Breaking

बग्रेल्ती उद्योगी कालो सूचीमा, चेक बाउन्स, बैंकको ऋण तिर्नै सकेनन्, देश छोड्ने तरखर


काठमाडौँ – देशभरका ४६ हजारभन्दा बढी उद्योगी व्यवसायीहरु कालोसूचीमा परेका छन् । व्यापार व्यवसाय ठप्प भएर सटर बन्द गर्नुपर्ने अवस्था भएपछि कमाई तहसनहस बनेको छ । झन यहीबेला बैंकहरुले कर्जाका नाममा धमाधम कारबाही गर्दै कालोसूचीमा राखेपछि व्यवसायीहरु पुरापुर डुब्ने अवस्थामा छन् ।

दुई हजार भन्दा बढी पृष्ठिको यो तथ्यांक कालोसूचीमा परेका व्यवसायिक संस्था र व्यक्तिहरुको हो । जसले बैंकबाट धितो राखेर ऋण लिए, तर समयमै ब्याज र किस्ता तिर्न सकेनन् । अहिले बैंकहरुले उनीहरुको कारोबार नै ठप्प पारि काम न काजको बनाइदिएका छन् । यो सूचीमा ४६ हजार ८ सय ९७ जना छन् ।कर्जा सूचना केन्द्रले उपलब्ध गराएको यो तथ्यांकलाई एकचोटी ग्राफमै हेरौं । आजभन्दा झण्डै सातबर्षअघि उद्योगीहरु खासै ठूलो समस्यामा थिएनन् । उनीहरुको कारोबार नियमित रुपमै चलिरहेको थियो । जतिबेला बैंकहरुको कालोसूचीमा पर्ने उद्योगी र व्यवसायीहरुको संख्या मात्र ८३४ छ । यो तथ्यांक २०७३÷०७४ को हो ।

अब यसरी डुब्नेहरु व्यवसायीहरुको संख्या २०७५÷०७६ मा बढेर २ हजार ८ सय ३७ पुग्यो । २०७६÷०७७ मा झण्डै दोब्बरभन्दा बढीले बढेर ४ हजार ६ सय २० पुग्यो । जतिबेला नेपालमा कोरोना महामारी सुरु भएको थियो । जसले उद्योगीहरुलाई झनै ठूलो चोट दियो । २०७९÷८० मा आईपुग्दा ग्राफ एक्कासी बढेर २६ हजार २ सय ४३ मा पुग्यो । अर्थात ४ हजारबाट एकैलटमा २६ हजारभन्दा बढी कारोबारमा डुब्नेहरुको संख्या थपियो । २०८० को बैशाखदेखि चैत्रसम्म ४६ हजार ८ सय ५७ जना डुबेका छन् । अर्थात् २०७४ देखि ८० सम्मको झण्डै सातबर्षे अवधिमा ८१ हजार ३ ९१ जना उद्योगी, व्यवसायीहरु उत्पादन नभएपछि वा भएको उत्पादन पनि नबिकेपछि बैंकको ऋणसमेत तिर्न नसकि चुर्लम्म डुबेका छन् । उनीहरुमध्ये कति पलायन भएका छन् भने कतिले आफुखुशी गरि ज्यान समेत लिएका छन् । उनीहरु डुबेपछि उत्पादन पनि रोकियो । बैंकहरुले पैसा पाएनन् । अहिले उद्योगी र बैंक दुबै संकटमा छन् । जसको कारण हो, मनपरी धितो राखेर जथाभावी गरिएको ऋण प्रवाह ।

व्यवसायीहरु मुख्यतः कालोसूचीमा पर्नुको अर्काे कारण खातामा पैसा नहुनु पनि हो । पैसा माग्दा चेक हातमा थमाईदिन्छन् । निकाल्न जाँदा पैसा हुँदैन । पैसा नभएपछि बैंकले खातामा पैसा जम्मा गर्न भन्छ । चेक लिएको व्यक्ति तेस्रोपटकसम्म पुग्दा पनि रकम जम्मा भएको हुँदैन । अनि बैंकले सिधैं कालोसूचीमा चढाईदिन्छ । यो बर्ष ४६ हजार ८ सय ९७ मध्ये नौं हजार दुई सय ८८ जना बैंकको किस्ता तिर्न नसकेकाहरु छन् । बाँकी ३७ हजार ६०९ जना चेक बाउन्स भएपछि कालोसूचीमा परेका छन् ।

जसले बैंकहरुको कारोबार पुरापुर संकटमा पुग्दैछ । अर्थात ऋणीहरुले नियमित ब्याज र किस्ता नतिरेपछि खराब कर्जा स्वतः बढेको छ । गत वर्षसम्म २ दशमलब चार नौं प्रतिशत रहेको खराब कर्जा अहिले बढेर ३ दशमलब ६ तीन प्रतिशत पुगेको छ । अर्थात् कोभिडका कारण शिथिल उद्योग व्यवसाय तंग्रिन नपाउँदै बैंक तथा वित्तीय संस्थाले ब्याज असुलीको अचाक्ली धन्दा चलाएपछि पनि व्यवसायीहरु ऋणको पासोमा परेका हुन् ।