Breaking

प्रचण्डको कम्युनिस्ट मोर्चामा ओलीको इग्नोर, सत्ता समीकरण, एकतामा प्रश्न, बाबुराम मोर्चाबाट आउट


काठमाडौँ – नेकपा एमालेले समाजवादी मोर्चामा सहभागी हुन अस्वीकार गरेको छ । नयाँ सत्ता समीकरण बनेपछि एमालेलाई समाजवादी मोर्चामा सहभागी गराउन भएको सबै कसरत असफल भएको हो ।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि सिंहदरबारबाट बाहिरिँदै गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्रकारहरुले सोधेका थिए, एमाले समाजवादी मोर्चामा सहभागी हुने हो ? ओलीको सिधा जवाफ थियो– हैन । ओलीको यो प्रतिक्रियापछि एमाले समाजवादी मोर्चामा सहभागी नहुने स्पष्ट भएको छ । माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एक इसारामा दोस्रो पटक सत्तामा प्रचण्डलाई साथ दिएको एमालेले समाजवादी मोर्चामा सहभागी हुन प्रचण्डले नै गरेको प्रस्ताव अस्वीकार गरेको छ । सत्ताको काँध फेर्ना साथ समाजवादी मोर्चामा नेकपा एमालेलाई सामेल गराउन भएको सबै कसरत असफल भएको छ । समाजवादी मोर्चाका संयोजक तथा नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ कहिले बालकोट त कहिले बालुवाटार धाए पनि विप्लवको दौडधूप निरर्थक बनेको छ । समाजवादी मोर्चाले एमालेलाई सहभागी गराउने निर्णय नै गर्दै ओली फकाउने जिम्म प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई दिइएको थियो । तर ओलीले प्रचण्डको प्रस्ताव ठाडो अस्वीकार गरेका छन् । सत्तारुढ दल एमाले सहभागी नभए पनि समाजवादी मोर्चा कायम रहने माओवादी नेताहरुको दाबी छ ।

तत्कालीन सत्ता समीकरणमा कांग्रेसलाई तर्साउन र प्रमुख प्रतिपक्ष एमालेसँग मुकाबिला गर्नकै लागि समाजवादी मोर्चा गठन भएको थियो । तर अहिले प्रचण्डले सत्ताको काँध फेरेपछि कांग्रेस प्रतिपक्ष कित्तामा पुगेको छ भने एमाले सत्ता साझेदार छ । समाजवादी मोर्चा निर्माणका सुत्रधार डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री प्रचण्डले एकाएक सत्ता समीकरण फेरेपछि बिच्किएका छन् । समाजवादी मोर्चाको बलमा वाम शक्तिहरु एक ठाउँमा उभिने र अहिले बनेको नयाँ समीकरणको आधारमा नेपालका कम्युनिस्ट शक्तिहरु एक ढिक्का हुने नेताहरुको दाबी थियो । साथै सत्ता समीकरण मात्र होइन ८४ मा चुनावी समीकरणसम्मको समेत बहस चलिरहेको छ । कुनै मोर्चा वा समूहमा सहभागी हुने नहुने भन्दा पनि वामपन्थी दलहरु एक ढिक्का हुनुपर्नेमा भने नेताहरु सकारात्मक छन् ।

गत असार ४ गते चार राजनीतिक दल मिलेर समाजवादी मोर्चाको घोषणा गरेका थिए । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका शीर्ष नेताहरुले मोर्चा घोषणा गरेका हुन् । नेपाली मौलिकता सहितको समाजवाद स्थापना गर्ने र नेपालको संविधान रक्षा, कार्यान्वयन र विकास गर्ने, विभेदरहित समाज स्थापना गर्ने लक्ष्यसहित मोर्चा गठन गरिएको थियो । वाम ध्रुवीकरण गर्दै देशमा एउटै कम्युनिस्ट पार्टी बनाउने सवालमा कम्युनिस्ट नेताहरु सकारात्मक भए पनि सत्ता र शक्तिको होडबाजीमा कम्युनिस्ट नेताहरु आ–आफ्नो पसल खोल्दै आएका छन् । सत्ता स्वार्थ मिले जुट्ने, स्वार्थ बाझिन साथ छुट्टै दोकान खोल्ने प्रवृत्तिको अवशेष बाँकी नै रहेकाले तत्काल कम्यनिस्ट पार्टीहरु एक ढिक्का हुने अवस्था भने न्यून छ ।