Breaking

ओलीलाई एमालेकै विद्रोहले सुहाङ हार्ने डर, बझाङमा पनि विवाद, कार्यकर्तालाई व्रत बस्न निर्देशन (भिडियोसहित)


काठमाडौँ— नेपाली राजनीतिमा एमाले भनेकै केपी ओली र ओली भनेकै एमाले जस्तो भएको छ । जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त माने पनि एमाले व्यक्तिवादमा चलेको छ । नातावाद, कृपावादकै कारण इलामको उपनिर्वाचनमा पार्टीमा लामो समय योगदान गरेका नेता तथा कार्यकर्तालाई पन्छाउँदै स्व. सुवास नेम्वाङका छोरा सुहाङले बाजी मारे । एमालेभित्रै परिवारवादविरुद्धको विरोध भित्रभित्रै भुसको आगो झै फैलिएको छ । तर, ‘भीम रावल’ भइने डरले बाहिर खुलेर बोल्ने आँट उनीहरूमा छैन ।

एमाले अध्यक्ष केपी शर्मा ओली भाषण र बोल्ने कलाका कारण सँधै चर्चामा रहन्छन । राजनीतिमा ओली कुनै सेलिब्रटी भन्दा कम छैन्न । कतिपय ओली निकटका नेताहरूले ओलीकै कारण एमाले अहिले नेपाली राजनीतिमा सशक्त भएको दाबी गर्छन । सडकदेखि सदनसम्म केपी बा, आईलभ यु लगायतका नारा गुन्जिरहेका बेला ओलीले पार्टीभित्र मनोमानी चलाएको भन्दै गुनासो पोख्नेहरूको पनि कमी छैन । तर, ओलीको विरूद्धमा जाँदा भीम रावल जस्तो भइएला भन्ने डरले नै ओलीप्रति भएको रिसराख र कुण्ठाहरूलाई मनभित्रै उकुसमुकुस पारेर राखिरहेका छन् । पछिल्लो समय जिल्ला अधिवेशनदेखि केन्द्रमा मात्रै नभएर संसदीय उपनिर्वाचनमा उम्मेदवारी तय गर्ने ओलीको एकल निर्णयले पार्टीभित्रको दोस्रो तहमा असन्तुष्टि चुलिएको छ । दोस्रो तहका नेताहरू अध्यक्ष ओलीको विरूद्धमा सार्वजनिक मञ्चमा बोल्न सकिरहेको छैन भने भित्री रूपमा असन्तुष्टि भुसको आगो झैँ सल्किरहेको छ । त्यही कारण अध्यक्ष ओलीले एक महिना मौन ब्रत बस्न नेता तथा कार्यकर्तालाई निर्देशन नै दिए ।

इलामको उपनिर्वाचनमा मात्रै होइन, गृहजिल्ला झापामा एमालेको जिल्ला अधिवेशन अघि नै पदाधिकारीको नाम घोषणा गरिदिएर व्यक्तिवादी राजनीतिको उदाहरण प्रस्तुत गरे । आफूले भनेको नमान्नेलाई भीम रावलको हालत बनाइदिने चेतावनी दिएपछि ओलीकै कोर टिम पनि विभाजित बन्यो । राजनीतिमा पछिल्लो समय युवाको खोजी व्यापक भइरहेको बेला ओलीले त्यसैको मौकाको फाइदा उठाउँदै मन्त्रिपरिषदमा पनि आफ्नो पक्षका युवालाई पठाएको र पार्टीको प्रमुख सचेतक र सचेतकमा युवाको नाममा आफ्नालाई काखी च्यापेको आरोप खेप्दै आइरहेका छन् । इलाम र बझाङको उपनिर्वाचनमा आफ्नालाई टिकट दिएको भन्दै विरोधका स्वरहरू निस्किन थालेका छन् । कतै ओली र दोस्रो तह नेताको टसलका कारण सुहाङ नेम्बाङ बलिको बोको बन्ने त होइनन् भन्ने प्रश्न पनि खडा भएको छ । तर, एमालेले हिजोको दिनमा सबै पार्टी मिल्दा पनि इलाममा निर्वाचन जितेको स्मरण गर्दै ओलीले उपनिर्वाचनमा एमालेको प्रतिस्पर्धी कोही नभएको जिकिर गरे ।

उपनिर्वाचनलाई पुराना दलदेखि नयाँसम्म र सत्तापक्षदेखि प्रतिपक्षसम्मले प्रतिष्ठाको विषय बनाएका छन् । तर, देशको बागडोर सम्हालिरहेका प्रधानमन्त्री प्रचण्ड नेतृत्वको पार्टी माओवादी केन्द्रले भने इलाममा उपनिर्वाचन लड्न आँट गरिसकेको छैन । इलामको उपनिर्वाचन मिनी जनमत संग्रह हो । पुरानादेखि नयाँ दलहरू पहिचानको डम्पु बजाउँदै इलामको जनमत आफ्नो पक्षमा पार्न अनेकौं अस्त्र प्रयोग गरिरहेका छन् ।

नेपाली राजनीतिमा नातावाद, कृपावाद हाबी हुँदै आएको छ । सुवास नेम्वाङकै छोरा भएकाले सुहाङ एमालेको उम्मेदवार भएका हुन् । इलाममा लामो समयसम्म सुवासलाई जिताउन खटिएका कार्यकर्ता फेरि उनकै छोरा सुवाङलाई जिताउन खटिनुपर्ने अवस्था छ । पार्टीमा रगत पसिना बगाएका नेता तथा कार्यकर्ताको मूल्यांकन हुन सकेको छैन । दशर्कौ सक्रिय राजनीति गरेका युवापक्ति पनि एमालेमा थिए । तर, ओलीले सुवासका छोरा सुवाङलाई राजनीतिमा स्थापित गर्न खोजे ।

इलाममा एमाले, कांग्रेस, रास्वपा र पहिचानवादी उम्मेदवारबीच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ । एमाले र कांग्रेसका नेताहरू भने पुराना दुई दलबीच नै मुख्य प्रतिष्पर्धा हुने दाबी गर्छन । गत निर्वाचनमा एमालेसँग कांग्रेस झिनो मतान्तरणले पराजित भएको थियो । प्रतिनिधि सभाको अहिलेको अंकगणितमा एक सिटले ठूलो अर्थ राख्दैन । तर, मिनी जनमत संग्रहको रुपमा हेरिएको यो उपनिर्वाचनलाई दलहरूले प्रतिष्ठाको विषय बनाएका छन् ।