Breaking

अन्ततः छुटे महरा, बयानले सीआईबीकै मन जित्यो, सुनका ६० ओरोपित खोज्दै प्रहरी, को कहाँ छन् ?


काठमाडौँ-विद्युतीय चुरोटमार्फत् सुन तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानीमा रिहा भएका छन् । महराको बयान सकिएको र स्वास्थ्य अवस्था पनि खराब भएका कारण उनलाई खोजेको बखत उपस्थित हुने गरी रिहा गरिएको हो ।

पाँच दिन अघि कपिलवस्तुबाट केन्द्रीय अनुशन्धान ब्यूरो (सीआईबी)को फन्दामा परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा रिहा भएका छन् । अवैध सुन पैठारीको आरोपमा पक्राउ गरेका पूर्वसभामुख महराको स्वास्थ्यमा समस्या देखिएपछि सरकारी वकिलसँगको सहमतिमा सीआईबीले हाजिरी जमानीमा छाडेको हो । २०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले सात सय ३० थान इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनमा महरा संलग्न भएको आशंकमा सीआईबीका अनुसन्धान अधिकृतहरूले अनुसन्धान गरिरहेका थिए । यसबीचमा महरालाई अदालतले उनको स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै हिरासतमा नराखी अस्पतालमा राख्न आदेश दिएको थियो । त्यसै अनुसार उनी थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए । पाँच दिन नियन्त्रणमा राख्दा सीआईबीले महरासँग बुधबार र बिहीबार दुई दिन अस्पतालबाटै ल्याएर बयान लिएको थियो भने दुई दिन अस्पतालमै राखेको थियो । न्यायाधीशले पनि अस्पतालमा राख्न आदेश दिएको र स्वस्थ्य समस्याबारे अस्पतालको कागजातका साथै महराको बयान पनि सकिएको आधारमा उनलाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय भएको हो ।

महराको बयानमा सुन तस्करीका आरोपीलाई फोन गरेको बाहेक अरु ठोस प्रमाण नभेटिएको पनि खुल्न आएको छ । यसअघिकै अभियोगमा उल्लेख भएको टेलिफोनको कनेक्सनबाहेक सीआईबीले पनि अन्य प्रमाण जुटाउन सकेको छैन । यसअघि सुन प्रकरणमा नै उनैका छोरा राहुल महरालाई पक्राउ गरेर हिरासतमा राख्दा पनि महरालाई कागज गराएर छाडिएको थियो । तर तस्करीको सुन छुटाउन दबाब दिएका महरालाई प्रतिवादी नबनाएको भन्दै जाँचबुझ आयोगले महरालाई पनि प्रतिवादी बनाउन सिफारिस गरेको थियो । आयोगको प्रतिवेदनमा १० तथ्यसहित महरालाई मुद्दा चलाउन सिफारिस गरिएको थियो । त्योभन्दा पूर्व अनुशन्धानको क्रममा हिरासतमा रहेर मुद्दा खेपिरहेका आरोपीले नै महराको नाम बयानमा किटान गरेपछि उनी उपर पुनः सीआईबीले अनुशन्धान गरेको हो ।

फौजदारी कार्यविधि संहिता–२०७४ को दफा १५ अनुसार कसुरको गाम्भिर्यता हेरेर अनुसन्धान अधिकृतले हाजिर जमानी, धरौटी वा तारेखमा राख्न सक्ने व्यवस्था छ । महरा राम्रोसित बोल्न र हिँड्न सकिरहेका छैनन् भने उनले ८ किसिमको औषधि नियमित सेवन गरिरहेको पाइएको छ । महरा टीबीदेखि मस्तिष्कको नशासम्मको समस्याले ग्रस्त छन् । त्यसैका आधारमा उनलाई खोजेको बखत उपस्थित हुने गरी छोरा निर्मलको जिम्मामा रिहा गरिएको हो । अब अनुसन्धान पूरा भएपछि महराविरुद्ध पूरक अभियोग अदालतमा दायर हुनेछ । यता महरा पक्रेर अनुसन्धान गरी प्रतिवेदन कार्यान्वनको सन्देश दिएको सरकारले अन्य पाँच जना आरोपीलाई भने पक्राउ गर्न सकेको छैन । साथै अर्कोतर्फ जाँचबुझ आयोगले सुन प्रकरणमा अनुसन्धानका लागि सिफारिस गरेका ६० भन्दा बढी आरोपित उपरसमेत अनुशन्धान प्रक्रिया अगाडि बढाउनु पर्नेछ । तर यसप्रति सरकारले अहिले चासो दिएको देखिँदैन । आवश्यक अनुसन्धान र कारबाही हुने अपेक्षा गर्न सकिएला, तर आशंका र प्रश्न भने सरकारमाथि नै तेर्सिरहेको छ ।