Breaking

प्रचण्ड र सुमनाको शिक्षा सुधारमा ताकेता, कुलपति छोड्न प्रधानमन्त्रीलाई विज्ञको सुझाव, राजनीति नै बाधक


काठमाडौँ – शैक्षिक संस्थामा राजनीतिकरण अन्त्य गराउन सरकारलाई प्राज्ञिक समूहको ध्यानाकर्षण, नेतृत्व योग्यताका आधारमा छान्नुपर्नेमा जोड, हस्तक्षेप मुक्त भइ नसकेको प्रधानमन्त्रीकै स्वीकार ।

प्राध्यापक एवं प्राज्ञिक समूहले सबै शैक्षिक संस्थाहरुमा राजनीतिकरण अन्त्य हुनुपर्ने बताएका छन् । उनीहरुले विश्वविद्यालय र सबै शैक्षिक संस्थाहरुमा राजनीतिको गन्ध आउन दिनु नहुनेमा जोड दिएका छन् ।
त्रिभुवन विश्वविद्यालय तथा समग्र शिक्षा प्रणाली सुधारका आगि अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र शिक्षामन्त्री सुमना श्रेष्ठ लागिरहेका छन् । त्रिविको इतिहासमै पछिलोपटक उपकुलपति नियुक्तिमा खुला प्रतिष्पर्धाको बाटो देखाएर त्रिविमा केही सुधारको संकेत समेत देखाइसकेका छन् । प्रधानमन्त्रीकै अग्रसरतामा खुला प्रतिष्पर्धाबाट प्रा.डा. केशरजंग बराल २० ओै उपकुलपतिमा नियुक्त भए । तर प्रधानमन्त्री (प्रचण्ड) ले त्रिभूवन विश्वविद्यालयको उपकुलपतिको नियुक्ति योग्यताको आधारमा भएपनि सबै विश्वविद्यालयहरु भने राजनीतिक हस्तक्षेप मुक्त भइ नसकेको बताएका छन् । सोमबार त्रिभूवन विश्वविद्यालयमा योग्यताको आधारमा उपकुलपतिले आफ्नो समूह बनाउने व्यवस्था मिलाइदिएको भन्दै धन्यवाद व्यक्त गर्न पुगेका प्राज्ञिक समूहसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सबै प्राज्ञिक संस्थाहरुमा राजनीतिक हस्तक्षेप अतिक्रमण रोक्नका लागि प्राज्ञिक समूहले गराएको ध्यानाकर्षण महत्वपूर्ण रहेको बताए । यसको पहल आफूले शुरु गरेको भन्दै अब योग्यताको आधारमा विश्वविद्यालयमा उपकुलपति लगायत पदाधिकारीको नियुक्ति नभए शैक्षिक क्षेत्रको सुधार हुन नसक्ने जिकिर गरेका छन् ।

छलफलमा प्राध्यापक एवं प्राज्ञिक समूहले सबै शैक्षिक संस्थाहरुमा राजनीतिकरण अन्त्य हुनुपर्ने बताएका छन् । उनीहरुले विश्वविद्यालय र सबै शैक्षिक संस्थाहरुमा राजनीतिको गन्ध आउन दिन नहुनेमा जोड दिएका छन् । त्रिभूवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले सबै राजनीतिक दलहरुले विश्वविद्यालय र प्राज्ञिक संस्थामा राजनीतिकरण अन्त्य गर्नुपर्ने बताए । कुनै पनि शैक्षिक संस्थामा राजनीतिकरण हस्तक्षेप र खेलवाड नहुने प्रतिबद्धता राजनीतिक दलहरुले जनाउनुपर्ने बताउनुभयो ।

प्राध्यापक डा. अर्जुन कार्कीविश्वविद्यालयको र प्राज्ञिक क्षेत्रको सुधारका लागि राजनीतिक नेतृत्वले विश्वविद्यालयको नेतृत्व चयन गर्दा योग्यता,क्षमता र प्रतिवद्धताकै आधारमा छान्नुपर्ने बताउँछन् । दलीय निकटताको हिसावले नभइ योग्य र क्षमतावान व्यक्ति छान्दा नै विश्वविद्यालयको सुधार हुने धारणा राखे । विश्वविद्यालयको नेतृत्व सुधार गर्नु अपरिहार्य र महत्वपूर्ण पक्ष भएको उनको भनाइ छ ।

उद्यमी तथा वैज्ञानिक डा.प्रतिभा पाण्डेले शैक्षिक संस्थामा राजनीतिक हस्तक्षेप नहुने बनाउन प्रधानमन्त्रीको प्रतिवद्धता रहेको भन्दै सबै राजनीतिक दलहरुले पनि राजनीतिक हस्तक्षेप नहुने बनाउन प्रतिवद्धता जनाउनुपर्ने बताइन् । उनले सबै राजनीतिक दलहरुले प्रतिवद्धता जनाएमात्रै देशले फड्को मार्ने बताइन् । शैक्षिक संस्थाबाटै देशको भविष्य निर्माण हुने भएकाले देशको भविष्य दिनको तीन सयको दरले विदेशमा जाने कुराले देश विकास सम्भव नरहेको उनको जिकिर थियो ।
भेटमा प्रधानमन्त्री प्रचण्डले आफू विश्वविद्यालय र शिक्षा क्षेत्र सुधारमा गम्भीर भएको जानकारी दिँदै मेरिटोक्रेसीको अवधारणा थप दृढताका साथ बाँकी ठाउँहरूमा पनि अवलम्वन गर्ने बताएका छन् ।।