Breaking

इलाममा घण्टीको डर, गृह सम्हालेपछि रविकै भएन भर, हर्कले लपेटे, सुहाङ र डम्बरकै भिडन्त (भिडियोसहित)


काठमाडौँ— उपनिर्वाचनको उम्मेद्वारी दर्ता पूर्व घरदैलो गर्दै मतदाताको नाडी छामेका उम्मेद्वारहरुका लागि अब दल बलसहित प्रचारको बाटो खुलेको छ । आफ्नै जित हुने दाबीसहित उम्मेद्वारहरु ठोकुवा गर्दै प्रचारमा हिडिँरहेका छन् । तर मिनी जनमतका रुपमा लिइएको यस उपनिर्वाचनमा रास्वपाको अवस्था चाहिँ कस्तो छ त ?


२०८४ को मिसनमा लम्किएको रास्वपा ८१ को सुरुवातमै इलाम उपनिर्वाचनमार्फत जितको शंखघोष गर्न चाहन्छ । उम्मेद्वारी दर्ता गरेसँगै रास्वपाका उम्मेद्वार मिलन लिम्बु औपचारिक रुपमै चुनावमा होमिएका छन् । त्यसो त चैत १७ गते नै आमसभा गर्दै लिम्बुलाई नै रास्वपाले घण्टी सुम्पिएको थियो । उपनिर्वाचनको सुरुमा नै अग्रगति लिँदै ६ सांसदलाई मैदानमा उतारेको रास्वपा इलाममा प्रतिष्ठाको लडाइँको रुपमा लड्ने निश्चित छ । ३२ वर्षीय युवा उम्मेद्वार पहिचान पृष्ठभूमिलाईसमेत हेक्का राख्दै रास्वपाले अघि सारेका पात्र हुन् । उम्मेद्वारी मनोनयन दर्ता गरेसँगै लिम्बुले रास्वपाको इलाममा घण्टी बज्ने र ठूला दललाई बैशाख १५ मा पाखा लगाउने दाबी गरे । जहाँ उनी इलामको भूगोल चिनेको, पहिचान बुझेको र राष्ट्रिय राजनीतिमा उदाउँदै गरेको विकल्पको बलमै मतदाता रिझाउने दाउमा देखिन्छन् ।

एक दर्जनभन्दा बढी उम्मेद्वारलाई पन्छाएर रास्वपालाई इलाममा जित निकाल्न त्यति सहज भने छैन । कांग्रेस र एमालेको विरासतको गड भत्काएर मतदाताको विश्वास जित्नु नै रास्वपाका लागि चुनौती बन्न सक्छ । त्यसो त काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह, धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ र रास्वपाका सभापति रवि लाछिानेको उदय नै विरासत भत्काएरै भएको नजिर टेक्न खोजेको रास्वपालाई इलाममा भने पहिचानवादीको पेचिलो मुद्दालाई पार लगाउनुपर्ने बाध्यता छ । त्यतिमात्रै नभएर रास्वपाको सत्तामा भएको पुनः आगमन र सहकारी प्रकरणमा शीर्ष नेताहरु नै तानिनुलेसमेतरास्वपालाई मतदाता रिझाउन केही अफ्ठ्याराहरु भने पक्कै हुनेछन् । माओवादी छाडेका, पहिचानको मुद्दाको उम्मेद्वार बन्न नसकेका अन्तिममा धरानका मेयरको बलमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका लिम्बुको राजनीतिक अस्थिरताले पनि रास्वपालाई थप लपेट्ने देखिन्छ । रास्वपा आफैँले उम्मेद्वार बन्न प्रस्ताव गरेका एमालेका सुहाङ नेम्बाङदेखि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसमेत रास्वपाको विरोधमा छैनन् कि स्वतन्त्रका चर्चित मेयर हर्क साम्पाङले मिलन लिम्बुमाथि व्यङ्ग्य नै कस्न थालेका छन् ।

देशकै अफ्ठ्याराहरु पार लगाउन भनेर हिँडेको रास्वपाले इलाम २ मा जितसहितको सन्देश दिने बताइरहँदा सभापति लामिछानेले मन्त्रीकै कामका बललेसमेत मत बढ्ने दाबी गरेका छन् । त्यसोत उम्मेद्वारी दर्ताको साक्षी बस्न पुगेका उपसभापति डीपी अर्याल भने आएका जस्ता सुकै चुनौतीलाई पार लगाउन रास्वपा एक ढिक्का हुने र जित निकाल्ने दाबी गर्छन् ।

यसअघिको चुनावमा जमानतसमेत जोगाउन नसकेको रास्वपाले चितवन र तनुहँको उपनिर्वाचनको छनकसमेत दिन सकेको छैन । केन्द्रीय सत्तामा सभापति लामिछाने र एमाले अध्यक्ष केपी शर्मा ओलीको निकटता, हारको बद्लाको भावसहित एकढिक्का भएको कांग्रेसदेखि पहिचानवादीलाई भने पाखा लगाउन सहज छैन । यता विश्लेषक पनि कांग्रेस एमालेका नेताकै तर्कमा बल पुग्ने गरी दुई ठूला पार्टीबीच नै मुख्य प्रतिस्पर्धा हुने दाबी गर्छन् ।

पार्टीका सभापतिदेखि चर्चित नेताहरु सत्तामा केन्द्रित हुनु, मन्त्री बन्न नपाएका असन्तुष्ट सांसद्ले उपनिर्वाचनलाई बेवास्ता गर्नु र एकीकृत हुँदै पहिचानको मुद्दालाई नै विकल्पतर्फ आकर्षित हुँदा रास्वपाकै विकल्प पनि कडा प्रतिष्पर्धा गर्नुपर्ने देखिन्छ । तर यही परिस्थितिमा रास्वपालाई जित निकाल्न भने चुनौतीपूर्ण देखिए पनि असम्भव भने छैन ।।