काठमाडौँ— देशमा संघ, प्रदेश र स्थानीय तीन वटै तहको सरकार भए पनि स्वास्थ्य संस्थाको व्यवस्थापन सुधारमा भने खास्सै कसैको ध्यान गएको छैन । जिम्मेवार निकायको लापरबाहीले व्यवस्थापन कमजोर हुँदा स्वास्थ्य संस्थामा उपचारका लागि आधारभूत औषधि, स्वास्थ्य सामग्री, उपकरण र जनशक्ति अभाव छ भने भएकै उपकरणहरू पनि बन्द अवस्थामा छ । केही राहत हुने आशामा सरकारी अस्पताल पुग्ने सेवाग्राहीहरू झन् आहत पाउन बाध्य छन् ।
देशभरका सरकारी अस्पतालको लथालिङ अवस्था बारे नजान्ने नेपाली सायदै होलान् । सरकारी अस्पतालमा हुने भीडभाड देखि त्यहाँको व्यवस्थापन र स्वास्थ्योपचारका लागि व्योहोर्नु पर्ने सास्ती बिरामीका लागि पहिलो शर्त बत्रे गरेको छ । बिरामी अस्पतालमा जाँदा पालो पाउँदैनन्, पालो पाईहाले पनि डाक्टरसँग भेट हुनै मुश्किल, डाक्टर भेट्यो सिफारिस बिना शैय्या पाउनमै सास्ती, भाग्यवश शैय्या पाइहाल्यो भने डाक्टरले सिफारिस गरेको आवश्यक औषधी पाउनै हम्मेहम्मे । उपचारका लागि अस्पताल पुगेका प्रत्येक सेवाग्राहीले लगभग यही गोलचक्कर काट्नु पर्ने तितो यथार्थ विद्यमान छ ।
देशकै जेठो वीर अस्पताल आफै कोममा छ भन्दा फकर नपर्ने भएको छ । राजनीतिक भर्ति केन्द्र बनेको बीरमा उपचारका लागि पालो पाउनु भनेको ठूलै युद्ध जित्नु बराबर हो । यहा शल्यक्रियाका दुई चार दिन, दुई चार महिना हैन, वर्ष दिनसम्म कुर्दा पनि पालो पाउन मुस्किल छ ।
बालबालिकाका लागि देशकै विशिष्टीकृत मानिएको कान्ति बाल अस्पतालले सिकिस्त बिरामीको बेड नभएकै कारण उपचार गर्न नमान्दा सात वर्षीया बालिका सेञ्जल शाहीले सानै उमेरमा संसार छोड्नु प¥यो । देशकै जेठो र ठूला सरकारी अस्पतालहरूमा सेवा लिन आउने बिरामीले दैनिकी रुपमा भोग्ने समस्या हो यो । यी र यस्ता समस्या सरकारी अस्पतालमा उपचार गर्न पुग्ने हरकोही नेपालीले भोग्नु परीरहेको छ।
वीर अस्पतामा रहेको मेडिकल आईसीयूमा ८ बेड छन् २ वटा थन्किएका छन् । सर्जिकल आईसीयमा १८ बेडमध्ये १० प्रयोगमा छैन । रेस्पी आईसीयू मा एसी बिग्रिएकाले बिरामीको तापक्रममा समस्या छ । न्युरो आईसीयू ९ बेडमा ४ प्रयोगमा छैन । ११ बेड भएको ग्यास्टो आईसीयू पुरै बन्द भएर ताल्चा लगाइएको छ । राजधानी भित्रैका सरकारी अस्पतालको हालत दयनीय छ भने, दुर्गमका दूरदराजमा रहेका अस्पतालबाट उपलब्ध हुने सेवाबारे सहजै अनुमान गर्न सकिन्छ । आईसीयू र भेण्टिलेटर नपाएर छटपटाईरहेका बिरामीहरूको हार गुहार र रोदन सुनेकी सांसद् डा. तोषिमा कार्की यी परिदृश्यका पछाडि राज्यको अकर्मण्यता भएको धारणा राख्छिन् । देशको स्वास्थ्य क्षेत्र र अस्पताल बारे गठबन्धनभित्रैका सत्ता साझेदार दलले समस्यामाथि प्रकाश पारिरहेका छन् ।
सत्ताका लागि नभई केही गर्नका लागि वरियतालाई समेत बेवास्था गर्दै स्वास्थ्यमन्त्री सम्हालेको दाबी गर्ने उपेन्द्र यादव दोहो¥याएर मन्त्रालयको नेतृत्वमा छन् । अरुले गर्न नसकेको काम आफूले मात्र गर्न सक्ने भने पनि पटक पटक मन्त्रालयको जिम्मा सम्हालिरहँदा स्वास्थ्य र अस्पतालको अवस्था भने झन् नाजुक बनेको छ । सरकारी अस्पताललाई राजनीतिक भर्ती केन्द्र बनाउँदै औषधी र स्वास्थ्यसामाग्री खरिदमा सिण्डिकेटलाई संरक्षण गरेको आरोप खेप्दै यसअघिका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत बाहिरिए । नागरिकको स्वस्थ्यसँग जोडिएको क्षेत्रमा पनि कमीसन र राजनीतिमा नै रमाउन पल्केकाहरूले गर्दा राहत मिल्लु पर्ने सरकारी अस्पतालमा आहत मिल्ने गरेको छ । दोहोरिएर स्वास्थ्य क्षेत्रलाई काँध दिन आएका अनुभवी स्वास्थ्यमन्त्रीलाई विगतमा भएका नालायकीपनको अन्त्य गर्ने चुनौतीका साथै अवसर पनि मिलेको छ । तर यीनले विगतमा गुमेको आफ्नो साख फर्काउँछन् कि थप विवादको हिलो बोकेर बेकामे करार भएर विदा हुन्छन त्यो भने हेर्न बाँकी छ ।
प्रत्यक्ष जनतासँग जोडिएको सरकारी अस्पतालको अबिलम्ब सुधार हुँदै जानु पर्ने आवश्यक छ । तर, दुर्भाग्य दिनानुदिन सेवाग्राहीको समस्या बढ्दै छ भने अस्पतालको हालत झनै नाजुक बन्दै गएको छ । जसको प्रत्यक्ष असर केही राहत खोज्दै सरकारी अस्पतालमा आएका गरिब बिरामीमाथि परेको छ । रुग्ण भएको अस्पताललाई पुनः तङ्ग्य्राउने हो भने सांसद् डा. तोषिमा कार्कीले भने झै अस्पताल अगाडि एम्बुलेन्स वा ट्रलीमा बिरामी राखेर आईसीयू खोज्दै सिफारिसका लागि यहाँ र त्यहाँ फोन घुमाउँनु पर्ने नियतीको अन्त्य गर्दै पारदर्शी तरिकाबाट वेबसाईटमार्फत सबैलाई थाहा हुने व्यवस्था गर्नु पर्ने छ ।
प्रतिक्रिया