Breaking

रविले मिलन बोकेपछि हर्क फायर, पहिचानवादीको परीक्षा, रास्वपा र एमालेले बोके, कांग्रेसका खस आर्य


काठमाडौँ – उपनिर्वाचन हुन लागेको इलाम २ मा पहिचानवादीबीच नै प्रतिस्पर्धा हुने भएको छ । पूर्वमा देखिएको पहिचानको आन्दोलनले उत्पन्न परिस्थितिलाई नजरअन्दाज गर्न नसकिने बुझाइमा सबै दल पुग्दा यस्तो अवस्था बनेको हो । जसले मुद्दा बाहिरको अनुहारलाई त फाइदा पुग्ने होइन भन्ने आशंका जन्मिदा पहिचानवादीमै फुटको आधार बन्ने सम्भावनासमेत बढेको छ ।
पहिचानको आन्दोलनले सुदूर पूर्व तातिरहेको बेला आउँदो वैशाख १५ गते इलाम २ मा हुने उपनिर्वाचनमा पहिचानवादीको भोट तान्ने उम्मेद्वार बनाउन दलहरुको प्रतिस्पर्धा छ । स्थानीय मतदाताले जनजातिअनुहार नै रोज्ने निष्कर्षसहित नयाँ तथा पुराना दल त्यसैअनुरुप अघि बढेका हुन् । फलतः नेकपा एमालेले सुवासचन्द्र नेम्वाङ पुत्र सुहाङलाई अघि सार्दा राष्ट्रिय स्वतन्त्र पार्टीले मिलन लिम्बुलाई उम्मेद्वार बनाएको छ । यीमध्ये मिलन माङ्सेबुङ गाउँपालिका–२ का हुन् भने सुहाङको पुख्र्यौली थलो इलाम नगरपालिका–७, सुन्तलाबारी हो । माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टरका सचिवसमेत भइसकेका मिलन आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को महासचिव नै हुन् । आफैँ पहिचान पक्षधर भएर लागेका पात्र मिलन माओवादी छोडेर स्वतन्त्र उम्मेद्वार बनेका थिए । सुहाङलाई अघि सार्ने प्रयास असफल भएपछि जनजाति अनुहारको तीव्र खोजीमा रहेको रास्वपाले मिलनलाई अघि सार्दा युवा र पहिचानवादीको भोट तान्ने पात्र सुहाङभन्दा अर्को हुन नसक्ने निष्कर्षमा एमाले पुगेको छ । सुवास नेम्वाङको विरासतले समेत प्रभाव पार्ने विषयलाई आधार मानिदा आफूमाथिको पहिचान विरोधी ट्याग मेटाउने पात्र सुहाङ हुनसक्ने आशामा एमाले छ । अहिलेसम्म पहिचानको मुद्दाबारे धारणा नराखेका तथा लिम्बु नै हुनु उनको अर्को विशेषता हो । जसले गठबन्धनकै दुई दलका उम्मेद्वारका रुपमा यी जनजाति अनुहार नै भिड्ने पक्का हुँदा मिलनले धोका दिएको भन्दै केही पहिचानवादीहरु रुष्ट छन् । फलतः रास्वपाबारे उनले विगतमा दिएका अभिव्यक्तिहरु अहिले उनीविरुद्ध प्रचारमा प्रयोग गरिँदा मिलने भने संघीयता र पहिचानमा प्रतिबद्धता जनाएपछि रास्वपाबाट उम्मेदवार बनेको प्रष्टिकरण दिन्छन् ।

यसअघि मिलनलाई धरान उपमहानगर प्रमुख हर्क साम्पाङले समेत आफ्नो उम्मेद्वार भएको बताएका थिए । तर उनले रास्वपा रोजेपछि साम्पाङ बिच्किएका छन् । यता राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । अर्थात उसले पनि जनजाति अनुहार नै चुनावी मैदानमा उतार्दा माओवादी केन्द्रले पनि अन्तिम समयमा एमाले वा पहिचानवादी उम्मेदवारलाई मतदान गर्न आह्वान गर्न सक्ने अवस्था छ । त्यस्तै सीके राउतको राष्ट्रिय जनमत पार्टीले भने प्रेमदिप थाम्सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ भने प्रदेशको नाम पहिचानसहित हुनुपर्ने माग राख्दै आन्दोलनरत पहिचानवादीहरूको तर्फबाट डकेन्द्रसिं थेगिम उम्मेदवार बनेका छन् । यता नेपाली कांग्रेसमा भने डम्बरबहादुर खड्का उम्मेद्वार बन्ने सम्भावना बढी छ । यसरी इलाम – २ मा मुख्य भिडन्त जनजाति अनुहारकै बीचमा देखिँदा यसले पहिचान पक्षधर र एजेण्डा खण्डित हुने त हैन भन्ने त्रासमा पहिचानकै पक्षधरहरु समेत छन् । जहाँ उनीहरुले आ–आफ्नै डम्फू बजाउन थालिसकेको दृश्यले यसलाई अझ बल पुर्याएको हो ।

हुन त इलाममा जनजाति वा पहिचानवादीको भोट तान्ने अनुहार आवश्यक पर्ने बुझाइमा दलहरु पुग्नु नै एजेण्डाको जित हो । जसले यस मुद्दा प्रति समाजमा बनेको धारणा र दलहरुमा देखिएको डर प्रष्ट हुँदा पहिचानवादीमै भिडन्तको अवस्था आए त्यसको फाइदा अरुले नउठाउलान् भन्न सकिँदैन । यस्ता एजेण्डा फेरि सेलाउने अवस्था आउँदा स्थानीय मतदातामै यिनीहरुका चर्का स्वर चुनावकै लागि मात्र हो भन्ने छाप नपर्ला भन्न सकिदैन । जसले पहिचानको आन्दोलनमा मेरो छोरो सहिद भएर के भयो ? भन्ने लाजेहाङ लिम्बुकी आमाले गर्ने प्रश्नको उत्तर निरुत्तर नबन्ला भन्न सकिँदैन ।