काठमाडौँ— फेरिएको सत्ता समीकरण र मन्त्रीहरुको फेरबदलपछि नेपालस्थित विभिन्न मुलुकका राजदूतहरुको सक्रियता ह्वात्तै बढेको छ । सरकारका मन्त्रीदेखि राजनीतिक दलका नेताहरुसमेत कुटनीति भेटवार्तामा भ्याईनभ्याइ छन् । भारत–चीन र अमेरिकाका राजदूतदेखि अन्य विभिन्न नियोगहरुको कुटनीतिक सक्रियता र सरकारका मन्त्रीदेखि राजनीतिक दलका नेताहरुको व्यस्तताले भित्रभित्रै केही पाक्दैछ कि भन्ने प्रश्न उब्जाएको छ । के विदेशी शक्तिका अगाडि लम्पसारवाद वा अन्य कुनै लाभका लागि दौडधुप त भइरहेको होइन ?
१२ वर्षपछि पुनः परराष्ट्रमन्त्रालय हाँक्ने जिम्मेवारी पाएका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ जिम्मेवारी पाएको तीन साता नबित्दै उत्तरी छिमेकी मुलुक चीन भ्रमणमा छन् । परराष्ट्र मन्त्रालयको कुर्सी सम्हाले यता भारत–चीन–अमेरिका–रुस लगायत विभिन्न मुलुकका राजदूतदेखि कुटनीतिक नियोगका प्रतिनिधिहरुसँगको भेटवार्ता र छलफलमा उनी निक्कै व्यस्त रहे । परराष्ट्रमन्त्री बने यता कुटनीतिक भेटवार्ता र छलफलमा नै श्रेष्ठको दैनिकी बित्यो भन्दा फरक पर्दैन । अहिले ९ दिन लामो चीन भ्रमणमा निस्किएका मन्त्री श्रेष्ठले मंगलबार चिनियाँ समकक्षी वाङ यीसँग कुटनीतिक भेटवार्ता गरेका छन् । भेटवार्तामा दुई मुलुकबीचको सम्बन्धको अवस्थाको मूल्यांकन गर्दै सम्बन्धलाई थप उचाइमा पु¥याउन मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । श्रेष्ठले चीन जानु पूर्व मुलुकको कुटनीतिक अवस्था र रणनीतिबारे परराष्ट्रविद्हरुसँग छलफल नै चलाएका थिए ।
परराष्ट्रमन्त्री श्रेष्ठपछि राजदूत र कुटनीतिक नियोगहरुसँगको भेटवार्ता नै दैनिकी बनेको छ अर्थमन्त्री वर्षमान पुनको । पुन अर्थमन्त्री बनेको २० दिन बित्यो । नेता कार्यकर्ता आफ्ना शुभचिन्तकबाट खादामाला पैरिन जति व्यस्त छन् पुनलाई कुटनीतिक भेटवार्ताको चटारो त्यो भन्दा बाक्लो छ । अर्थमन्त्रीमा बहाली भए लगत्तै नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवसँग भेट गर्दै बधाई थापेका उनले अमेरिकी राजदूत डिन थप्सन, चिनियाँ राजदुत छन सोङ, स्विस राजदूत डेनिएल मेउली, रुसी राजदूत अलेक्सेई ए. नोभिकोभ, दक्षिण कोरियाली राजदूत पार्क थेयङ, एसियाली विकास बैंक (एडिबी) का कन्ट्री डाइरेक्टर आर्नो कोशवा, विश्व बैंककी उपाध्यक्ष एवं फाइनान्स र अकाउण्ट निर्देशक पामेला ओ कोनेल लगायत आधा दर्जनभन्दा बढी औपचारिक कुटनीतिक भेटवार्ता गरेका छन् । लगानी सम्मेलनको मुखैमा अर्थमन्त्री बनेका पुनको यो कुटनीतिक सक्रियता स्वभाविक भए पनि यत्ति धेरै भेटको उपलब्धि मुलुक र आमनागरिकका लागि के ? भन्ने प्रश्न उठिरहेको छ । यी उदाहरण मात्र हुन् सरकारको नेतृत्वमा रहेकाहरु कुटनीतिक मर्यादाको ख्यालै नगरी विदेशी अनुहार देख्यो कि दैलो खुला राख्छन् ।
सरकारी प्रतिनिधिभन्दा राजनीतिक दलका नेताहरु झन के कम । कुनै न कुनै दल वा दलका नेताको कुटनीतिक भ्रमण होस् या भेटघाट झनै बाक्लो छ । विदेशीसँगको हिमचिम नेताहरुका लागि प्रतिष्ठा हुने गर्दछ । परराष्ट्रमन्त्री श्रेष्ठ चीनमै रहेका बेला नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विष्णु पौडेल पनि चीन पुगिसकेका छन् । बुधवार अमेरिकी राजदूत डिन थप्पसन र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनबीच भेटवार्ता भएको छ । कांग्रेस कम्युनिस्ट मात्र होइन राजावादीदेखि वैकल्पिक शक्तिहरु पनि विदेश मामिलामा सक्रिय हुँदा नेपालस्थित राजदूतावासको दौडधूप झन बढ्दो छ । राजदूतहरुको दौडधूप र यस्ता भेटवार्ता दुईपक्षीय हित वा अरु नै केही उद्देश्यले भइरहेको हो ? प्रश्न उठिरहेको छ । किनभने मुलुकको राजनीतिक अस्थिरतामा आन्तरिक उपज मात्र नभई वैदेशिक हस्तक्षेपलाईसमेत कारण मान्नेहरुको कमी छैन ।
बदलिँदो विश्व भू–राजनीतिक परिवेश र सामारिक महत्वका हिसाबले भू–राजनीतिक प्रतिस्पर्धाको प्रभावबाट नेपाल अछुतो रहने कुरै भएन । ध्रुविकृत विश्व राजनीतिकै कारण कुटनीतिक अभ्यासमा नेपाल रुमलिँदै आएको छ । विदेशी शक्तिहरुले आफ्नो स्वार्थ अनुकूल कुटनीतिक सक्रियता बढाउँदै आएका छन् । विदेश शक्तिको स्वार्थमा नबहकी, अस्वस्थ प्रतिस्पर्धाबाट जोगिँदै राष्ट्रहित अनुकूल एजेन्डाहरु आत्मसात गरी अघि बढ्नु पर्ने र त्यसमा मुलुकको कुटनीति सञ्चालनको विकल्प नभएको परराष्ट्र मामिलाका जानकारहरुको तर्क छ ।
नेतृत्वले कुटनीतिक मर्यादालाई कुल्चिएर आप्mनो स्वार्थ अनुसार कुटनीतिक गतिविधि र सक्रियता देखाउँदा हल्लीखल्ली मच्चिने गरेको छ । त्यसो त कुटनीतिक सक्रियता र हल्लिखल्लीले देशको कुटनीति सुध्रिने विषय होइन । त्यसैले मुलुकको कुटनीतिक व्यवहारलाई बलियो बनाउन नेतृत्वले बेलैमा सचेत हुन जरुरी छ ।
प्रतिक्रिया