकमै घण्टौँ जाममा बस्नुपर्ने समस्या हट्नेछ । काठमाडौंको बलम्बु हुँदै धादिङको सिस्नेखोलासम्म ३ मिनेटमै आउजाउ गर्न सकिने छ । सुरुङमार्गको ब्रेक थ्रू गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय राजमार्गहरूमा सुरूङमार्ग, फ्लाइओभर तथा अन्डरपास निर्माणमा जोड दिने बताएका छन् । राष्ट्रिय राजमार्गहरुमा सुरुङ, फ्लाइओभर जस्ता आधुनिक सडक सञ्जाल विस्तार तथा निर्माण गर्ने नीति लिने उनको भनाइ छ ।

जलविद्युत् उत्पादन तथा पानी पथान्तरणको लागि थुप्रै सुरुङ निर्माण भए पनि यातायातका सवारीसाधन सञ्चालन हुने यो नै पहिलो सुरुङमार्ग हो । राष्ट्रिय गौरवका सडकमार्गहरु नै वर्षै अलपत्र परको देशमा ठूला सुरुङमार्गको सम्भावना सायद कमैले मात्रै कल्पना गरेको होलान् । तर, यो सुरुङमार्गमा भएको प्रगतिले भने सुरुङ सपना सम्भव रहेको सन्देश दिएको छ । सिस्नेखोला बलम्बु जोड्ने सुरुङ मार्गमा मुख्य सुरुङ २ हजार ६ सय ८८ मिटर र आपतिकालिन सुरुङ २ हजार ५ सय ५७ मिटर लामो छ । सुरुङमार्गमा ३.५ मिटर फराकिला २ लेन छन् । यसको कुल क्यारिएज वे ९.५ मिटरको छ । एसियाली विकास बैंक (एडीबी)को १६ अर्ब सहुलियतपूर्ण ऋणसँगै नेपालको समेत गरी २२ अर्बमा जापनिज कम्पनी हाजमा एण्डो कर्पोरेसनले काम गरिरहेको छ । एक वर्ष पहिले नै निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि कोरोना संक्रमण लगायतलाई कारण देखाउँदै एक वर्ष ढिला भएको थियो ।

आयोजना निर्माणको सुरुआती आयोजनामा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल (ब्रिज) र एउटा फ्लाइओभर रहेका छन् । बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन अवस्थामा छ ।

दैनिक १० हजारभन्दा बढी सवारी ओहरदोहर गर्ने यो सडकखण्डमा सुरुङ सञ्चालनमा आए काठमाडौंको बलम्बु हुँदै धादिङको सिस्नेखोलासम्म ३ मिनेटमै आउजाउ गर्न सकिने छ भने घण्टौँ जामको समस्या पनि समाधान हुुने अपेक्षा गरिएको छ । अहिले पनि नेपालको मुहार फेर्न सक्ने राष्ट्रिय गौरवका दर्जनौँ आयोजना बजेट अभाव र ठेकेदारको ढिलासुस्तीको चंगुलमा फसिरहेका छन् । सुरुङमार्ग ब्रेक थ्रूको क्रममा राजनीतिक स्टन्टका लागि प्रधानमन्त्रीले हिलोमै रातो कार्पेटसम्म ओछ्याउन लगाए । तर, धरहरा उद्घाटनको नियती सुरुङमार्ग भने नबनोस् ।।