Breaking

प्रचण्डको सत्ता सकस, ओलीले कांग्रेस रोज्ने रविले सत्ता छोड्ने डर, आफ्नै मन्त्रीको हुटहुटी बाधक


काठमाडौँ – पुरानो लौरोले काम गर्न छोडेको महसुस गरेर नयाँ लौरोको साहारा लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नयाँ लौरोले झन् सास्ती दिने देखिएको छ । आफू टिक्नकै लागि मात्रै एमालेसँग समीकरण नगरेको बताउने प्रधानमन्त्री प्रचण्ड मन्त्री र सत्ता साझेदार सबैको चेपुवामा परेका छन् ।

नेपाली कांग्रेससँगको गठबन्धनमा काम गर्न सकिएन भन्दै नेकपा एमालेलगायतका दलसँग नयाँ समीकरण बनाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले झन्झन् चेपुवामा परेका छन् । प्रचण्डले समीकरण फेरेपछि आफ्नो सास्ती घट्ने अपेक्षा गरेका थिए । तर त्यसको ठिक विपरीत उनको सकस बढ्दै गएको छ । पहिले पनि विवादित मन्त्रीका कारण अवरोध खेपेको सरकार र सदनले अहिले पनि त्यही नियति भोगिरहेको छ । नयाँ समीकरणपछि सदन चलेको दिन सत्ता र प्रतिपक्षीको जुहारीमा नै व्यतित भएको थियो । अहिले त झन् समाभुख देवराज घिमिरे नै १० दिनका लागि विदेश उडेपछि सदन र सरकार दुवै चुस्त र दुरुस्त चलाउने प्रधानमन्त्रीको हुटहुटीमा ब्रेक लागेको छ । सोमबार मात्र प्रधानमन्त्री आफैँ अध्यक्ष रहने संवैधानिक परिषद्को बैठक स्थगित हुन पुग्यो ।
नयाँ आएका मन्त्रीहरूले पनि उनले चाहेको जस्तो सन्देश दिन सकेका छैनन् । उपप्रधान तथा स्वास्थ्यमन्त्री बनेका उपेन्द्र यादव मन्त्रीको कुर्सीमै रमाउँदा उनी मतहतका सरकारी अस्पतालको हालत झन् बिग्रदो छ । बाग्लुङ्गदेखि उपचारका लागि आएका शिकिस्त बिरामी सात वर्षीया बालिकालाई कान्तीबाल अस्पतालले भर्ना लिन अस्वीकार गर्दा मृत्यु वरण गर्नु पर्ने अवस्था आयो भने, देशकै जेठो वीर अस्पतालमा तत्काल शल्यक्रिया गर्नु पर्ने बिरामी वर्ष दिन कुर्न बाध्य छन् । दोहो¥याएर अर्थमन्त्री बनेका वर्षमान पुनले अर्थतन्त्रमा के उल्लेख्य काम गरे ? अध्ययन नै गर्दा पनि खास्सै उनको उलपब्धि भेटिँदैन । सबैले आश गरेकी शिक्षामन्त्री सुमना श्रेष्ठबाट पनि त्यस्तो उल्लेख कामको संकेत मिलेको छैन । श्रम, लगायत पर्यटन, खानेपानी, कृषि मन्त्रीहरू कता के गर्दैछन् अत्तोपत्तो छैन । पहिले खेलकुद मन्त्रालय गुमनाम हुन्थ्यो भने, अहिले अन्य मन्त्रालयहरु गुमनाम भएका छन् । प्रचण्डको सबैभन्दा बढी प्राथमिकतामा परेको टीआरसी विधेयकलाई एमालेबाट कानुनमन्त्री बनेका पदम गिरीले पास गर्ने तदारुकता देखाएका छैनन् । बरु अस्थिरताले विधेयक नै पास हुन नसकेको टिप्पणी भइरहेको छ । लगाम नलगाएका घोडा जस्ता भएका मन्त्रीहरूले जहाँ जे मन लाग्यो त्यही बोल्दै हिँड्दा प्रचण्डलाई सकस देखिन्छ ।

सुन प्रकरणमा आफ्नै पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्रेर उपलब्धि हासिल गरेको ठाने पनि त्यसपछिको घटनाक्रमले मुख नै छोप्नु पर्ने अवस्थामा उनलाई पु¥याएको छ । प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री रवि लामिछानेको बचाउमा सदन, सडक र सार्वजनिक मञ्चमा बोल्नु पर्दा उनकै पार्टीका नेताहरू भने रास्वपाकै कारण यो समीकरण ढल्न सक्ने जस्ता अभिव्यक्ति दिँदै हिँडेका छन् । जसले प्रचण्डलाई पार्टीभित्रैबाट पनि अप्ठ्यारोको सामना गर्न परिरहेको छ । तर, प्रधानमन्त्री भएको १५ महिना हुँदै गर्दा तीन पटकसम्म समीकरण फेरिसकेका प्रचण्डलाई सफल बनाउने हो भने मिलेर जानुको विकल्प नभएको पार्टीका नेताहरू नै बताउँछन् ।

प्रदेशको भागबण्डामा सत्तारुढ गठबन्धनभित्र बखेडा निस्किदा पनि प्रचण्ड सकसमा छन् । केन्द्रको समीकरण फेरिएको २१ दिन पूरा हुँदा पनि प्रदेशको मुख्यमन्त्रीहरू फेर्न सकेका छैनन् । सात वटै प्रदेशमा उही पुरानै समीकरणबाट बनेका मुख्यमन्त्री नै कायम छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीकै भरोसामा देउवालाई लात हानेका प्रचण्डलाई सबैभन्दा ठूलो साथ एमालेबाट नै हुनु पर्ने हो । तर, ओलीको गतिविधिबाट प्रचण्ड सशङ्कित छन् । यो समीकरणको सूत्रधार ओली नै भए पनि समाजवादी मोर्चा र उपनिर्वाचनसम्म नै प्रचण्डलाई एक्लै छोडेर हिँडेपछि उनी थप सकसमा रहेको बुझ्न कठिन छैन ।

तीन वर्षसम्म शेरबहादुर देउवासँग गहिरो प्रेममा परेका प्रचण्डले ‘धोकेबाज’ को उपमा पाएरै भए पनि ओलीलाई अपनाएका थिए । तर, प्रचण्डको हुटहुटीमा कोही खडा हुन नसक्दा उनलाई नयाँ समीकरणमा पनि दबाव महुसस भएको छ । प्रचण्डको समस्याको हल ओली नै हुन् । तर, उनले ओलीबाट पनि आशातित सहयोग किन पाउन सकिरहेका छैनन्, यसले झनै शंका उब्जाएको छ ।