Breaking

भिक्षुमाथि प्रहरीको बुट प्रकरण : महतो र लिङ्देनलाई मुद्दा, सिंहदरबार खुलाउने रवि माइतीघरमै चुके


शनिबार काठमाडौंको भद्रकालीमा भिक्षुमाथि भएको लाठी प्रहारको आलोचना भइरहेको छ । एकातिर भिक्षु कुटिएको र अर्कोतिर प्रहरीमाथि ढुंगामुढा भइरहेका दुई दृश्यले यस घटनामा थप चासो बढाएको छ । आखिर त्यहाँ भएको के थियो ?

यो दृश्यमा एकजना बौद्ध भिक्षुमाथि प्रहरीले अमर्यादित रुपमा लात्ती प्रहार गरेको देखिन्छ । जुन भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ भने भिक्षुमाथि भएको दुव्र्यवहारको चर्को आलोचनासमेत भइरहेको छ ।
अब यो अर्को दृश्य हेर्नुहोस् । यदि नागरिक स्वःस्फूर्त रुपमा विरोधमा आएका हुन्थे भने यसरी एकै थरिका वस्त्र लगाएका हुँदैन थिए । यहाँ रातो पहेलो वस्त्र धारण गरेका केही अराजक जत्थाले प्रहरीमाथि ढुंगा बर्साइरहेको छ, सुरक्षा घेरा तोडिरहेको छ । त्यही कारण प्रहरी लाठी चार्जको अवस्थामा पुगेको बुझ्न समस्या छैन । यो जत्था धार्मिक पहिरनको फाइदा उठाउँदै देश टुक्र्याउन पाउनुपर्छ भन्दै अभियान चलाउने राजेन्द्र महतोलाई साथ दिँदै प्रहरीमाथि ढुंगामुढा गरिरहेको हो । कुटाइ खाने भिक्षु फुर्वा तामाङ हुन् । उनी पनि महतोको आन्दोलनमै सहभागी हुन शंखरापुरबाट भृकुटीमण्डप पुगेका थिए । राष्ट्रिय मुक्ति क्रान्तिको विज्ञप्तिले समेत यसलाई पुष्टि गरेको छ । यो दृश्य हेर्दा भिक्षुले नभई एक आन्दोलनकारीले कुटाइ खाएको भन्ने जमाद पनि छ । यहाँ प्रहरी देख्दा आन्दोलनकारीले झम्टिहाल्ने र आन्दोलनकारी देख्दा प्रहरीले पनि ताकिताकी मुक्का र लात्ती बर्साउने गरेको देखिन्छ । भिक्षु आन्दोलनमा आएकाले उनलाई प्रहरीले लाठी चार्जसम्म गर्नुलाई स्वभाविक मान्न सकिन्थ्यो । तर, शान्तिका दूत गौतम बुद्धका अनुयायीमाथि यसरी लात्ती प्रहार गर्नु स्वभाविक भने हुँदै होइन । यो कार्यलाई प्रहरीलेसमेत गलत भएको स्वीकार गर्दा संलग्न प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढाएको छ ।

शनिबार काठमाडौंको बसन्तपुरमा राजेन्द्र महतो र सुमन सायमी लगायतको समूहले आन्दोलनको आह्वान गरेको थियो । उनीहरुको एउटै एजेण्डा छ–बहुल राष्ट्रिय राज्य स्थापना । यसको सरासर अर्थ नै नेपाललाई धेरै राज्यमा टुक्र्याउनु हो । यसलाई महतोले मधेशी, आदिवासी जनजाति, दलित, मुस्लिम सबैलाई समान अधिकार हुनुपर्छ भन्ने रुपमा अथ्र्याए पनि नेपालको संविधानले नेपाललाई विविधतासहितको एकल राज्यका रुपमा परिभाषित गरेको छ । विगतमा तत्कालीन सद्भावना पार्टीमा रहँदा तराई–मधेशमा दुई स्वायत्त प्रदेशको मुद्दा उठाएकाले उनीमाथि राज्यविप्लवको आरोप लाग्ने गरेको थियो । तर अहिले यीनै महतोले मधेशी जनता, मधेशवादी दल र भारतलेसमेत पत्याउन छाडेपछि भिक्षुकोसमेत प्रयोग गर्दै राजनीतिमा आफ्नो पहिचान खोजिरहेका छन् । शनिबारको आन्दोलनका बेला गाडीमा बसेर टाप ठोकेका महतोले भोलिपल्ट पत्रकार सम्मेलन गरेर नेपालमा अब आयातित विदेशी विचारबाट शासन नचल्ने चेतावनी दिए ।

हुन त शनिबार भिक्षुले कुटाइ खाएको घटनामा राज्य पनि जिम्मेवार छ । किनभने आन्दोलनमार्फत आफ्ना आवाज मुखरित पार्ने माइतीघरलगायत काठमाडौंका विभिन्न क्षेत्रमा महिनौँदेखि निषेधित क्षेत्र घोषणा गरिएको छ । यसले भिक्षु कुटिएको घटनामा प्रहरीदेखि गृह प्रशासनसम्मै प्रश्न उठेको छ । सर्वसाधारणका लागि सिंहदरबार खुला राख्ने एजेण्डा बोकेका गृहमन्त्री रवि लामिछानेले माइतीघरसमेत खुला गर्न नसक्नुले प्रश्न जन्माएको छ । यस्तै राजा फर्काउने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीसमेत आन्दोलित बनिरहेको छ । राप्रपालेसमेत निषेधित क्षेत्र नमान्ने र हस्तक्षेप नगर्न चेतावनी दिइरहेका बेला राज्यको अर्कमण्यताले अर्को घटना हुने जोखिमसमेत बढेको छ ।
महतो नेतृत्वको आन्दोलनमा भिक्षुहरु पनि सहभागी भएको तथ्यका बिच कुटाइ खाने भिक्षु आन्दोलनमा थिए कि थिएनन् भन्ने अवश्य पनि छानबिनको पाटो रहँला तर, भिड नियन्त्रण गर्न प्रयोग गर्नुपर्ने सामान्य विधिसमेत प्रयोग नगरी व्यवसायीकतामाथि नै प्रश्न उठ्ने गरी प्रहरी आक्रमणमा उत्रिनु भने गम्भीर विषय हो । यस्ता आन्दोलन दबाउन यसअघि पनि प्रहरीले संयमता गुमाउँदै प्रदर्शनकारीमाथि गोलीसमेत प्रहार गर्दा थुप्रैले ज्यान गुमाएका घटनाहरु छन् । भिड नियन्त्रण तथा प्रदर्शन रोक्न प्रहरीलाई स्रोत साधन सम्पन्न बनाउने तर्फ राज्यको पनि ध्यान जान जरुरी छ ।