Breaking

सत्ता बिना छटपटिए देउवा, गगन सच्चिए, प्रचण्ड बोक्ने कि ओलीलाई प्रधानमन्त्री बनाउने ?


नेपाली कांग्रेसका नेताहरुले पछिल्ला केही दिनयता कांग्रेस फेरि सत्तामा आउने अभिव्यक्ति तारन्तार दिइरहेका छन् । त्यसमाथि आरजु राणा देउवाको भारत यात्रा र सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पटक पटकको भेटले समेत यो तर्कलाई बल पु¥याइरहेको छ । के २८ दिनमै सरकार ढाल्ने कांग्रेसकोे मिसन–२८ पूरा हुन लागेको हो ?

सत्ताच्युत भएको एक महिना पनि बित्न नपाउँदै कांग्रेस सत्ता नहुँदा पानीबिनाको माछाजस्तै बनेको छ । अर्थात सत्ता नहुँदाको छटपटीमा रहेको कांग्रेसले माओवादी र एमाले दुबैसँग समानान्तर छलफल अगाडि बढाएको छ । यसबीचमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच दुईपटक भेट भइसकेको छ । यतिमात्र नभइ कांग्रेस नेता कृष्णप्रसाद सिटौला माओवादी र एमाले दुबैसँग छलफलमा जुटेका छन् । राष्ट्रिय मुद्दामा मिलेर जान सत्ता र प्रमुख प्रतिपक्षबीचको भेटघाटलाई स्वभाविक मान्न सकिए पनि यो भेटलाई त्यत्तिमा मात्रै सीमित राख्न सकिँदैन । यससँगै राजनीतिमा उथलपुथलको अर्थ सत्ता परिवर्तन हो भन्ने स्पष्ट पारिसकेका प्रचण्डले सोमबार मात्रै अर्को उथलपुथलको संकेत गरेपछि देउवासँग भएको भेटको अन्तर्यलाई समीकरण परिवर्तनको सम्भावनासम्मै हेर्न थालिएको छ ।

नेपाली कांग्रेसका नेताहरुका पछिल्ला केही दिनका अभिव्यक्तिलाई नै हेर्ने हो भनेपनि कांग्रेसको सत्तायात्रा सहजै हुने संकेत गरिरहेका छन् । सभापति देउवाले शुक्रबार नेपालगञ्ज पुगेर कांग्रेस प्रतिपक्षमै बसेर जनताका पक्षमा आवाज उठाउने बताए पनि केही दिनअघि मात्रै दाङमा प्रदीप पौडेलले सत्ता गठबन्धन आफैँ झगडा गरेर सकिने र कांग्रेस फेरि सत्तामा आउने बताएका थिए । महामन्त्री गगन थापाले पनि बिहीबार र शुक्रबार लगातार कांग्रेस सत्तामा आउने अभिव्यक्ति दिए । उपनिर्वाचनको सिट बाँडफाँटमा ओली र प्रचण्डकै अघि असन्तुष्टि पोखेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अहिले पनि कांग्रेसका लागि कम्फर्टेबल भएकाले कांग्रेस सत्तामा आउने ठूलो आश छ ।

कांग्रेस नेताहरुको यो हिम्मत माधव नेपालले पार्ने प्रभावकै कारण आएको मात्र होइन । यो सरकार एक हप्तामै ढाल्ने मिसन सफल नभएपछि अहिले कांग्रेस २८ दिनमा सरकार ढाल्ने मिसनमा छ । हेर्दा सामान्य लागे पनि आरजु राणा भारतमा रहनुले समेत कांग्रेसको आत्मबल बढेको अनुमान लगाउन समस्या छैन । उनी अहिले उपचाररत रहे पनि २०७९ असार अन्तिम साता भारत भ्रमणका क्रममा प्रचण्डसँग भएको भेटलाई अहिलेको घटनासँग जोड्नु सान्दर्भिक हुन्छ । केपी शर्मा ओलीले दुईपटक संसद विघटन गरेपछि देउवा प्रधानमन्त्री बनेका बेला आरजु उपचारकै लागि भन्दै भारत गएकी थिइन् । तर, ओलीले सरकार ढाल्न थालेपछि रअ सँगको सल्लाहमा प्रचण्डलाई दिल्ली भ्रमणमा बोलाएर सत्ता टिकाउन केही सम्झौता भएका बिषय नै बाहिरिएका थिए । आगामी बैशाखमा भारतमा हुन लागेको लोकसभा निर्वाचन र नेपालमा बढेको राजदूत नवीन श्रीवास्तवको दौडधुपलेसमेत भित्रभित्रै केही पाक्दै गरेको संकेत गर्छ ।

प्रचण्ड नै प्रधानमन्त्री भएका बेला चीनको वोआओ सम्मेलन बहिष्कार गर्नु र एमाले सरकारमा आउनेबित्तिकै सरकारी कामकाजमै नरहेका एमाले नेता विष्णुु पौडेल सहभागी हुनु, सरकार फेरिने बित्तिकै परराष्ट्रमन्त्री बनेका नारायणकाजी श्रेष्ठले पहिलो भ्रमण चीनमै गर्नुले समेत झस्किएको भारत निर्वाचनलाई सहयोग पुगोस् भन्नका लागि समेत प्रो–इण्डियन समीकरण बनाउन चाहन्छ । तर, केही कांग्रेस नेता भने कांग्रेसलाई सरकार नै चाहिन्छ भन्ने नभएको जिकिर गर्छन् ।
यसबाहेक आन्तरिक रुपमा प्रहरी सरुवा, बढुवामा गृहमन्त्री रवि लामिछाने र एमाले अध्यक्ष ओलीको मनोमानी बढेपछि प्रचण्डलाई परेको सकसले पनि यो सम्भावना बलियो देखिन्छ । पछिल्ला केही दिनयता एमाले मुख्यालय च्यासलमा एमाले र रास्वपाले मिनी गठबन्धन चलाइरहेको चर्चालेसमेत प्रचण्ड सशंकित भएका छन् । गठबन्धनमा अहिलेको मुख्य सकस नै प्रदेश सरकारको नेतृत्वको भागबन्डा पनि हो । यी कैयन समस्याका बीचमा समीकरण ढाल्ने कांग्रेसको मिसन र प्रतिपक्षमा हुँदाको छटपटी २८ दिनभित्रै मेटिन्छ वा केही दिन कुर्नुपर्छ निकट भविष्यमा छर्लङ्ग हुने नै छ ।