काठमाडौँ – बारम्बार राष्ट्रिय शक्तिको रटान लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड फेरि देउवासँग भेटघाट बढाँउदै छन् । जसलाई संसदमा देखिएको अवरोध र टीआरसीसँग जोडेर हेर्दा धेरै यस्ता विषय छन् जहाँ प्रतिपक्षी साथमा चाहिने अवस्था छ । फलतः यो दुस्मनी र मित्रता भन्दा बाध्यताको उपजका रुपमा हेर्नुपर्ने प्रचण्डको विचारकाबीच किन चाहियो राष्ट्रिय शक्ति ?
केही समयअघि आफैँले धोका दिएका व्यक्ति अर्थात नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेट गरे । पहिलो चोटी मन भाचिएको झै गरि प्रस्तुत भएका व्यक्तिसँगकै प्रचण्डको भेट प्रतिपक्षीलाई सँगै लानुपर्ने बाध्यतासँग जोडिएको छ । हुन पनि कांग्रेसले गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेको आरोप लगाएर संसदीय छानबिन समिति गठनको माग गर्दै प्रतिनिधि सभामा अवरोध गर्दै आएको छ । त्यस्तै प्रतिनिधि सभा अन्तर्गत रहेको कानुन न्याय र मानवअधिकार समितिमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक विचाराधीन अवस्थामा छ । सरकारले कांग्रेस, एमाले सहितका दलहरूको सर्वसम्मतिमा विधेयक पास गराउन विगतदेखि पहल गर्दै आइरहेको छ । साथै कांग्रेसलाई वाईपास गरेर त्यसलाई अघि बढाउन सकिने अवस्था छैन । बिहीबार बिहान बालुवाटारमा भएको भेटमा यी विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।
यता यो भेट देउवाको पनि बाध्यता हो । प्रचण्डले धोका नै दिएको भएपनि यो गठबन्धन टुटाउन एमाले वा माओवादीमध्ये एकसँग नमिली सुखै छैन । जहाँ एमाले आफू बराबरकै शक्ति बन्दा प्रमुख प्रतिस्पर्धीसँग मिलेर जानसक्ने अवस्थामा कांग्रेस छैन । जसले फेरि सत्तामा जानका लागि प्रचण्ड बोक्नै पर्ने पक्का हुँदा कम्तीमा कम्युनिस्टलाई एक हुन नदिनसमेत यो देउवाको बाध्यता बनेको छ । त्यस्तै कसैको बहुमत नआउने अहिलेको निर्वाचन प्रणाली सुधार्न अर्थात संविधान संशोधनका लागि पनि माओवादीको समेत आवश्यकता पर्छ । व्यवस्थाकै विरुद्ध उठेको आवाजले गणतन्त्रवादीहरु एक ठाँउमा उभिनुपर्ने अर्को आवश्यकता देखिँदा प्रचण्डले यही बाध्यतालाई राष्ट्रिय शक्ति आवश्यक रहेको रुपमा व्याख्या गरिरहेका छन् । उनको यही रटानले विगतमा कांग्रेसले राष्ट्रपति पद ढोक्सामा पार्दा एमालेसँगको गठबन्धन टुटेको थियो । अहिले पुनः एमालेसँग टासिन पुगेका प्रचण्डले कांग्रेस सभापतिलाई भेट्न थाल्दा शंशयपूर्ण रुपमा हेरिएको छ । यद्यपि नेपाली कांग्रेसका सांसदहरु भने तत्काल प्रचण्ड नै बोक्ने अवस्थामा नरहेको बताइरहेका छन् ।
हुन पनि प्रचण्डलाई उनले भने झै कसैले घेराबन्दी गरे लात्तीले हानेर निस्किन त्यति सजिलो छैन । न त कांग्रेस र एमाले माओवादीलाई बेवास्ता गरेर नै अघि बढ्न सक्ने अवस्था छ । जुन अस्थिर संसदीय अंकगणितको उपज बन्दा खाने बेलामा मिल्छन् भनेर पुराना दलहरुले गाली खाइरहेका छन् । यहि निराशामा खेल्दै व्यवस्था विरोधीहरु सल्बलाउँदा राष्ट्रिय शक्ति भनेकै राजा र दल मिलेर जाने अवस्था भएको भाष्य निर्माण गरिरहेका छन् । त्यसको विरुद्ध नेताहरु जनताको शक्ति भनेको राजनीतिक दलहरु भएको र उनीहरुबीचकै सहमति र सहकार्य नै यस्तो शक्ति भएको बताइरहेका छन् । यता राजनीतिक विश्लेषकहरु पनि प्रचण्डले बारम्बार समीकरण परिवर्तन गर्नु गलत भए पनि त्यसलाई मात्र समस्या मान्न नहुने बताउँछन् । उनको ठाँउमा अरु भए पनि अस्थिर संसदमा यहि अवस्था आउने तर्क गर्ने उनीहरु आफूसँग नहुँदैमा शत्रु मान्ने र आफूसँग आउँदैमा मित्रका रुपमा व्याख्या गर्न नहुने बताउँछन् । त्यसको विकल्पमा राष्ट्रिय मुद्दा र आवश्यकतामा एक ठाँउमा उभिनुपर्ने बताउने विश्वकान्त मैनाली यो सबै समस्या संविधानको भएको मान्छन् ।
कुनै दलले बहुमत ल्याउन नसक्ने निर्वाचन प्रणाली त्यसले उत्पन्न परिस्थितिकै कारण गठबन्धन बाध्यता बनेको छ । जुन आफू अनुकूल हुन नसके बदली हाल्न परिपाटीले देशमा अस्थिरता छ भने सहकार्यमा जाँदा केहि सम्झौता गनुपर्ने बाध्यताले काम गर्न चहानेहरुले पनि गर्न सकेका छैनन् । जसले देश राजनीतिक दलदलमा फस्दा त्यसको निराकरणका लागि सबै दल एक ठाँउमा उभिनुको विकल्प छैन । तर प्रतिपक्षमा पुग्दैमा शत्रुतापूर्ण व्यवहारमा उत्रिने नेताहरुको परिपाटीले यो समस्या तत्काल समाधान हुने पनि देखिँदैन । यसका बाबजुद बहस पनि यतातर्फ भन्दा कसले कसलाई धोका दियो भन्नेमै केन्द्रित छ ।
प्रतिक्रिया