Breaking

ओलीकै कारण सुहाङ हार्दै, झलनाथको मैदानबाटै चुनौती, धर्मगुरुदेखि हर्कसम्मले डेकेन्द्र बोके


काठमाडौँ – बैशाख १५ को उपनिर्वाचनमा आठ स्वतन्त्र उम्मेद्वार १२ दल गरी कुल २० जनाको उम्मेद्वारी परेसँगै इलाम २ को उपनिर्वाचनमा बहुपक्षीय प्रतिस्पर्धा निश्चित भएको छ । महिलाको उम्मेद्वारी नपरेको इलाम २ मा मतको लडाइँदेखि विरासत जोगाउने होड्बाजी मात्रै छैन कि शीर्ष नेतृत्वकै प्रतिष्ठासमेत जोडिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको विश्वासिलो पात्र स्व. सुवास नेम्वाङको विरासत फर्काउन उनकै छोरा पनि चुनावी चुनौतीको चाङमा छन् ।

नेकपा एमालेमा ‘बा’ को ब्राण्ड बनाएका अध्यक्ष केपी शर्मा ओलीले नै स्व. सुवास नेम्वाङको निर्वाचन क्षेत्रमा बाबुको ब्राण्ड जोगाउने जिम्मा उनकै छोरा सुहाङलाई सुम्पिए । ३२ वर्षदेखि ५ पटकसम्म जित निकालेका स्व. नेम्वाङको यस क्षेत्रमा एकछत्र राज नै थियो । तर अहिले एक्लै २०७९ को निर्वाचनमा झिनो मतान्तरले नै गठबन्धनलाई पाखा लगाएको एमाले अहिले आफैँ चुनाव जित्न ठूलो गठबन्धन बनाइरहेको छ । जहाँ माओवादी केन्द्रदेखि विप्लव नेतृत्वसम्मको माओवादीले सुहाङलाई सहयोग गर्ने भएका छन् । विगतको सुमानुपातिक मत हेर्ने हो भने पनि झण्डै १० हजार मतमाथि भएको एमाले निर्वाचनको पूर्वसन्ध्यामा भने डराएको देखिन्छ । उम्मेद्वारी दर्ता गर्दै सुहाङले बाबुले विकास निर्माणदेखि कानुन निर्माणसम्म देखाएको बाटो नै जितको आधार भएको र इलामेली जनता तथा सिंगो संगठनको बलले नै जित्ने दाबी गरेका छन् ।

उम्मेद्वारको जित्ने दाबीलाई सामान्य रुपमा लिइँदै केही परिवर्तनशील घटनाक्रमले भने सुहाङको जित त्यति सहज देखिँदैन । कोशीको नामकरणमा ओलीले लिएको अडानका कारण पहिचानवादीले एमाले नै लखेटेको भूगोल मात्रै उसका लागि बाधक छैन कि माङ्सेबुङका किरात गुरु आत्मनन्द लिङ्देनको सधैँ स्व. नेम्वाङले साथ पाए पनि उनका छोरालाई भने लिङ्देनको साथ नहुने निश्चित छ । किन कि पहिचानको मुद्दा बोकेर स्वतन्त्र निर्वाचनमा होमिएका डकेन्द्र थेगिम लिम्बु किरात गुरुको चेला मात्रै होइनन् उनकै आश्रममा रोजगारी गरेका कर्मचारीसमेत हुन् । जसको धक्का सुहाङलाई लाग्ने पक्का छ । सँगै थेगिम आफैँ पनि एमाले पृष्ठभूमिबाट राजनीति गर्दै आएकाले एमालेकै पनि केही मत उनले काट्ने निश्चित छ । उम्मेद्वारी दर्तामै सुहाङसँग जम्काभेट गरेका झलनाथ खनाल आफू उठ्न नपाएको प्रतिशोधसमेत साध्दै जितबहादुर राईलाई जिताउन घरदैलो गर्नेदेखि एमालेकै कार्यकर्ता फकाउनसमेत व्यस्त छन् । जहाँ चिढिएका ओली र खनालको सम्बन्धले समेत सुहाङलाई नै बाधा पर्ने देखिन्छ ।

खनाल मात्रै होइन गठबन्धनकै सत्ता साझेदार जसपालेसमेत सुहाङलाई मतदान नगरी पहिचानवादीलाई नै सघाउने निर्णय गरिसकेको छ । सधैँ इलाममा कांग्रेस र एमालेको मात्रै प्रतिष्पर्धा भए पनि थपिएको पहिचानवादी र तनहँु तथा चितवनको उपनिर्वाचनको जितको सुनामीकै शैलीमा रास्वपाका मिलन लिम्बुले पनि भूगोलदेखि युवाको मत काट्ने निश्चित छ । त्यसो त उच्च छवि बनाएका स्व. नेम्वाङसँग झिनो मतान्तरले हारेको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माकै कमाण्डमा निर्वाचनमा होमिएको छ । विगतका विरासत फर्काउन सफल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीदेखि विद्या भट्टराईसम्म श्रीमती भएकै कारण एकल महिलाको सान्त्वना मिले पनि छोरो भएकै कारण सुहाङलाई सान्त्वनाको मत झार्न त्यति सहज देखिँदैन । यद्दपि, विगतका उपनिर्वाचनहरुमा भएका उथलपुथलको नजिरले यसै हुन्छ भन्ने आकलन गर्न कठिन नै छ । तर, विश्लेषक भने सुहाङलाई संगठनकै घातदेखि बाबुकै विरासतको मत झार्न त्यति सहज नहुने जानकारहरु तर्क गर्छन् ।

विगतमा जस्तो एमालेको छवि नहुनु, पुरानो दललाई मतदाताले नै अस्विकार गरिरहेका बेला युवा भएकै भरमा सुहाङलाई पत्याउन पनि कठिन छ । एमालेको बलियो जनाधार, सर्वाधिक लोकप्रिय छवि, राजनीतिमा उच्च पहुँच, धर्म गुरुहरुको साथ, कांग्रेसको फुटकै आधारमा सुहाङका बुबा सुवास नेम्वाङको जितको आधार थिए । जुन अहिलेको राजनीतिक परिस्थितिमा तोडिसकिएको छ । यस्ता थुप्रै पेचिला चुनौती पार गर्न सके सुहाङले बुबाको विरासत मात्रै फर्काउने छैनन् कि प्रधानमन्त्रीसमेत बनाइसकेको भूगोलको प्रतिनिधित्व गर्दै ३५ वर्षीय युवाले राष्ट्रिय राजनीतिमै पुराना दलभित्र आशाको सञ्चार गर्न सक्नेछन् । यसको छिनोफानो बैशाख १५ गते इलाम २ का मतदाताले गर्नेछन् ।।