अन्तर्राष्ट्रिय

लफडै लफडामा फसे मोदी, चुनाव जित्न तर्साउँदै र धम्काउँदै, केजरीवाल र राहुललाई मुद्दा मिल्यो (भिडियोसहित)


काठमाडौँ— भारतमा अप्रिल १९ देखि लोकसभाको निर्वाचन हुँदैछ । चुनावको मिति घोषणा भएको केही दिनमै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परे । मुख्यमन्त्री पक्राउमा विपक्षीले लोकतन्त्रमाथिको खुला आक्रमणको संज्ञा दिइरहेका छन् । शासकको शैलीमा उत्रिएका प्रधानमन्त्री नरेन्द्र मोदी चुनाव अघि आलोचनाको सिकार बनिरहेका छन् । यसले चुनावमा कस्तो असर पर्ला भन्ने प्रश्न पनि उठ्न थालेको छ ।


विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भनेर परिचित भारतमा एप्रिल १९ देखि जुन १ तारिखसम्म सात चरणमा निर्वाचन हुँदैछ । चुनावको मिति घोषणा भएको केही दिनमै राजधानी दिल्लीमा राज्य सरकार चलाइरहेका आमआदमी पार्टी (आप)का मुख्यमन्त्री अरविन्द केजरीवाललाई गत बिहीबार इन्फोर्समेन्ट डिरेक्टोरेट (ईडी)ले पक्राउ ग¥यो । पक्राउ लगतै आमनिर्वाचनअघि प्रतिपक्षी दलहरूले आफूहरूलाई निसाना बनाइएको आरोप लगाइ रहेकाछन् । निर्वाचनको केही महिना अगाडि उत्तर प्रदेशको अयोध्यामा धर्मलाई राजनीतिक उपयोग गर्ने उद्देश्यले विशाल राम मन्दिरको उद्घाटन गर्नेदेखि साम्प्रदायिक ध्रुवीकरणका प्रयासहरू भएका आरोप पनि उनीहरूले लगाइरहेका छन् ।

अहिले भारतमा प्रतिपक्षीहरूले निकै समस्या व्यहोरिरहेका छन् । यसले समग्रमा असहिष्णु व्यवहार नै बढाइरहेको देखिन्छ । भारतका लगभग सबै सर्वेक्षणकर्ता तथा विश्लेषकले आउँदो आम चुनावको नतिजा प्रधानमन्त्री मोदीको पक्षमा आउने घोषणा गरिसकेका छन् । जसका कारण यी बाहुबली नेताको तेस्रो कार्यकाल सुनिश्चित जस्तै देखिन्छ । विश्वकै सबैभन्दा महंगो चुनाव अगाडि विपक्षी दलहरूलाई तर्साउने–धम्क्याउने र वित्तीय दबाब दिने काम भएपछि उनीहरू एकमत छन् । बहुसंख्यक हिन्दु समुदायलाई ध्रुवीकृत गर्ने मोदीको अभियान बेलै नभई चरमोत्कर्षमा पुगिसकेको छ । अथवा यो उनको पछिल्लो कानुनी हारबाट मतदाताको ध्यान हटाउने उपाय मात्र हो । ६ वर्ष पहिले मोदी सरकारले ल्याएको अपारदर्शी रुपमा चन्दा उठाउने कार्यक्रम बन्द गर्न र चन्दादाताको नाम सार्वजनिक गर्न हालै सर्वोच्च अदालतले आदेश दिएको छ ।

यदि दोस्रो कारणले यस्तो कदम चालिएको हो भने यो दाउ उल्टो पर्न सक्छ । पत्रकार, सामाजिक कार्यकर्ता र मोदीका राजनीतिक विपक्षीहरू बिना कुनै सुनुवाइ महिनौँ, वर्षौंसम्म जेलमा थुनिँदा पनि भारतको न्याय प्रणालीले आँखा चिम्लेको छ । एकातिर मोदी नेतृत्वमा त्यहाँ बाटाघाटा, विमानस्थल तथा अन्य संरचनाको व्यापक विस्तार भइरहेको छ । अर्कातिर जनस्तर तथा समाजमा धर्मका नाममा ध्रुवीकरण भइरहेको देखिन्छ ।

आफ्नो प्रतिपक्षीलाई जेलको चिसो हावा खुवाउनमा मोदी माहिर छन् । यसरी प्रतिपक्षी दलहरूलाई जेलको चिसो हावा खुवाउने र धर्मलाई आफ्नो पेवा ठान्ने मोदीलाई यो चुनावमा कस्तो असर पर्ला भन्ने प्रश्न उठ्न थालेको छ । आलोचकहरुलाई जेलमा कोच्ने र आफ्नो मनोमानी तथा शक्ति विस्तारमा लागेका मोदीका लागि निकट भविष्यमा हुन लागेको चुनाव भारी पर्न सक्ने आकलन गरिए पनि उनको पक्षको मत बलियो देखिन्छ । यसले भविष्यमा मोदीको राजनीतिक जीवनमा कस्तो प्रभाव पार्छ ? त्यो भने चुनावको नतिजा पछि थाहा हुने नै छ ।