राजनीति

मनलाग्दी बोल्ने नेता, न तथ्य न तर्क, ओली–प्रचण्डदेखि गगन–रविसम्मै, होच्याउने प्रतिस्पर्धा (भिडियोसहित)


काठमाडौँ— देशमा व्यथिति, भ्रष्टाचार र अनियमितता मौलाइरहेको बेला त्यसलाई निर्मूल गर्न वैचारिक बहस गर्नुपर्ने नेताहरू गाली राजनीतिमा उत्रिएका छन् । नेताहरू जति आरोप–प्रत्यारोप गर्छन्, स्वार्थ मिलेपछि नजिकिन पनि पछि पर्दैनन् । तर, जनजीविका, विकास र समृद्धिको एजेण्डामा कहिल्यै घनिभूति बहस गर्दैनन् । विकास र परिवर्तनको लागि भन्दै अमूल्य मत दिएर पठाएका नेताहरू तल्लो स्तरमा उत्रेर गालीगलोजमा केन्द्रित हुँदा जनता भने निराश छन् । सत्ता र स्वार्थ केन्द्रित आरोप–प्रत्यारोपको राजनीतिक श्रृंखला जारी छ ।

विचार, विकास र परिवर्तनको बहस गर्नुपर्ने नेताहरू काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तै एकले एकअर्कामा आरोप–प्रत्यारोप र गालीगलौज गर्नमै व्यस्त छन् । परिवर्तनका सम्वाहक भन्ने नेताहरू बैचारिक बहस कम र गालीगलौज बढी गर्न थालेका छन् । एकले अर्कालाई ओठेजवाफ फर्काउन पनि उनीहरु हिचकिच्याउदैनन् । केही दिनअघि सदनमा कांग्रेस महामन्त्री विश्व प्रकाश शर्माले नयाँ सत्ता समीकरण बनेसँगै एमाले अध्यक्ष केपी ओलीको गालीउद्योग बन्द भएको बताएका थिए । ओली के कम, शर्मालाई झटारो दिइहाले ।

राजनीतिक दलका नेताहरूबीच एकअर्कालाई गाली गर्ने र आरोप लगाउने प्रतिस्पर्धा नै चलेको छ । देशका लागि नभइ व्यक्ति राजनीतिको असर जनमानससम्म देखिन्छ । आरोप–प्रत्यारोपको राजनीतिले देशको मूल मुद्दा नै अझेलमा पर्दै आएको छ । देशका समस्या समाधान गर्नका लागि बहस, छलफल हुनुपर्नेमा को सत्तामा पुग्ने र कसलाई प्रतिपक्षमा धकेल्ने भन्नेमै नेपालको राजनीतिक घुमिरहेको छ । राजनीतिक दलहरूले अघि सार्ने एजेन्डा केबल चुनावी घोषणापत्रमा मात्रै सीमित हुँदै आएको छ । परिणमस्वरुप देश विकृति, विसंगति र भ्रष्टाचारले थलिदै आएको छ । जसले बढी गाली गर्न सक्छ, उही नेता बन्ने गलत भाश्य विकास हुँदैछ । पुरानादेखि नयाँ दलहरूसम्म यही मनोविज्ञानले काम गरेको छ ।

नेताहरू कहाँ गएर कहिले के बोलें ? र त्यसले कसलाई के असर पा¥यो भन्नेसमेत हेक्का राख्दैनन् । नयाँ सत्ता समीकरण फेरबदलसँगै रवि लामिछाने र गगन थापाबीच सबैभन्दा बढी जुहारी चलेको छ । आफ्ना हुँदा चाटाचाट अर्काको भएपछि काटाकाट भन्ने उक्तिलाई प्रमाणित गर्ने गरी एकले अर्कालाई दोषारोपण लगाइरहेको छन् । सायद नेपालको पानी नै यस्तै हो कि, नेताको बानी परिवर्तन गर्छु भन्ने नाममा स्टन्ट र एकले अर्कालाई गाली गर्नु नै राजनीतिक संस्कारको रूपमा विकास भइरहेका छन् । भोलिका लागि ठाउँ नै नराखी नेताहरू प्रस्तुत भइरहेका छन् ।

देशमा व्यथिति भ्रष्टाचार र अनियमितता मौलाइरहेको बेला त्यसलाई निर्मूल गर्न वैचारिक बहस गर्नुपर्ने नेताहरू सबै कुरा चटक्क बिर्सेर गाली राजनीतिमा उत्रिएका छन् । यो देशकै लागि दुर्भाग्य हो । नेताहरू जति आरोप–प्रत्यारोप गर्छन्, स्वार्थ मिलेपछि नजिकिन पनि पछि पर्दैनन् । तर, जनजीविका, विकास र समृद्धिको एजेण्डामा कहिल्यै घनिभूति बहस गर्दैनन् । विकास र परिवर्तनको लागि भन्दै अमूल्य मत दिएर पठाएका नेताहरू तल्लो स्तरमा उत्रेर गालीगलोजमा केन्द्रित हुँदा जनता निराश छन् । सत्ता र स्वार्थ केन्द्रित आरोप–प्रत्यारोपको राजनीतिले जनआक्रोश बढ्दो छ ।