Breaking

प्रचण्डमाथि राज गर्दै ओली, माधव र झलनाथलाई पनि छोडेनन्, २० वर्ष सत्ता कब्जा गर्ने धम्की


काठमाडौँ – नयाँ सत्ता समीकरणमा माओवादीलाई बोकेपछि नरम भएको विश्लेषण गरेका केपी शर्मा ओली फेरि कडा रुपमा प्रस्तुत हुन थालेका छन् । वाम एकता चर्चाकाविरुद्ध देखिएका उनी सत्ताकै महत्वपूर्ण मानिएको एकीकृत समाजवादी विरुद्ध नै बोलेका छन् । जसले उनी सुध्रिएको र आत्मालोचनाको स्तरमा पुगेको प्रचण्ड–माधवको बुझाइमा ठेस लाग्दा के चाहन्छन् त ओली ?

न त सत्ता न संगठन सुदृढीकरण कुनैमा पनि सफल हुन नसकेको भाष्यकाबीच माओवादी बोकेको एमाले पहिलेकै बाटो हिँड्न थालेको छ । विशेषत पार्टीभित्रै विकल्प खोज्ने अवस्था आएपछि अध्यक्ष केपी शर्मा ओली लच्किएको भाष्यमा प्रश्न उठेको छ भने उनले विगतमा पश्चाताप गर्ने अरुको विश्लेषण पनि फेल खाएको छ । जसले नयाँ समीकरण बृहत वाम एकताको प्रयास भएको तथा ओली विगतमा गरेको गल्ती महसुस गर्ने स्थानमा पुगेको नेकपा माओवादी र एकीकृत समाजवादीको बहानामा ठेस लागेको हो । नयाँ समीकरण के का लागि बनाएको भन्ने प्रश्नको उत्तर दिन नसकेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसलाई एमाले सुध्रिएकै रुपमा व्याख्या गर्दै आएका थिए । जहाँ ईपीसेन्टर नै बनेका माधवकुमार नेपालले वाम एकताको प्रयास भए त्यसलाई स्वीकार्ने भन्दै प्रचण्डलाई नै पछ्याएका थिए । तर त्यसलाई झुठ सावित गर्ने गरी एमाले महासचिव शंकर पोखरेलले सार्वजनिक कार्यक्रममै बोल्दा ओली पनि कड्किन थालेका छन् ।


गठबन्धनका मुख्य हिस्सेदार माधवकुमार नेपाल र झलनाथ खनालमाथि खनिएका उनले प्रचण्डलाई पनि घुमाउरो पारामा सचेत गराएका छन् । अबको २० वर्ष सक्रिय राजनीतिमा रहँने भन्दै वाम एकता गर्ने र त्यसको नेतृत्व गर्ने प्रचण्डको आशामाथि दावा बोलेका ओलीले टिकट नदिएर झलनाथ महत्वपूर्ण पात्र रहेको भाष्यमाथि त यसअघि नै पानी खन्याइसकेका छन् । जसले एकीकृत समाजवादीको महत्व एमालेका लागि के हो भन्ने प्रष्ट पार्दा इलाम पुगेर मनोवैज्ञानिक दवाव दिने रणनीतिमा खनाल देखिएका छन् । त्यस्तै अहिले एमालेले माओवादीसहितका दलहरूसँग गठबन्धन नभई आ–आफ्नै पार्टी र नीतिअनुसार चल्ने गरी सत्ता समीकरण भएको जिकिर गरेका ओलीले विगतमा भनेको सक्रिय राजनीतिमा रहने समय १० वर्षबाट २० वर्ष पु¥याउनु पनि रणनीतिपूर्ण छ ।

हुन त ओलीको यो आक्रोश वरिष्ठ नेता पाए पार्टी एकीकरणमा सहयोग गर्ने खनालको प्रस्तावमा कुरो नमिलेपछिको परिणाम भएको विश्लेषण गर्नेहरु पनि छन् । तर कांग्रेसलाई धोका दिन लगाएर प्रचण्डको बाटो बन्द गरिदिएकोमा उनी कति खुसी छन् भन्ने संकेतसमेत पछिल्ला अभिव्यक्तिमा देखिन्छ । जसले प्रचण्डलाई साथ दिन उनी तयार हुनु नै पनि दोश्रो तहका नेताहरुको चित्त बुझाइदिन मात्रै त थिएन ? यसले अर्को प्रश्न उब्जाएको छ । अब प्रचण्डले गठबन्धन तोडे कम्युनिस्ट शक्तिको एकीकरणको नारा लगाउने आफ्ना नेतालाई पनि उत्तर मिल्ने विश्वासमा ओली देखिन्छन् । यही कारण सबैथोक प्रचण्डलाई रोजीरोजी दिने रणनीतिमा उनी रहेको विश्लेषण गर्ने ठाँउ छ । त्यस्तै आफ्ना नजिककालाई अघि बढाएर युवा अघि सारेको सन्देश दिने तथा नेतृत्वमा विकल्प खोज्ने सपना नदेख्न अभिव्यक्ति दिने उनको रणनीति आफ्नै नेता केन्द्रित समेत छ । जुन दोश्रो तहका नेता पेल्ने उद्देश्य केन्द्रित देखिँदा ओली एकै तीरले दुई सिकार गरिहेका छन् ।

यसले ओली आत्मआलोचना गर्ने वा झुक्ने व्यक्ति होइनन् भन्ने भाष्यमा बल पुग्दा उनी भाचिने तर नझुक्ने शैली मै रहेको पक्का भएको छ । जहाँ दिनप्रति दिन विकल्पविहीन बन्दै गएका माधव प्रचण्डको अवस्थाले समेत उनलाई हिम्मत आएको देखिँदा नयाँ दलमाथि उठ्न थालेको प्रश्नलेसमेत उनको हौसला बढाएको छ । जसले सत्ताको भिडन्तले कम्युनिस्ट आन्दोलन नै विर्सजनको बाटोमा जाने प्रचण्ड माधवको आरोपलाई खण्डन गर्ने वातावरण निर्माण गर्ने भन्दा माथि ओलीले नसोचेको पक्का छ ।