Breaking

सुहाङलाई ओली–प्रचण्डकै साथ, माओवादी छोडेका मिलन घण्टीका उम्मेदवार,कांग्रेसका ७ लबिङमा काठमाडौं (भिडियोसहित)


काठमाडौँ— उपनिर्वाचनको उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले तोकेकोसमयसीमा यहीँ चैत २४ गतेभित्र दलहरुले उम्मेदवार टुंग्याइसक्नुपर्ने चटारो छ । यता केही स्वतन्त्र उम्मेदवार भने इलाम २ का मतदातासामु पुगिसकेका छन् । एमालेले उम्मेदवार टुंग्याइसके पनि कांग्रेस, रास्वपालगायतभने उम्मेदवारको टुंगो लगाउने अन्तिम कसरत लागेका छन् ।
आगामी बैशाख १५ गते इलाम २ मा प्रतिनिधिसभा र बझाङ क मा प्रदेशसभाका लागि उपनिर्वाचन हुँदैछ । त्यसका लागि आफ्नो उम्मेदवार छनोट गर्नेदेखि राजनीतिक दललाई चलायमान बनाउन दलहरु व्यस्त देखिन्छन् । एमालेले आफ्ना लोकप्रिय नेता स्वर्गीय सुवास नेम्वाङको निर्वाचन क्षेत्रमा उनकै छोरा सुहाङलाई उम्मेदवार तोकिसकेपछि गठबन्धन र कांग्रेस भित्रसमेत उपनिर्वाचनको उम्मेदवार छनोटको सरगर्मी बढेको छ ।

रास्वपाले सुहाङ नेम्वाङलाई भित्र्याउने सपना असफल भइसकेपछि तनहुँकै मोडलमा कांग्रेसका प्रभावशाली नेतासमेतलाई उम्मेदवार बन्न प्रस्ताव राखेको थियो । त्यसो त स्वर्णिम वाग्लेले राखेको प्रस्ताव कांग्रेसले अस्वीकार गरेपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसमेतलाई प्रस्ताव राखेको चर्चाका बीच ६ महिनाअघि माओवादी छोडेका, केहीदिनअघिमात्रै स्वतन्त्र उम्मेदवारी घोषणा गरेर पहिचानवादी पृष्ठभूमिका मिलन लिम्बुलाई उम्मेदवार घोषणा गर्ने लगभग निश्चित छ । यही १७ गते पार्टी सभापति रवि लामिछानेसहित पार्टीको केन्द्रीय समिति बैठक नै इलाममा बसी लिम्बुलाई उम्मेदवार घोषणा गर्ने करिब निश्चित भएको हो । पार्टी सभापति लामिछानेले नै सत्तामा पार्टी रहेका कारण हार्ने होइन कि आफूले गरेको कामकै कारण जित्ने दाबी गरेका छन् ।


आफूलाई इलामको अकबरे उम्मेदवारको संज्ञा दिने इलामकै रैथाने लिम्बु पत्रकारितामा पनि रवि सँगसँगै थिए । तर एमालेले पाँचपटक जित निकालेको र आफ्नो विरासत जोगाउने रणनीतिका साथ गठबन्धनकै साझा उम्मेदवार बनाउने बाटोमा ओली देखिन्छन् । नयाँ समीकरण पूर्व नै राष्ट्रिय सभा अध्यक्ष माओवादीलाई र इलाम एमालेको भाग परेका कारण प्रचण्डको पनि सुहाङलाई साथ रहने लगभग पक्का छ । तर माओवादी कोशी प्रदेश समितिले इलाम २ मा हुने उपनिर्वाचनका लागि ४ जनाको नाम सिफारिस गरेको छ । यद्यपि, गठबन्धनमा माधव नेपाल र झलनाथ खनाल भने ओलीको यो निर्णयबाट असन्तुष्ट बन्दै उम्मेदवार घोषणा गर्ने तयारीमा छन् । एमालेले एकीकृत समाजवादीलाई बझाङ क छोड्नेबारे गठबन्धनभित्र छलफल जारी छ । सुवास नेम्वाङको बलियो विरासत र युवा उम्मेदवार भएकै कारण आफूले चुनाव जित्ने एमालेको दाबी छ ।

यता गएको निर्वाचनमा ११४ मतले हारेको नेपाली कांग्रेस हारको बद्ला लिने मनसायमा छ । क्षेत्रदेखि जिल्ला प्रदेश हुँदै सात जना कांग्रेस नेता टिकटका लागि अहिले केन्द्रको लबिङमा छन् । यद्यपि केहीदिनभित्र संसदीय बोर्डले टिकट दिनुपूर्व महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री भिष्मराज आङदाम्बे इलामको स्थलगत अध्ययनमा छन् । माओवादीको समर्थनमा जित निकाल्न नसकेको गएको निर्वाचनको बद्ला लिन कांग्रेस एकढिक्का हुनुपर्ने र केन्द्रले जित्ने उम्मेदवारलाई टिकट दिनुपर्ने उम्मेदवार सिफारिसमा पहिलो नम्बरमा परेका भेषराज आचार्यको तर्क छ ।
कोशीमा पहिचानवादीको आन्दोलन मत्थर हुन नपाउँदै २० दलले निर्वाचन आयोगमा दल दर्ता गरी इलामको निर्वाचनमा होमिएका छन् भने पहिचानवादीसमेत पहिचानकै मुद्दा सदनमा छिराउने दाउमा देखिन्छन् । तर राजनीतिक विश्लेषक भने कांग्रेस र एमालेबीच नै प्रमुख प्रतिस्पर्धा हुने आकलन गरिरहेका छन् ।निर्वाचन आउन झण्डै एक महिना बाँकी छ । यो निर्वाचनको मतपरिणामले संसदीय अंकगणितमा ठूलो भूमिका नखेलेपनि राजनीतिक समीकरणदेखि मिसन चौरासीको रटान लगाएका दलहरुको मिनी मत सर्वेक्षणका रुपमासमेत यो निर्वाचनलाई हेर्दा यसको महत्व ह्वात्तै बढेको छ ।