Breaking

चुनावको मुखमा भारतमाथि अमेरिकाको हस्तक्षेप, केजरीवाल छुट्नै सकेनन्, मोदीको राष्ट्रियता (भिडियोसहित)


काठमाडौँ— भारतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले गरेको टिप्पणीप्रति कडा आपत्ति जनाएको छ । भारत र अमेरिकाबीच घनिष्ठता बढ्दै गइरहेको बेला मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीले दुई देशबीच टसल बढ्ने प्रवल सम्भावना देखिएको छ ।


भारत र अमेरिकाबीच घनिष्ठ सम्बन्ध छ । पछिल्ला केही घटनाक्रमलाई नियाल्ने हो भने चीनसँग सीमा विवाद बढेसँगै भारत–अमेरिकासँग अलि नजिकिएको देखिन्छ । पछिल्ला वर्षहरूमा भारतले अमेरिकासँग धेरै रक्षा सम्झौताहरू गरेको छ भने हातहतियार किनेको छ । भारत र अमेरिकाबीचको नजिकको सहकार्य अहिले मात्र भएको होइन, यस अगाडि पनि दुई देशबीचमा नजिकको सहकार्य भएको थियो । सन् २०१६ देखि भारत र अमेरिकाले रक्षा सहयोगसम्बन्धी चारवटा सम्झौतामा हस्ताक्षर गरिसकेका छन् । सन् २००० देखि २०२१ सम्म भारतले अमेरिकाबाट २१ अर्ब अमेरिकी डलर बराबरको सैन्य उपकरण किनेको छ ।

पछिल्ला आर्थिक तथ्याङ्क र सूचकाङ्कले भारत आर्थिक र राजनीतिक रूपमा बलियो शक्ति बन्ने प्रक्षेपणले भारतीय शासकहरूको मनमा पनि आफ्नो देशलाई विश्व शक्ति बनाउने चाहना झाङ्गिएको छ । भारतले प्रतिस्पर्धी र कतिपय बेला त बैरी नै मानेको चीनको तेज प्रगतिले पनि भारतमाथि विश्व शक्ति बन्ने दबाब बढाएको छ । विश्व शक्ति बन्ने भारतको यो चाहनाबारे अमेरिकालाई राम्रो जानकारी छ । आफ्ना लक्ष्य पूरा गर्न नभई नहुने भारतलाई रिझाउन अमेरिका अहिले उसले मागेका सहायता दिल खोलेर दिन तयार छ ।

यति सुमधुर सम्बन्ध हुँदाहुँदै पनि पछिल्लो समय अमेरिका र भारतबीच टसल बढेको छ । दिल्लीका मुख्यमन्त्री केजरीवालको गिरफ्तारीबारे अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले गरेको टिप्पणीप्रति भारतले कडा आपत्ति जनाएको छ । भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारतको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भनी अमेरिकाको आलोचना गरेको हो । भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘भारतका केही कानुनी प्रक्रियामा अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको टिप्पणीको हामी कडा आलोचना गर्छौँ । कूटनीतिमा एक देशले अर्काको सार्वभौमसत्ता र आन्तरिक मामिलाको सम्मान गर्ने अपेक्षा गरिन्छ । लोकतान्त्रिक मुलुकबाट त झन् यो अपेक्षा बढी गरिन्छ । भारतको कानुनी प्रक्रिया स्वतन्त्र न्यायपालिकामा आधारित छ, जुन वस्तुनिष्ठ र समयसापेक्ष न्याय प्रदान गर्न प्रतिबद्ध छ । त्यसमा प्रश्न गर्नु अनुचित हो ।’

समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले ‘हामी मुख्यमन्त्री अरविन्द केजरीवालका विषयमा निष्पक्ष, पारदर्शी र समयसापेक्ष कानुनी प्रक्रियाको अपेक्षा गर्दछौँ’ भनेका थिए । भारत र अमेरिकाबीच घनिष्ठ सम्बन्धमा मुख्यमन्त्रीको विषयलाई लिएर शीत युद्ध हुनुलाई दुई देशबीचको सम्बन्धमा थप दरार आउने विष्लेषण हुन थालेको छ ।