Breaking

एमालेभित्र ओलीको धम्की, अधिवेशनमै हस्तक्षेप, पार्टी छाड्ने बढे, ठूला नेता निरीह, सानाको विद्रोह


सत्तारुढ दल नेकपा एमाले धमाधम जिल्लाको नेतृत्व चयनको दौडधुपमा छ । सहमतिबाटै नेतृत्व चयन गर्न सर्कुलर नै जारी गरिए पनि एमालेको जारी जिल्ला अधिवेशनको अधिकांश स्थानमा चुनावी प्रतिस्पर्धाले प्रश्रय पाएको छ । नेतृत्वमा आकांक्षीको लर्कोदेखि आफू निकट नेतालाई नेतृत्वमा ल्याउन केन्द्रीय नेताहरुको हानथापले एमालेको जिल्ला अधिवेशन विवादरहित हुन सकेको छैन ।
गत माघमा धादिङमा सम्पन्न प्रदेश अधिवेशनमा कुटाकुटमै उत्रिएको एमालेजन अहिले जिल्ला अधिवेशनमा केन्द्रित छ । जारी जिल्ला अधिवेशनमा चुनावी प्रतिस्पर्धादेखि पार्टी नै परित्याग गरेको विषयले एमालेभित्र खैलाबैला मच्चिएको छ । पार्टीको आगामी महाधिवेशन र नेतृत्वलाईसमेत प्रभाव पार्न सक्ने देखिएको जिल्ला अधिवेशन आफू अनुकूल बनाउन अध्यक्ष केपी शर्मा ओली स्वयं सक्रिय मात्र छैनन् आफैँ देश दौडाहमा छन् । चितवन महाधिवेशन र भीम रावलको दृष्टान्त दिएर आफूले भनेअनुसार नै नेतृत्व छान्न उनले दवाव बढाइरहेका छन् ।

तर एमालेको जारी अधिवेशनमा केही जिल्लामा सहमतिमै नेतृत्व चयन भए पनि अधिकांश जिल्लामा चुनावमार्फत नेतृत्व चयन भएका छन् । आफ्नै गृहजिल्ला झापामा नेतृत्वमा आफ्नै गुटका नेताहरु भिड्ने देखेपछि उनी आफैँ पाँच दिन खटिएर जिल्लाको नेतृत्व टुङगो लगाउन बाध्यकारी भए । झापामा ‘बा’ हावी भए पनि अन्य जिल्लामा ओलीको मनमौजी चलेन । आकांक्षीहरुको लर्को लाग्दा ओलीकै गुटका नेताहरु प्रतिस्पर्धामा उत्रिएपछि उनले आफूले नचाहेको चुनाव झेलिरहेका छन् । अध्यक्ष ओलीको तानशाह प्रवृत्तिको उपजका कारण एमालेभित्र गुटगत राजनीतिले प्रश्रस पाइरहेको छ । लोकतान्त्रिक विधिको अपमान गर्दै टिकेप्रथा मौलाएको एमालेभित्र अध्यक्ष ओलीले जे सिकाएका छन्, अन्य नेताहरुले पनि उनकै सिको गर्दै आफू निकट नेता कार्यकर्तालाई काखी च्याप्ने प्रवृत्ति झांगिँदै गएको छ ।

यसलाई ओखलढुंगा एमालेभित्रको विवादले छर्लङ बनाएको छ । सहमतिमै नेतृत्व छान्न केन्द्रले दिएको सर्कुलर अवज्ञा गर्दै चुनावमार्फत नै नेतृत्व चयन भएको ओखलढुंगामा एमाले पार्टी छिन्नभिन्न भएको छ । जिल्लाको नेतृत्व चयनलाई लिएर आफू निकट नेता कार्यकर्तालाई नेतृत्वमा ल्याउन केन्द्रीय नेताहरुको दौडधुप मात्र भएको छैन हस्तक्षेपमै उत्रिएपछि कतिपय जिल्लामा भाँडभैलोको अवस्था सिर्जना भएको छ । बुधबार सम्पन्न १० औँ जिल्ला अधिवेशनबाट ज्ञानबहादुर खड्का जीबी निर्वाचित भएका छन् ।

तर जिल्ला अधिवेशन पूर्व नै निर्वतमान जिल्ला अध्यक्ष शंकर कटुवालले पार्टी परित्याग गरेका छन् । अतिथिको रुपमा आएका केन्द्रीय नेताहरुले पार्टीको विधिविधानविपरीत प्रतिनिधिको नामावली तयार गर्दा हस्तक्षेप गरी थप्ने र हटाउने काम गरेको भन्दै उनले पार्टीबाट राजीनामा दिएका हुन् । केन्द्रीय नेताहरुको हस्तक्षेप र दबाब सहन नसके पछि पार्टी परित्याग गर्ने अवस्थामा पुगेको कटुवालको भनाइ छ । धादिङ घटना ताजै रहेका बेला अन्य जिल्लाको अधिवेशनका क्रममा विवाद उत्कर्षमा पुग्नु तथा पार्टी छाड्नेसम्मका गतिविधि हुनुले एमालेभित्रको संकट छताछुल्ल भएको छ ।

एमालेभित्र अध्यक्ष ओलीलाई टक्कर दिने गरी नेतृत्व तहमा अन्तरविरोध देखिँदैन । उनको आलोचना गर्ने केही नेता कार्यकर्ता भए पनि त्यस्ता विषय खासै सतहमा आएका छैनन् । तर तल्लो तहमा देखिएको अटेरीपन र ओलीको आदेशको अवज्ञा केवल लोकतान्त्रिक अभ्यासका लागि मात्र हो या एमालेभित्र बढ्दै गएको अन्तरविरोध ? अहिले नै स्पष्ट नभए पनि निकट भविष्यमा एमालेभित्रको विवाद कस्तो हो भन्ने विषय सतहमा आउने नै छ ।