Breaking

ओलीको तजबिजमा गठबन्धनको संकट, सुहाङ हारे कसरी टिक्ला गठबन्धन ? देउवाको सत्ता च्याँखे


काठमाडौँ – जनमत परीक्षणको आधार मानिएको उपनिर्वाचमा गठबन्धनकै दलहरु भिडन्तमा छन् । एमाले यो गठबन्धनलाई वाम एकतासम्म लान तयार छैन भने एकीकृत समाजवादी यसैको मारमा परेको देखिन्छ । जहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै पनि विगतमा भन्दा फरक परिस्थितिमा नदेखिँदा कहिलेसम्म टिक्छ त यो गठबन्धन ? प्रश्न अझ चासोपूर्ण बनेको हो ।

६ वटा कारण देखाँउदै कांग्रेस छोडेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बनाएको नयाँ समीकरणभित्रै रस्साकस्सी बढ्न थालेको छ । समीकरण किन बन्यो भन्ने मै आ–आफ्नै दाबी पेस गरेका सत्ताघटक दलहरु बाटोसमेत आ–आफ्नै तरिकाबाट हिँडिरहेका छन् । त्यस्तै उनीहरुले गर्ने व्याख्या फरक पर्दा माधवकुमार नेपाल, झलनाथ खनाल जस्ता नेताहरुले देखाएको बहाना फेल खाएको छ भने विचार मिल्नेको समीकरण भएको दाबीमा प्रश्न उठेको छ । सत्ता गठबन्धनमा देखिएको यो तानातान र असहयोगको दृश्यले प्रधानमन्त्री प्रचण्ड पेलानमा पर्न थालेका छन् । देखाउँनकै लागि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले थोरै तदारुकता देखाउँदा त्यसले माओवादीमै पर्न थालेको प्रभाव प्रचण्डका लागि भारी पर्ने अवस्था छ । त्यस्तै उनलाई प्रधानमन्त्री बनाउनकै लागि सबैथोक त्याग्नु पर्ने पार्टीको अवस्थाले माओवादी नेताहरु असन्तुष्ट देखिँदा उपनिर्वाचनमै सधैँ अरुलाई भोट हाल्नुपर्दा उनीहरु नेता कार्यकर्ता नभई गुलाममा परिणत हुँदै गएका छन् ।

यसले उत्पन्न गर्ने असन्तुष्टि अर्को विषय बन्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले समीकरणको महत्वपूर्ण हिस्सा बनेको नेकपा एकीकृत समाजवादीमाथि प्रहार गरिरहेका छन् । त्यसमा पनि झलनाथ, माधवमाथि व्यक्तिगत प्रहारमै उत्रिएका उनले प्रचण्डले आशा गर्दै आएको वामशक्तिको नेतृत्वको सपनामा पनि पानी खन्याई दिएका छन् । आफू अझै २० वर्ष राजनीतिमा सक्रिय बन्ने ओलीको उद्घोषले उनको रणनीति र सत्ता सहयात्रीमाथिको बुझाई प्रष्ट हुँदा प्रचण्डलाई नयाँ समीकरण निर्माणको औचित्य पुष्टि गर्न धौधौ पर्न थालेको छ । जसले नेताका कारणले नभई विदेशी हावाले राजनीतिक क्रियाकलाप हुने र त्यसले जस्तो सुकै शत्रु शक्तिलाई एक ठाँउमा ल्याउने आरोपलाई बल पुर्याएको छ । जहाँ मित्रवत प्रतिस्पर्धाको नाममा बझाङ १ (१) मा र इलाम २ मा गठबन्धन दलहरुकै भिडन्तले अर्को प्रश्नलेसमेत गठबन्धनको भविष्यमाथि प्रश्न गर्ने ठाँउ बनाएको छ ।

अहिले बिच्किएका झलनाथ खनाल इलाममै पुगेर सुहाङ नेम्वाङ हराउन लागी परेका छन् । बझाङमा साथ नपाएपछि इलाममा एमालेलाई सघाइरहनु पर्ने नैतिक दबाबमा माओवादी पनि छैन । त्यस्तै माओवादी नै छोडेर रास्वपाबाट उम्मेद्वार बनेका मिलन लिम्बुले यो भोट काट्दा पहिचानवादीका उम्मेद्वार डेकेन्द्र थेगिम पनि कहिकतै एमालेसँगै जोडिएका पात्र हुन् । जसले कांग्रेसलाई उपनिर्वाचनमा फाइदा पुग्दा कसरी सत्ताघटक दलहरुबीच विश्वास कायम रहन्छ ? प्रश्न स्वभाविक उठिरहेको छ ? यता अहिले पनि माओवादी रास्वपा बोक्नुलाई अंकगणितीय बाध्यता मानिरहेको छ । माओवादी एमालेलाई छोड्ने, रवि लामिछाने घेर्ने कांग्रेसको रणनीतिसमेत यसैसँग सम्बन्धित देखिएको छ । जसले यो गठबन्धन धेरै नटिक्ने कांग्रेसको ठहर भएको प्रष्ट हुँदा माओवादी नै बोक्नेसम्मको उसको तयारीले सत्तारुढ दलमा अविश्वासको खाडल नबढ्ला भन्न सकिँदैन । त्यस्तै प्रदेशमा देखिएको किचलोले अर्को सकस देखिँदा केन्द्रकै निर्देशन किन मान्नुपर्यो भन्ने प्रदेश नेताहरुको सवालसमेत घातक बन्दै छ । त्यसमा कांग्रेसको च्याखेले उसैका नेताहरुले सत्तारुढ दलहरु आफैँ भिडेर सकिने भन्दै लगाएको आरोपलाई सफलताउन्मुख गराएको छ । जसको परिपूर्ति दक्षिणपन्थीको गठबन्धन भत्काएर देशलाई दुर्घटनामा जानबाट बचाएको एमाले नेताहरुको बोलीले गर्न सक्ने केही देखिँदैन ।

हुन त कांग्रेसले बोक्ने सम्भावना तत्काल नरहँदा जति पेले पनि प्रचण्डले अर्को उथलपुथल गर्न नसक्ने विश्वासमा एमाले हुनसक्छ । त्यस्तै सत्ता छोडेर प्रतिपक्षमा जाने अवस्थामा एकीकृत समाजवादी नरहँदा रास्वपा त आफ्नै पछुवा भएकोमा एमाले झनै ढुक्क देखिन्छ । त्यस्तै नेपाल समाजवादी नै फुटाइदिएका तथा रेशम चौधरीको घरझगडा पारिदिएका प्रचण्डको कमजोरी पनि एमाले अध्यक्ष ओलीलाई थाहा छ । अर्थात हदै भए पाँचै वर्ष प्रचण्डलाई प्रधानमन्त्री दिनुपर्ने अवस्था आउन सक्ने ओलीको बुझाइ हुन सक्छ ।