Breaking

इलाम–२ सुहाङ पन्छाएर देउवाका डम्बरले फर्काउलान् विरासत ? पहिचानको मुद्दाको ओज कति ?


काठमाडौँ – लामो रस्साकस्सीपछि नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ । माओवादीले पनि एमालेलाई समर्थन गर्ने निर्णय गरेसँगै लगभग प्रतिस्पर्धाको खाका तय भइसकेको छ । इलाममा एमाले, कांग्रेस र रास्वपाको त्रिपक्षीय भिडन्त हुने देखिएको छ । कस्तो छ त इलामको चुनावी हिसाबकिताब ?

इलाम २ उपनिर्वाचन महासंग्रामको महाभिडन्त गर्ने पात्रको टुंगो लागिसक्दा सबैको चासो बढेको छ । विरासत जोगाउने र विरासत फर्काउनेदेखि नयाँ दलहरुले आफूलाई पुर्नपुष्ठि गर्न प्रतिष्ठाको विषय बनाएको यो निर्वाचनमा मुख्य भिडन्तको खाका लगभग तय भइसकेको छ । चैत २४ गते उम्मेदवारी दर्ताको समय नजिकिएसँगै सबैजसो दलहरुले उम्मेदवारको टुंगो लगाएका छन् । नेकपा एमालेले यसअघि नै स्व. सुवास नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि माओवादी छाडेका मिलन लिम्बुलाई उम्मेदवार उठाएको छ । यी दुवै उम्मेदवारलाई इलाममा पहिचानको गुञ्जायस बढेकाले उठाइएको विश्लेषणका बिच नेपाली कांग्रेसले भने डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

कांग्रेसले बल्ल उम्मेदवार टुंग्याउँदा अरु दलहरुले भने घरदैलो नै सुरु गरिसकेका छन् । यो क्षेत्रमा लगातार पाँच पटक जित हासिल गरेको नेकपा एमाले अहिले अग्नि परीक्षामा छ । अंकगणितीय रुपमा समेत एमाले नै अगाडि देखिन्छ । २०७९ मा भएको निर्वाचनमा एक्लै चुनावमा होमिएको एमालेले समानुपातिकतर्फ २६ हजार ५६२ मत पाउँदा कांग्रेसले २२ हजार ३३३ मत पाएको थियो । यसरी हेर्दा एमाले सुविधाजनक जिततर्फ अग्रसर देखिन्छ । २६ हजारमध्ये पाँच हजार किरात धर्मगुरु र विभिन्न धार्मिक आस्थासँग जोडिएको मत हो । यसपटक यो मत डकेन्द्र सिंह थेगिमको पक्षमा जाने देखिएका बेला सुहाङले त्यसलाई फर्काउन नसके करिब पाँच हजार मत घट्नेछ । यसो हुँदा कांग्रेस–एमालेबीच तीव्र प्रतिस्पर्धा हुने देखिन्छ । त्यसमाथि २०७९ को निर्वाचनपछि गत चैतदेखि एमाले पहिचान विरोधी पार्टी भएको छाप लागेका बेला त्यो मत जोगाउने चुनौती एकातिर छ भने युवा उम्मेदवार उठाएकाले केही सकारात्मकता देखिन सक्छ । त्यसमाथि माओवादीले पनि एमालेलाई सघाउने निर्णय गरेपछि सुहाङ सेफ जोनमा रहेको मान्न सकिन्छ । तर, स्वयं सुहाङमाथि नै पनि टिकट वितरणमा परिवारवाद र संघर्ष गर्ने बेलामा गाउँमा नभइ जिल्ला बाहिर बसेकाले मूलबासी र टूरिस्टजस्ता आक्षेप लाग्ने गरेका छन् । त्यसमाथि राजनीतिक योगदान र उमेरका हिसावले वडाध्यक्षभन्दा जुनियर रहेपनि व्यक्तिगत रुपमा समेत कस्तो छवि देखाउँछन् त्यसले पनि प्रभाव पार्नेछ । आफ्नो बुबाको सपना पूरा गर्न आएको सेन्टिमेन्ट जनतालाई बुझाएर सान्त्वना र आँशुको मत सुरक्षित पार्ने प्रयासमा एमाले लागेको देखिन्छ ।

