राजनीति

धोकेबाज प्रचण्डको दैलोमा देउवा, सेटिङ मिलाउने सिटौला, माधवको धम्की, दबाबमा ओली (भिडियोसहित)


काठमाडौँ— कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार राति भलाकुसारी भयो । सत्ता गठबन्धनमा उपनिर्वाचन र प्रदेशको भागबन्डामा सकस देखिएको बेला भएको उनीहरुको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

एकलेअर्कालाई धोकेबाज करार गर्दै पानी बाराबारको अवस्थामा रहेका कांग्रेस र माओवादीबीच मंगलबार मध्यरात बालुवाटारमा मन माझामाझ भयो । संसदमा काफिला लुटिएको कथा सुनाउने कांग्रेस र माओवादीका मुखिया एकै ठाउँमा मध्यरातमा भेटिए । राति १० बजे प्रचण्डलाई भेट्न देउवा प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । करिब एक घण्टा भएको छलफलमा टीआरसी विधेयकबारे छलफल भएको दाबी गरिए पनि महत्वपूर्ण समयमा भएको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ । त्यसक्रममा देउवाले आन्तरिक रुपमा गम्भीर छलफल नगरी गठबन्धन परिवर्तन गरेको भन्दै असन्तुष्ट पोखेका थिए । खासमा देउवा आफैँ प्रचण्डलाई भेट्न इच्छुक थिएनन् । तर कृष्णप्रसाद सिटौलासँग प्रचण्डको भेटपछि चाँजोपाजो मिलेको थियो । देउवाले हिजो धोकेबाज भनेका प्रचण्डको दैलो मध्यरातमा धाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । हिजो टीआरसीबारेको छलफलकै कारण ओली नजिकिएर सत्ता समीकरण बनेको नजिरका बीच समीकरण परिवर्तनकै कसरतका रुपमासमेत यसलाई हेरिएको छ ।

देउवा–प्रचण्डको भेटलाई अर्थपूर्ण मान्नु पर्ने अरु थुप्रै कारणहरु समेत छन् । पछिल्लो समय नयाँ गठबन्धनमा प्रदेश सरकारबारे भागबन्डा मिल्न सकिरहेको छैन । प्रधानमन्त्री प्रचण्डले पार्टीको पदाधिकारी बैठकमै पाँच पटकसम्म छलफल हुँदासमेत भागबन्डा नमिलेको ब्रिफिङ गरेका थिए । त्यसमाथि केन्द्रमा प्रचण्डसँग असन्तुष्ट रहेका जनार्दन शर्माले कर्णालीमा आफ्नो पक्षका मुख्यमन्त्री नबनाइए बहुमत सांसद लिएर विद्रोह गर्न सक्ने चुनौतीसम्मै दिइरहेका छन् । यसबाहेक उपनिर्वाचनको कलहलेसमेत प्रचण्ड–देउवाको मिलनलाई समीकरण परिवर्तनकै नजरले हेर्न सकिने अर्को तथ्य हो । उपनिर्वाचनमा सत्ता गठबन्धनका सबै दलले उम्मेदवार उठाउँदैछन् । यो समीकरण बन्नुपूर्व नै राष्ट्रिय सभाको अध्यक्ष माओवादीले लिने र उपाध्यक्ष तथा इलाम–२ को उपनिर्वाचनमा एमालेलाई सघाउनेसम्मकै सहमति भएको दाबी गरिएको थियो । तर गठबन्धनमा असन्तुष्टिको बाछिटा चैत १२ गतेको बालुवाटार बैठकमै देखिइसकेको छ । एमालेले इलाममा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेपछि एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल आफूहरुसँग छलफल नभएको र बझाङमा नछाड्ने भन्दै कड्किएका थिए । त्यसक्रममा ओलीले पूर्वसहमति अनुसार नै साझा उम्मेदवारका रुपमा सुहाङलाई उठाएको र ब्याक हुने अवस्था नरहेको बताएका थिए । एमालेले अहिलेको गठबन्धनलाई न्यूनतम साझा कार्यक्रम केन्द्रित रहेको र निर्वाचन तथा बामपन्थी एकतामा कुनै प्रभाव नपार्ने बताउँदै आएको छ ।

इलामको उपनिर्वाचनमा साथ दिन एमालेले माओवादीलाई अनुरोध गर्दा प्रचण्डले वचन दिएकोसम्मका विषयसमेत बाहिरिएका छन् । तर ओलीलाई तर्साउनकै लागि माओवादीले दुबै क्षेत्रमा आफ्नै उम्मेदवार उठाउने निर्णयसमेत गरेको छ । यसले पार्टीहरुका दोहोरो चरित्रले गठबन्धनमा दरारका संकेत देखाइरहेका छन् । त्यसमाथि अभियानमा केही गर्नुपर्ने रवि लामिछानेको दबाब, ओलीको दबाबभन्दा कांग्रेससँगकै सहकार्य सरल रहेको निचोडमा प्रचण्ड पनि पुगेको विश्लेषकहरु दाबी गर्छन् ।

त्रिशंकु संसदको अस्थीर अंकगणित, सरकारमा तेस्रो दलको नेतृत्व हुनुले समेत सत्ताका लागि जतिबेला जस्तो समीकरण पनि बन्नसक्छ । त्यसमाथि पछिल्लो समय भारत र अमेरिकाका राजदूतको समानान्तर दौडलाई समेत सामान्य रुपमा लिन सकिँदैन । १५ महिनामा तीनपटक समीकरण फेरेका प्रचण्ड अहिले पनि पाँचै वर्ष सत्ता टिकाउने रणनीतिका साथ अघि बढिरहेका बेला ओली तर्साउनकै लागि यस्ता भेटघाट भएका हुनसक्छ । प्रचण्डको चौथो हनिमून फेरि कांग्रेससँगै नहोला भन्न पनि सकिँदैन ।