Breaking

माधवसँग सधैँ गल्ने ओली–प्रचण्ड, धम्कीकै भरमा मुख्यमन्त्री पक्का, ओलीको गुमाउने यात्रा जारी


काठमाडौँ – नयाँ समीकरण बनेबाटै शक्तिको ईपिसेन्टर बनेको नेकपा एकीकृत समाजवादी फकाउन सत्ता गठबन्धनलाई धौधौ पर्न थालेको छ । च्याखे थापेर प्रदेशदेखि केन्द्रसम्ममा भाग पाउने उसको दाउले वागमती सरकार नै सकसमा परेको थियो । जसले नयाँ गठबन्धन रोज्ने उसको निर्णय वाम धुव्रीकरण भन्दा भाग खाने भएकोसमेत प्रष्ट हुँदा कहाँ कहाँ हलो अड्कायो त एकीकृत समाजवादीले ?

नेकपा एमालेको काँध र राष्ट्रिय स्वतन्त्र पार्टीको साथमा नयाँ समीकरण बनाउने बाटोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हिँडेबाटै नेकपा एकीकृत समाजवादी चर्चामा छ । एकै शब्दमा एमालेले पार्टी नै नमानेको एकीकृत समाजवादी अहिले शक्तिको ईपिसेन्टर नै हो । हुन त प्रचण्डसँग अन्य सहयात्रीबाटै बहुमत पुग्छ । तर त्यसलाई मजबुत बनाउन र वैकल्पिक गठबन्धन निर्माण गर्ने कांग्रेसको प्रयासलाई विफल पार्न माधवकुमार नेपाल बोक्नै पर्ने अवस्थामा उनी पुगे । तर त्यसलाई बुझेर केही समय पर्ख र हेरमा रहेका अध्यक्ष माधव नेपालले विस्तारै आफ्ना मागहरु बढाउँदै लगे भने आफूले हलो हड्काउँदा प्रचण्ड र केपी शर्मा ओली नै पेलिने अवस्थाको उपभोग गरे । यसैको पहिलो प्रयास प्रचण्डलाई विश्वासको मत दिने बेलैमा च्याखे थापेका उनले १५ महिने प्रधानमन्त्रीको आश्वासन पाएका थिए । यसैको सिको गर्दै प्रदेशमासमेत यही रणनीतिलाई अघि बढाएका उनले वागमती देखाएर सुदूरपश्चिमको मुख्यमन्त्री हत्याएका छन् । यसअघि सोमबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने कार्यक्रम तय गरेका थिए । तर एकीकृत समाजवादीले कुनै एउटा प्रदेशको नेतृत्व नपाए बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने ‘चेतावनी’ दियो । सात सिट भएको एकीकृत समाजवादीले विश्वासको मत नदिए मुख्यमन्त्री पद गुम्ने निश्चित प्रायः भएपछि शालिकराम जम्कट्टेल तर्सिएका थिए । फलतः बालुवाटारमा सोमबार प्रधानमन्त्री ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष ओली र एकीकृत समाजवादी अध्यक्ष नेपालबीच भएको छलफलले सुदूरपश्चिम एकीकृत समाजवादीलाई दिने निर्णय गरेको हो ।

तर सुदूरपश्चिममा केन्द्रीय सत्ता गठबन्धन अनुसारको सरकार बन्न सकेको छैन भने सहजरूपमा बन्ने सम्भावनासमेत देखिँदैन । यही कारण बागमतीमा आलोपालो गर्नेसमेत सहमति भएको छ । तर यति हुँदासमेत एकीकृत समाजवादीकी प्रदेशसभा सदस्य रमा आले मगर बैठकमा सहभागी नभएपछि समस्या उत्पन्न भयो भने यही कारण ४ बजेसम्मका लागि संसद नै स्थगित गरियो । मन्त्री पाउनु पर्ने उनको माग पूरा गर्ने गठबन्धनका नेताहरुले आश्वासन दिएपछि बल्ल उनी हैटाँैडा प्रस्थान गरिन् । तर रोचक त के छ भने यसअघिको समीकरण टुट्नुमा एकीकृत समाजवादीबाट मन्त्री भएकैहरु पनि कारण थिए । विशेषत बालकुमारी काण्डमा मुछिएकालाई कारबाही गरिने प्रचण्डको बोली र दोषी देखिए पनि फिर्ता हुन नमानेका तत्कालीन भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाका कारण सकस पारेको थियो । यही कारण नयाँ समीकरणमा जानुअघि पर्ख र हेरको नाटक गरेको एकीकृत समाजवादीले नयाँ समीकरण बृहत वाम एकताको आधार भएको बहानामा सहभागी भएको थियो । जुन कम्युनिस्टहरुलाई एक बनाउने पवित्र उद्देश्यले भएको माधव नेपालको दाबी एमालेका शंकर पोखरेलको अभिव्यक्तिले नै खण्डित गर्दा यो सबै भाग मिलान र सत्ता भोगको दौड भएको कांग्रेसको आरोपलाई बल पुगिरहेको

हुन त माओवादी होस् या रास्वपा कसरी सत्तामा बढी भाग लिने भन्ने दौडमै छन् । आफ्ना संरचना र शक्ति नभएका कारण कम्तिमा रास्वपा प्रदेशमा चाहिँ यो दौडमा देखिएको छैन । जहाँ एमाले भने सबैले आफ्नो भाग लिए पछि बाँकी रहेको भाग लिने भाष्य निर्माण गर्दै अर्को रणनीति चालिरहेको देखिन्छ । जुन स्वार्थ अनुकूल नभए गठबन्धन सिसा झै टुट्ने दिन आउने पक्का छ । जसका लागि एकीकृत समाजवादीको हलो हड्काउने र गोरु चड्काउने बाटो ओली–प्रचण्ड विरुद्ध प्रहार गर्ने स्ट्राइकर बनाउने कांग्रेसको रणनीति अनुकूल बन्ने सम्भावना पनि उत्तिकै छ ।