Breaking

ओलीले सुहाङ च्यापेपछि ‘काउन्टर’ दिँदै माधव, झलनाथको धम्की, समीकरण फुटाउन खेल खेल्दै कांग्रेस


काठमाडौँ – चैत २४ गते भित्र उपनिर्वाचनको उम्मेदवार टुंग्याइ सक्नु पर्ने निर्वाचन आयोगको तालिकासँगै उपनिर्वाचनको सरगर्मी बढेर गएको छ । ठूला दलहरु उम्मेदवार छान्न आन्तरिक गृकार्यमा छन् भने पाचौं पटकसम्म विजय हासिल गर्न सफल भएको एमालेले आइतबार मात्रै उम्मेदवार टुंग्याएको छ ।

गठबन्धनभित्रको आन्तरिक छलफलबिनै नेकपा एमालेको सचिवालय बैठकले स्व.सुवास नेम्वाङका पुत्र सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । स्वयम् अध्यक्ष केपी शर्मा ओलीले युवा पंक्तिले आश गरेकै कारण उम्मेदवार बनाएको र उनी सफल हुने दाबी गरेपछि अहिले गठबन्धनभित्रका कम्युनिस्ट घटकहरुले नै चुनौतीको रुपममा लिएका छन् । यता कम्युनिस्ट मिलाएर उम्मेदवारी दिने दाउमा रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले नै आफू उम्मेद्वार नबन्ने तर पार्टीले उम्मेदवार उठाउने दाबी मात्रै गरेनन् कि एमालेले सरसल्लाह बिनै उम्मेदवार तोकेर हार्न चाहेको प्रतिक्रिया दिनसमेत भ्याए । एमालेसँग एकताको छलफल चलाएका झलनाथ पछि हटे पनि एकीकृत समाजवादीले एमालेलाई नै काउन्टर दिने गरी आफ्नो उम्मेदवार इलाममा उठाउने दाबी गरेको छ ।
इलामको उपनिर्वाचनमा मुख नखोलेको गठबन्धनको नेतृत्व गरेको माओवादी कम्युनिस्टको मोर्चा बनाएर चुनाव लड्ने मनस्थितिमा थियो । तर ओलीले एकलौटी उम्मेद्वारी घोषणा गरेपछि अब समाजवादी मोर्चाको तर्फबाट उम्मेदवार घोषणा गरेर एक्लै चुनाव लड्ने वा नलड्ने भन्ने दोधारमा छ । कांग्रेसले महासमितिको बैठकबाटै कम्युनिस्टसँग चुनावी सहकार्य नगर्ने एजेण्डा तय गरेपछि समीकरण फेरेका प्रचण्ड इलाममा एकल कम्युनिस्ट उम्मेदवार बनाउन नसक्ने अवस्थामा पुगेका छन् । उपनिवार्चनमा एकल उम्मेदवार बनाउने प्रचण्ड, माधवको प्रयास भने सफल हुन सकेन । सोमबार बिहान बालुवाटारमा प्रचण्ड, ओली र नेपालबीच भेटवार्ता भएको थियो । उक्त भेटमा ओलीले उपनिर्वाचनमा पार्टीले उम्मेदवारको टुंगो लगाइसकेको अवस्थामा साझा उम्मेदवारमा सहमति गर्न नसक्ने जवाफ दिएका थिए । उनले पार्टीले निर्णय गरिसकेको अवस्थामा उपनिवार्चन एक्लाएक्लै लड्नु पर्ने अवस्था रहेको सुनाएका थिए ।
यता, सत्ता गठबन्धनभित्रैको रास्वपाले सुहाङलाई भित्र्याउने सपना ओलीकै कारण तुहिएपछि अहिले उम्मेदवारको खोजीमा छ । यद्दपि, रास्वपा एक्लै चुनाव लड्ने पक्षमा रहेको कुरामा गठबन्धन जानकार छ । पार्टी सत्तामा गएपछि केन्द्रीय नेताहरुको चासो घट्दा स्थानीय पहिचानवादी व्यक्तिको खोजीमा रास्वपा रहेको छ । विगतका निवार्चनमा पनि चर्चित अनुहारकै खोजीमा रहेको रास्वापाले डा. बाबुराम भट्टराईलाई उम्मेदवार बनाउने चर्चा चलिरहेको छ । भट्टराईलाई उम्मेदवार बनाउने विषयमा उच्च नेतृत्व तहमा छलफल चलेको बताइए पनि रास्वपा र स्वयम् भट्टराईले यसबारे कुनै धारणा सार्वजनिक गरेका छैनन् । यता कम्युनिस्ट मिल्दा सत्ता गुमाएको कांगेसले इलामको उपनिर्वाचनबाटै कम्युनिस्टसँग चुनावी सहकार्य गर्ने कि एक्लै भिड्ने भन्ने एजेण्डा पनि यही निर्वाचनबाट टुंग्याउने भएको छ । यद्दपि, ७ आकांक्षीमध्ये एकलाई उम्मेदवार बनाउने र एकलै चुनाव लड्ने कांग्रेस नेताहरुको भनाइ छ ।

उपनिर्वाचनमा कांग्रेसले एक्लै चुनाव लड्ने निष्कर्ष निकाले पनि झलनाथ खनाल नै पछि हटेपछि कम्युनिस्ट समीकरण फुटाउने कांग्रेसको अस्त्र भने तत्कालका लागि सम्भव देखिँदैन । तर कम्युनिस्ट एकताका साथ ८४ को लक्ष्यमा हिँडेका ओली, प्रचण्ड उपनिर्वाचनबाटै टाढिने त होइनन् भन्नेसम्मको आशंका सिर्जना भएको छ । सदनको अंकगणितमा सत्ताको खेलमा एक सिटले त्यति फरक नपारे पनि उपनिर्वाचनले दलहरुको निकटता र समीकरणको संकेत गर्ने विश्लेषकहरु तर्क गर्छन् ।

विभिन स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा रहे पनि ठूला दलले उम्मेदवार नटुंग्याएसम्म उपनिर्वाचनमा कस्तो प्रतिष्पर्धा होला भन्ने चासो बढेको छ । यद्यपि, एमालेको गढ भत्काउन कांग्रेसलाई मात्रै होइन समाजवादी मोर्चालाईसमेत त्यति सहज छैन । राजाका छोरा राजा हुने व्यवस्था गएर गणतन्त्र आइसक्दा पनि सुवास नेम्वाङका छोरा सुहाङलाई टिकट दिएको भन्दै पार्टीभित्रै बढेको आलोचना चिर्नदेखि जनताको विश्वास जित्नुपर्ने बँध्यतामा एमाले छ ।।