राजनीति

रोचक बन्दै इलामको चुनावी भिडन्त, सुवासको उत्तराधिकारी मिलन ! सुहाङलाई घण्टीकै डर (भिडियोसहित)


काठमाडौँ— विगतका दुई आवधिक निर्वाचन र उपनिर्वाचनहरूमा तालमेल गर्दै चुनावमा होमिएका मुख्य राजनीतिक दल अहिले इलाममा एक्लाएक्लै भिड्दै छन् । यो पटक उनीहरु आ–आफ्नो शक्ति परीक्षणमा लाग्दा गठबन्धनका सहयात्रीबीच मात्र नभई उही एउटै एजेण्डा भएकाहरुकाबीचसमेत भिडन्त हुँदैछ । यसले कुन पार्टीको वास्तविक हैसियत कति ? र धरातलीय यथार्थ कस्तो छ ?यसले प्रष्ट पार्ने देखिँदा उनीहरुले बजाएको आ–आफ्नै डम्फू कस्तो छ त ?

को किन फरक भन्ने स्पष्ट दृश्यबिना नै फरक देखिने दल र उम्मेद्वारको प्रयासले यतिबेला इलाम २ मा चुनावी रौनक छाएको छ । सपनाका पुलिन्दा बाँड््नेदेखि सिद्धान्तको ठूला कुरा गर्ने तथा स्थानीय मुद्दा पछि परेको दृश्यमा यहाँको चुनावी गतिविधि रुमलिरहेको छ । जसमा सत्तारुढ दल त्यसमा पनि वृहतवाम एकताको सपना देख्ने दलहरुदेखि पहिचानको साझा एजेण्डा भएकैहरुसमेत भिड्दै छन् । जहाँ युवा, विरासत र जनजाति अनुहारले छारो हान्न सकिने आशामा एमाले छ । यही कारण सुहाङ नेम्वाङमार्फत सहानुभूतिको भोट लिन एमाले अघि सर्दा सुहाङले पनि पहिचानका मुद्दामा मुख खोलेका छैनन् ।

बरु विरासतको कुरा गरेर नेम्वाङ थर बिकाउन लागी परेका उनी मौन बसेर पार्टीमाथि लागेको पहिचान विरोधी ट्यागको क्षति न्यूनीकरण गर्न चाहन्छन् । यता पहिले माओवादी रहेर चुनावकै मुखमा स्वतन्त्र हुँदै राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेद्वार बनेका मिलन लिम्बू आफू जस्तो सच्चा पहिचानवादी कोही नभएको तर्क गर्दै प्रचारमा जुटिरहेका छन् । रास्वपाको मूल्याकंनको आधार बनेका उनलाई जिताउन नेता डा.स्वर्णिम वाग्लले प्रदेशको विपक्षमाआफ्नो पार्टी नरहेको अभिव्यक्ति दिइसकेका छन् । त्यस्तै सभापति रवि लामिछानेले हर्क साम्पाङलाई भेटेर नयाँ संकेत गर्दा मिलन पनि सुहाङभन्दा सुवासको सच्चा उत्तराधिकारी आफू भएको तर्क गरिरहेका छन् । अर्थात भोटका लागि छोरा सुहाङभन्दा आफू सच्चा भएको उनको कच्चा रणनीति यहाँ पोखिएको छ ।

यतिमात्र नभएर पहिचानवादीकै अनुहारका रुपमा प्रेमदीप थाम्सुहाङ र डकेन्द्र थेगिम पनि चुनावी मैदानमा छन् । यसको अर्थ कुन चाहीँको पहिचानवादी एजेण्डा सही भन्नेमै अन्योल उत्पन्न हुँदा यता केन्द्रमा आएर घाँटीजोड्नेहरु नै किन फरक फरक बाटोमा छन् भन्ने अर्को प्रश्न छ । अर्थात मतदाताले जसलाई जिताएपनि सत्तामा जाने र खाने काममा मिल्नेहरुलाई किन फरक मान्ने ? एउटै गठबन्धनमा फर्किएकाहरुले आफ्ना सहचारीभन्दा फरक रहेको दाबी पेश गर्ने नैतिकता राख्छ? अर्को प्रश्न छ । त्यस्तैकम्युनिस्ट भन्ने अनि वृहत वाम एकताको सपना देख्नेदेखि संगै सत्तामा जानेहरुको डम्फू किन फरक छन् भन्ने नै प्रष्ट नहुँदा उस्तै अनुहार उस्तै एजेण्डा भएकाबीच फरक छुट्याउन मतदातालाई सकस छ । त्यस्तै सबै युवा अनुहार नै अर्कोसाझा विशेषता बन्दास्थानीय मुद्दाहरुसमेत ओझेलमा परेका छन् । कोशी प्रदेशमा फैलिएको पहिचानको आन्दोलनले यहाँ पनि प्राथमिकता पाउँदा के इलाम – २ ले मात्रै यसको भारी बोक्दिनुपर्ने हो ?यो पनि अर्को प्रश्न तड्कारो रुपमा उठिरहेको छ ।

हुन त नेपालको निर्वाचन प्रणाली नै मिलेर खानेहरुलाई सहज बनाउँने खालको रहेको तर्क गर्नेहरु पनि छन् । त्यस्तै दलीय सिण्डिकेटका कारण कम खराब छान्ने बाहेक विकल्प नेपाली मतदातामा नरहेको उनीहरु बताउँछन् । अर्थात ९९ प्रतिशतले मतदान नगरे पनि एक मत बढी ल्याउने नै विजयी हुनसक्ने अवस्थाले आम मतदाता भोट हाल्न बाध्य नै भएको रुपमासमेत हेरिन्छ । जहाँ एकरतिसमेत फरक नभएकाहरुबाटै पनि एउटा त छानिने नै छन् । त्यसैका लागि शब्दजालको डम्फू बजाउने खेलमा उम्मेद्वारहरु लाग्दा इलामे मतदाताको वास्तविक एजेण्डा भने छायाँ नपरोस् ।