Breaking

कांग्रेसमा फेरि कलह, बैठकमै बाझाबाझ, देउवाका उत्तराधिकारी भनिएका शशांक शेखरतिर (भिडियोसहित)


काठमाडौँ— उपनिर्वाचनको टिकट वितरणको विषयमा कांग्रेसमा सभापति शेरबहादुर देउवा एक्लिएका छन् । महामन्त्रीद्वयसहित सहमहामन्त्री, नेताहरु शेखर, शशांक कोइरालालगायत विपक्षमा उभिदा अहिले देउवाको साथमा उपसभापति पूर्णबहादुर खड्का मात्रै छन् । बाहिर एक ढिक्का देखिएको कांग्रेसमा आन्तरिक कलह किन बढ्यो ?

प्रचण्डको धोकाबाट कांग्रेस एकढिक्का भएको दाबी गरिए पनि उपनिर्वाचनको टिकट वितरणमा देखिएको रस्साकस्सीले आन्तरिक असन्तुष्टिको राडर उत्कर्षमा पुगेको छ । पार्टी सभापति शेरबहादुर देउवाको दबदबाका कारण कांग्रेसको मुखैमा आएको सत्ता गुमेर प्रतिपक्षी बन्नुपरेको अपजस लागिरहेका बेला इलाम–२ मा मनोमानी उम्मेदवार उठाए हारको जिम्मा लिन शेखर कोइराला पक्षले चेतावनी नै दियो । देउवाले आरजु राणाका भित्रिया पात्र डम्बर खड्कालाई टिकट दिने अडान लिँदा कोइराला पक्षले भने भेषराज आचार्यलाई उम्मेदवार नबनाइए हारको जिम्मा लिन चेतावनी दिएको थियो । यसमा रोचक त के छ भने शेखर कोइराला इतर पक्ष भएकाले विरोध गर्नु स्वभाविक भए पनि शशांक कोइरालालेसमेत शेखरसँगै देउवाविरुद्ध बोली मिलाउनुलाई भने आश्चर्यका रुपमा हेरिएको छ ।

किनभने पछिल्ला केही दिनयता शशांक आगामी १५ औँ महाधिवेशनमा सभापति बन्ने भन्दै देउवा पक्षका सभापति रहेका जिल्लाको दौडाहामा थिए । शेखर र शशांक नातामा दाजुभाइ भए पनि राजनीतिमा एकअर्काका प्रतिष्पर्धीका रुपमा देखिन्छन् । देउवाले समेत आगामी उत्तराधिकारीमा विश्वासिलो पात्रका रुपमा शशांकलाई नै लिएको आन्तरिक चर्चाका बीच टिकट वितरणमा देउवाकै विपक्षामा उभिनुलाई सामान्य रुपमा हेर्न मिल्दैन ।


गत निर्वाचनमा हार व्यहोरेपछि आफ्नै पार्टीका नेताहरुलाई भौतिक आक्रमणसम्मका धम्की र अनुशासन विपरीतको गतिविधि गरेकाले पार्टी नेता कार्यकर्ताको नजरमा खड्काको छवि सकारात्मक छैन । त्यसकारण अराजक हर्कतमा नेता कार्यकर्तालाई उत्तेजित गर्ने गरेको लगायतका आरोपले भेषराज उपयुक्त पात्र हुने पक्षमा अधिकांश नेताहरु देखिएका थिए । त्यसबाहेक कांग्रेसको विवाद संसद अवरोधमासमेत देखिन्छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदमा विरोध जनाइरहेको कांग्रेसको इतर पक्ष खरो देखिँदा संस्थापन पक्ष उति आक्रामक देखिएको छैन । पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि सभापति देउवाले संसद अवरोध नगर्ने बताए पनि आफ्नो प्रतिष्ठाको विषय बनाइरहेका गगन थापा लगायत सांसदहरुले भने यसलाई झनै चर्काउने संकेत गरेका छन् । यसले सहकारी ठगीको विषय पीडितका पक्षमा उठिरहेको छ वा व्यक्तिगत स्वार्थको टकरावले भन्ने प्रश्न तेर्सिएको छ । अर्कोतर्फ सत्तापक्षमा हुँदा सरकारको विरोध गर्ने इतर पक्ष नै अहिले यो सरकार ढल्ने र धैर्यताको बाँध चाडै फुट्ने अभिव्यक्ति दिइरहेको छ ।

कांग्रेसको सत्ता लिप्साको हद गण्डकी र सुदूरपश्चिममा देखिन्छ । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत नपाउने स्पष्ट हुँदाहुँदै पनि एक महिना सत्ता लम्ब्याउन राजीनामा दिएका छन् । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सरकार जोगाउनकै लागि नागरिक उन्मुक्तिका पाँच सांसदलाई मन्त्री बनाएका छन् भने स्वतन्त्र सांसदहरुलाई समेत मन्त्री बाँड्ने मूडमा छन् । बरु नेकपा एमालेले एक वर्ष प्रतिपक्षमा बसेर जनता र कार्यकर्तासँग जोड्ने विभिन्न अभियान चलाएको थियो । तर कांग्रेस भने घर–घरमा कांग्रेस अभियानसमेत स्थगित गरेर मस्त निद्रामा छ । इलाममा यसपटक एक्लै निर्वाचनमा होमिदा स्वच्छ छवि भएका उम्मेदवारलाई टिकट दिनेबारे मतभेद देखिनुलाई स्वभाविक मान्न सकिए पनि गुुटगत राजनीतिले भने कांग्रेस अझै पनि एकढिक्का नभएको स्पष्ट सन्देश दिएको छ । निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्दा र संगठन सुधारे जित हासिल गर्न सकिने महासमितिमै प्रस्तुत प्रतिवेदनमा दाबी गरिए पनि व्यवहारमा कांग्रेस न एक्लै चुनाव लड्ने स्थितिमा देखिन्छ न एकढिक्का नै देखियो । यसले अन्र्तघातको सम्भावनालाई थप बलियो बनाउँदै लगेको स्पष्ट रुपमा बुझ्न सकिन्छ ।