Breaking

रविको बेग रोक्न चौतर्फी हमला, ओलीको अडान घातक, कांग्रेस र राप्रपाले नै राजीनामा खोजे


काठमाडौँ – समीकरण फेरिएसँगै प्रतिपक्षीको पेचिलो आवाज बन्दै आएको रास्वपा सत्ता पक्षमा पुगेको छ । एक उपप्रधानसहित चार मन्त्रालय सम्हालेको रास्वपा अहिले सडक र सदनबाटै आलोचित मात्रै हुन थालेको छैन कि सभापति तथा गृहमन्त्री रवि लामिछाने चौतर्फी घेराबन्दी र ठूला दलकै चेपुवामासमेत परेका छन् ।

पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको नयाँ समीकरणमा उपप्रधान तथा गृहमन्त्रीको हैसियतामा रवि लामिछानेले शपथ गरेको महिना दिन बितिसकेको छ । सुरुवाती चरणमै सुन प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महारालाई पक्राउ गर्नेदेखि बाँसबारी जग्गा प्रकरणमा उद्यागपति विनोद चौधरीलाई बयान लिएर गृहमन्त्री लामिछानेले केही गर्ने हुटहुटी देखाएका थिए । तर अहिले राजनीतिक परिदृश्य मात्र फेरिएको छैन कि गृहमन्त्री आफैँ सहकारी प्रकरणमा मुछिएको आरोप खेपिरहेका छन् । मंगलबारनै सदनमा कांग्रेसले गृहमन्त्री लामिछाने उपर संसदीय छानबिन माग गर्दै सदन नै अवरुद्ध गर्नेदेखि आन्दोलन छेड्नेसम्मको चेतावनी दिएको छ । प्रधानमन्त्री प्रचण्डले सदनकै रोष्ट्रमबाट दिएको जवाफ, पटकपटक सभामुखले पहल गर्दा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीकै अडानका बाबजुद कांग्रेस पनि झनै आक्रामक भए जस्तो देखिन्छ । जहाँ कांग्रेसले सडक र सदन सञ्चालनमै लामिछानेविरुद्ध तारो बनाएको प्रष्ट देखिन्छ ।

गृहमन्त्री लामिछाने सडकको चेपुवामा पनि परेका छन् । गएको सरकारले माइतीघरलाई निषेधित क्षेत्र तोक्दाको परिणाम अहिले गृहमन्त्री लामिछानेले भोग्नु परिरहेको छ । अवस्था फेर्न व्यवस्था फालौं भन्दै सडक संघर्षमा उत्रिएको राप्रपालेसमेत सडकमै गृहमन्त्री लामिछानेको राजीनामा मागिरहेको छ । त्यसो त केही दिन अघि बौद्ध भिक्षुमाथि प्रहरीले गरेको दुव्र्यवहारका कारणले समेत गृहमन्त्री लामिछाने नै आलोचित भएका छन् । यी दुई दृष्टान्तले राजावादी र गणतन्त्रवादी दुवैको चेपुवामा गृह मन्त्रालय छ ।

पुराना दलहरुसँग सत्ताको सहकार्य नगर्न कार्यकर्ता र विज्ञकै दबाबकाबीच सत्ताबाटै जनजीवनमा परिवर्तन सम्भव देखेका गृहमन्त्री लामिछाने अहिले भने कांग्रेस सभापति शेरबहादुर देउवाको पेलाई र ओलीको काँध हाल्दा प्रधानमन्त्री प्रचण्डले मध्यस्तकर्तासमेत नगर्दा कतै यिनै ठूला नेता नै मिलेमतोमै गृहमन्त्री लामिछानेलाई अफ्ठ्यारोमा पारिरहेका छैनन् भन्ने आशंका बढेको छ ।

कांग्रेसको पेलाई र गठबन्धनको अडानकाबीच अहिले गृहमन्त्री सत्ता सञ्चालनमासमेत सकसमा छन् । प्रहरी बढुवादेखि सरुवामा प्रचण्ड ओली हस्तक्षेप, ठूला प्रकरणका फाइल खोल्न खोज्दा गठबन्धन नै बाधक, केही फरक ढङ्गको सुशासन कायम गर्न खोज्दा उनी अफ्ठ्यारोमा परेका छन् । अरु त अरु गृहमन्त्रीले नै जोडबल गर्दा पनि ठमेल २४ सै घण्टा खुलाउनसमेत उनी आफैँले सोच्नुपर्ने अवस्थामा पुगेका छन् । सत्तारुढ गठबन्धनभित्रबाटै काममा अवरोध हुनु, कांग्रेसले लामिछानेमाथि नै एक मात्र एजेण्डा बनाउनुदेखि विकल्प भनिएकाहरुसमेत उनीमाथि खनिनुले सत्तामा गृहमन्त्री लामिछाने थप सकसमा पर्ने देखिन्छ । उनीसँग यी सकस चिर्दै अगाडि बढ्नु या राजीनामा दिएर फेरि सडककै आवाज बन्नु दुई विकल्प मात्रै देखिन्छ ।।