कांग्रेसको जिल्ला र प्रदेश समितिले ६ जनाको नाम सिफारिस गरेपनि डम्बर खड्का र भेषराज आचार्यको नाम चर्चामा थियो । अन्ततः डम्बर खड्का फिक्स भएका छन् । गत निर्वाचनमा कांग्रेसले २२ हजार ३३३ मत पाए पनि एमालेको मत यथावत् रहे चार हजार मतका लागि संघर्ष गर्नुपर्ने हुन्छ । प्रत्यक्षतर्फ सुवास नेम्वाङसँग खड्का ११४ मतले मात्रै पराजित भएका थिए । त्यसबेला माओवादी र एकीकृत समाजवादीले पनि कांग्रेसलाई समर्थन गरेकाले करिब पाँच हजार मत बढाउनका लागि उसले संघर्ष गर्नुपर्ने देखिन्छ । पहिचानको मुद्दाको प्रभाव कांग्रेसलाई परेपछि एमालेलाई जति असर भने पर्ने देखिँदैन । यो पटक सुवास नेम्वाङ नभएकाले ३० वर्षपछि विरासत फर्काउन अनुकूल परिस्थिति बनेको कांग्रेस भित्र ब्रिफिङ भएको छ । राष्ट्रिय राजनीतिमा सुवासको छविका कारणसमेत एमालेलाई मत जाने गरेकोमा अहिले पार्टीको मात्रै मत जाने विश्लेषण कांग्रेसको छ । २०७९ को स्थानीय तह निर्वाचनमा धेरै पालिका आफ्नो पक्षमा रहेकाले पनि गुटगत झमेलामा नअल्झिई एकढिक्का भएर गए सम्भावना बलियो रहेकोमा कांग्रेस एकमत देखिन्छ । तर शेखर कोइरालाले आचार्यलाई टिकट नदिइए हारको जिम्मा लिन देउवालाई चेतावनी दिइसकेको अवस्थामा उनको भूमिका निर्णाक रहनेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको पनि समानुपातिक र प्रत्यक्ष तर्फको मत हेर्दा धेरै फरक देखिन्छ । प्रत्यक्षतर्फ एक हजार ३६३ मत पाएको रास्वपाले समानुपातिकतर्फ भने चार हजार ६ सय ८६ मत पाएको थियो । यसले रास्वपालाई समेत झिनो आशा देखाउन सक्छ । किनभने रास्वपाप्रति सकारात्मक जमाद रहे पनि जनताले रुचाएका उम्मेदवार दिन नसकेको सन्देश दिन्छ । त्यसमाथि सहरी क्षेत्रमा सामाजिक सञ्जालमार्फत लोकप्रियताको मत मात्रै पाउने गरेको तथ्य चिर्न रास्वपाका लागि इलाम अग्नि परीक्षा हो । पहिचानवादी पक्षधरताकै पल्लभारी हुने देखिएपछि मिलन लिम्बुलाई रास्वपाले समर्थन गरे पनि लिम्बुले भने आफू सबै पहिचानको पक्षमा रहेको बताइरहँदा यसले भने केही प्रभाव पार्न सक्छ । यसबाहेक टिकट पाउनुभन्दा अगाडिसम्म रास्वपाकै विरोध गर्ने लिम्बुमाथि अहिले लागेको अवसरवादी आरोपलाई समेत चुनावमा सामान्य रुपमा हेर्न सकिँदैन । समग्रमा हेर्दा दलहरु पहिचानलाई मुद्दा बनाएर गाउँ छिर्ने तयारीमा छन् । हिजो अमुक दलहरुमा आबद्ध भए पनि अहिले पहिचानको मुद्दालाई मात्रै एजेण्डा बनाउँदै क्याम्पियन चलाउने समूहबाहेक आम जनमानसमा भने पहिचानको मुद्दाले खासै प्रभाव पारेको देखिँदैन । पहिचानको मुद्दामा आम मतदाताको चासो कम देखिन्छ । इलामको अधिकांश क्षेत्रमा मिश्रित समुदायको बसोबास भएकाले कोर क्षेत्रमा मात्रै पहिचानवादीको मत बलियो देखिन्छ । यद्यपि, यो मतले चुनावको नतिजामा ठूलो परिवर्तन ल्याउन नसक्ने स्थानीय नेताहरुको बुझाइ छ । इलाम–२ मा कांग्रेस–एमाले र रास्वपाबीच त्रिपक्षीय भिडन्त हुने निश्चित भए पनि मुख्य प्रतिस्पर्धा कांग्रेस–एमालेबीच नै हुने निश्चित छ । तर, युवा मतदाता र उनीहरुमा देखिएको परिवर्तित सोचले परिवर्तनको संकेत देखाएमा भने रास्वपाले नसोचेको परिणाम ल्याउन सक्ने अड्कलबाजी पनि भइरहेका छन् ।