Breaking

एमालेमा ‘बा’को हैरानी, ओलीविरुद्ध बोल्ने कुनै नेताको आँट छैन, राजतन्त्रकै शैलीमा ओलीको राज (भिडियोसहित)


काठमाडौँ— हुन त नेकपा एमाले भन्नु नै अध्यक्ष केपी शर्मा ओली भइसकेको छ । ओलीले जे बोल्छन् त्यही नै एमालेको लाइन हुन्छ । ओली जता हिँड्छन् त्यो एमालेको पथ बन्छ । त्यसैले नै लगातार दुई कार्यकाल पार्टीको नेतृत्व गरिरहेका ओलीको मनोमानी पार्टी भित्र बढ्दै गएको छ ।

एमाले भनेकै ओली र ओली भनेकै एमाले भएको छवि स्थापित गराएका केपी शर्मा ओली नै पार्टीका सर्वेसर्वा हुन् । नेतादेखि उम्मेदवार, मन्त्री छात्रेसम्म नै पार्टीभित्र ओलीकै मनोमानी चल्ने गरेको छ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा एमालेबाट उम्मेदवार बनेका सुहाङ नेम्वाङ त्यसका पछिल्लो उदाहरण हुन् । अहिले उपनिर्वाचनमा एमालेको सचिवालय बैठकले सुहाङलाई नै इलामको उम्मेदावर बनाउने निर्णय गरेसँगै एमालेले गरेको निर्णयलाई सङ्गठित सङ्गठनको संरचनादेखि पार्टीको आन्तरिक लोकतन्त्रसम्ममा टिकाटिप्पणी हुन थालेको छ ।

गणतन्त्रमा वंशकै आधारमा राजाको छोरा राजा हुन सक्दैन भत्रे एमालेले इलाममा भने वंशकै भरमा सुवास नेम्वाङका छोरा सुहाङलाई राजकुमारको दर्जामा उभ्याएको छ । इलाममा दशकौंदेखि सूर्य अङ्कित पार्टीको झण्डा बोकेर दौडिनेहरूलाई छोडेर सुहाङलाई टिकट दिएको एमालेले ती सबै निष्ठावान् नेता कार्यकर्तामाथि अन्याय गरेको छ । सचिवालय स्तरबाट नै निर्णय गरेको भए पनि ओलीको हात सुहाङको काँधमा पर्दा टिकट पाएको भत्रे पुष्टि गर्न कठिन छैन । तर, ओलीको खिलाफ एक शब्द पनि उच्चारण गर्न असमर्थ नेताहरू एमालेमा ओलीको मनोमानीमा चल्ने नभएर विधान र नीतिमा चल्ने भन्दै आर्दशका कुरा गर्छन् ।

ओलीको मनमौजी इलाममा मात्रै देखिएको पनि होइन । ओलीले यसअघि पनि आफ्नो मनोमानी देखाउँदै आइरहेका छन् । कृष्णगोपाल श्रेष्ठ, योगेश भट्टराई, गोकर्ण विष्ट पृथ्वीसुब्बा गुरूङजस्ता नेताहरू एमालेको प्रतिनिधित्व गर्दै संसद्ममा छन् । तर, पहिलो पटक सदन प्रवेश गरेका महेश बर्ताैला र सुनीता बराललाई ओलीले प्रमुख सचेतक र सचेतक बनाएका छन् । त्यस्तै, पार्टीकै नाम बद्नाम हुने गरी ओलीले सर्वेन्द्र खनाललाई दुई दुई पटक चुनाव लड्न टिकट दिए । आमनिर्वाचनमा काठमाडौं ६ बाट हारेका खनाललाई तनहुँको उपनिर्वाचनमा पनि दोहो¥याएर टिकट दिँदा पार्टीले लज्जास्पद हार नै व्योहोर्न बाध्य भयो । ओलीको यही हठले यस पटक पनि असन्तुष्टिको माहोल बढ्ने निश्चित छ । जसको परिणाम चुनावमा देखिने विश्लेषण भइरहेको छ ।

एमालेमा ओलीको निर्णयलाई लालमोहर लगाउने बाहेक अन्य विकल्प पनि देखिँदैन । किन भने, ओलीको विरुद्ध जो जान्छन्, तिनले एमालेबाट आफ्नो राजनीतिक भविष्य कै हात धुनु पर्ने खतरा मोल्नु पर्ने हुन्छ । ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाएका घनश्याम भुसाललाई पार्टीमा बस्ने वातावरण नै नहुँदा उनी चुनावको मुखैमा नेकपा एकीकृत समाजवादीमा शरण लिनु पर्ने अवस्थामा पुगेका थिए । त्यस्तै अर्का नेता डा. भीम रावलले पनि महाधिवेशनमा ओली विरुद्ध चुनाव लड्दाको परिणाम भोगिरहेका छन् । उनी एमाले नेता त कहलिन्छन्, तर पार्टी भित्र र बाहिर दुवैतिर निष्क्रिय छन् । आफूलाई ‘बा’ ब्राण्ड बनाएका ओलीकै कारण पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभ्यास भने मर्दै गएको टिप्पणी हुने गरेको छ ।