Breaking

सहकारी ठगीमा रास्वपा नेताको लर्को, रविपछि डीपीको पालो, ७२ घण्टे कारबाही कता हरायो ?


काठमाडौँ – सहकारी ठगीको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू एकपछि अर्काे गर्दै मुछिन थालेका छन् । सभापति रवि लामिछानेको मुद्दा पार नलाग्दै फेरि उपाध्यक्ष र सहमहामन्त्री सहकारी ठगी मुद्दामा तानिएका छन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठग हुन् वा होइनन् भनेर जुहारी चलिरहँदा उनले सदनमा बोल्न नपाएको ३० दिन भइसक्यो । यस विषयमा संसदीय छानबिन समिति बत्रे नबत्रे नै दोधारमा परिरहेको अवस्था छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेको विवादित मुद्दा किनारा नलाग्दै फेरि रास्वपाका थप दुई पदाधिकारीहरू सहकारीको रकम हिनामिनामा तानिएका छन् । उपसभापतिसमेत रहेका हालका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद (डीपी) अर्याल र पार्टी सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीमाथि सहकारीको रकम अपचलन गरेको आरोप लागेको छ । ३६ जना बचतकर्ताको झण्डै पाँच करोड रकम ठगेको ‘हाम्रो नयाँ कृषि सहकारी संस्था’को उपाध्यक्ष मन्त्री अर्याल र सहमहामन्त्री बुर्लाकोटी संचालक सदस्य थिए । अर्याल र बुर्लाकोटीले सञ्चालन गरेको सहकारीले चार करोड ९२ लाख रुपैयाँ हिनामिना गरेपछि अहिले यो सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको छ । शिलशिलेबार रुपमा रास्वपाका पदाधिकारीमाथि सहकारी ठगीको आरोप लाग्दै गर्दा संसद्मा पनि यसले स्थान पाएको छ । सहकारी ठगीको मुद्दालाई लिएर पार्टी सभापतिमाथि नै निरन्तर प्रहार गरिरहेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पार्टी नै ठगीको सञ्जालमा मुछिएको आरोप लगाएको छ ।

देशभरका सहकारीमा एकछत्र राज गरेर साम्राज्य विस्तार गर्न खोजेका गितेन्द्र बाबु (जीबी) राईं नै पछिल्लो एक वर्षदेखि हाम्रो नयाँ कृषि सहकारी संस्थाको अध्यक्षमा थिए । २०७७ साल साउन २७ गते साधारणसभाबाट चार वर्षका लागि सूर्यबहादुर गुरुङ अध्यक्षमा चयन भए पनि त्यसको दुई वर्ष पछि अर्थात् २०७९ साल असोज २२ गते नियम विपरीत जीबीलाई चयन गरिएको थियो । कानुनी विपरीत समयावधि छदैँ चलखेल गरेर गुरूङलाई हटाउन र राईलाई चयन गर्ने काम श्रममन्त्री अर्यालकै सक्रियतामा भएको थियो ।
सहकारीको नेतृत्वमा जीबी पुगेको छ महिनापछि नै बचतकर्ताले सहकारी विभागमा उजुरी दिएका थिए । यसले जीबीको हातमा सहकारी पुगेपछिमात्र संस्था डुब्न सुरु भएको पुष्टि हुन्छ । आफू एक महिनामात्रै उपाध्यक्ष रहेको स्वीकारेका अर्याल सहकारीमा हुँदा कुनै पनि समस्या नभएको दाबी गर्छन् ।

एकपछि अर्को गर्दै पार्टीका नेताहरू सकहारी ठगीमा जोडिन थालेपछि रास्वपा हैरानीमा देखिन्छ । आधा दर्जनभन्दा बढी सहकारी ठगीमा जीबी जोडिएको र त्यसमा रास्वपाका नेताको पनि कनेक्सन देखिँदा प्रश्न गर्नेमाथि थप बल पुगेको छ । समानुपातिकबाट सांसद् बनेका ढाकाकुमार श्रेष्ठलाई प्रश्न उठेको ७२ घण्टामा नै कारबाही गरेको हुंकार पिटेका सभापति लामिछानेले पार्टीका ‘फस्ट मेन’माथिको प्रश्नमा भने आरोप लाग्दैमा जवाफ दिँदै हिँड्न नसकिने तर्क गरेका छन् । संसद्मा महिना दिनदेखि आफ्नो भनाई राख्नै नपाएका रास्वपा सभापति तथा गृहमन्त्री लामिछाने प्रचारबाजीकै लागि रास्वपाका नेतालाई सहकारी प्रकरणमा मुछिएको दाबी गर्छन् ।

सभापतिको मुद्दा गिजोलिरहेकै बेलामा पार्टी भित्रकै अन्य पदाधिकारी पनि सहकारीमा मुछिदा रास्वपामा नैतिक दबाव भने परेको छ । विकल्प भनेर नै जनताको मन जित्दै पहिलो प्रयासमै सदनको चौथो ठूलो शक्ति बन्दा यस्ता प्रकरणले नेतासँगै पार्टीकै छवि पनि नराम्ररी धुमिलिन सक्ने सम्भावना बढ्दै गएको छ । पार्टीमाथि लाखौं जनताले गरेको भरोसा पटक–पटक देखिने यस्ता समस्याले तुहिने डर पैदा भएको छ । आम नागरिकको सानो आशाको केन्द्र बनेको रास्वपाले अबिलम्ब सत्यतथ्य बाहिर ल्याउन सहयोगी भूमिका खेल्न अवश्यक छ ।