Breaking

रवि शक्तिशाली बन्दा प्रचण्ड कमजोर, सुन काण्डले माओवादी फुट्ने डर, महरा थुन्दा प्रचण्डमाथि प्रश्न


काठमाडौँ – दसवर्षे सशस्त्र द्वन्द्वको राप र तापमा २०६४ को संविधानसभा निर्वाचनबाट पहिलो पार्टी बनेको माओवादी केन्द्र त्यसयता निरन्तर ओरालो लागिरहेको छ । ०६४ मा प्रत्यक्षतर्फ १२० सिट जितेको माओवादीले गत निर्वाचनमा २० सिट पनि जित्न सकेन । युद्धकालका सहयात्रीहरूले समेत माओवादी अध्यक्ष प्रचण्डको साथ धमाधम छाडिरहेका छन् । संगठनात्मक रुपमा मात्रै होइन, राजनीतिक र नैतिक रुपमा पनि प्रचण्ड कमजोर बन्दै गएका छन् ।

सर्वहारा जनताको मुक्ति र परिवर्तनको लागि भन्दै जनयुद्ध लडेका माओवादी सुप्रिमो पुष्पकमल दाहाल प्रचण्ड शान्ति प्रक्रियामा आएपछि पहिलो निर्वाचनबाटै प्रधानमन्त्री बने । पहिलो संविधान सभामा प्रत्यक्षतर्फ १२० सिट ल्याएर माओवादीले सबैलाई चकित बनाइदियो । तर, माओवादीको भनाइ र काम गराईमा तादम्यता मिलेन । परिवर्तनको आशा गरेका जनता निराश भए । त्यसयता माओवादी हरेक निर्वाचनमा खुम्चिदै आएको छ । गत निर्वाचनमा माओवादीले प्रत्यक्षतर्फ २० सिट पनि जित्न सकेन । केले चाउरिस मरिच आफ्नै रागले भनेजस्तै माओवादी आफ्नै कारण खिइदै गएको छ । प्रचण्डको अस्थिर स्वभावले माओवादी विघटनकै छेउमा पुगेको छ । यद्यपि, उनी आफुलाई अग्रगामीको संज्ञा दिँदै नमरुन्जेल देशमा उथलपुथल भइरहने दाबी गर्छन ।

विगतमा कठिन युद्धमा साथ दिएका मोहन बैद्य, डा. बाबुराम भट्टराई, सीपी गजुरेल, नेत्रविक्रम चन्द्र विप्लव लगायतले प्रचण्डको साथ छाडेको धेरै भइसक्यो । बाबुराजस्तो बौद्धिक र बैद्यजस्तो इमान्दार र विप्लवजस्तो क्रान्तिकारी नेताले साथ छाड्दा प्रचण्डलाई धक्का पुग्ने नै भयो । त्यो भन्दा पनि ठूलो कुरो, प्रचण्डको अस्थिरता नै हो । त्यही कारण रामबहादुर थापा बादल, लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझीहरूले पनि प्रचण्डलाई छाडेर एमाले रोजे । पूर्वमाओवादी एक गराउने प्रचण्डको रणनीति पनि असफल साबित भएको छ । पुराना सहयात्रीहरूले साथ छाडिरहेको बेला सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरा पक्राउ परेपछि प्रचण्ड तनाबमा छन् । माओवादी नेताहरूले महरालाई निलम्बन गर्नुपर्ने माग गरिरहँदा प्रचण्ड भने पर्ख र हेरको नीतिमा छन् ।

लहरो तान्दा पहरो थर्किने डर प्रचण्डलाई छ । माओवादी नेताहरू नन्दबहादुर पुन, वर्षमान पुन, जनार्दन शर्माहरू पनि विभिन्न काण्डमा मुछिएका छन् । केही वर्षअघि महराले आफु भुरा माछा भएको बताएका थिए । त्यसो भए ठूलो माछा को त भन्ने प्रश्न प्रचण्डतिरै सोझिएको छ । भ्रष्ट नेताहरूलाई राजनीतिक संरक्षण हुँदा युवा नेताहरूमा भने छटपटी बढेको छ ।

तेस्रो पटक प्रधानमन्त्रीको कार्यभार सम्हाल्दै गर्दा देशमा सुशासन स्थापना गर्ने र जनजीवन परिवर्तन गर्ने अठोट लिएका प्रचण्ड कुहिरोमा हराएको कागजस्तै बनेका छन् । कांग्रेस र एमालेलाई उपयोग गरेर प्रधानमन्त्री पद जोगाउनुबाहेक प्रचण्डले जनचाहनाअनुसार काम गर्न सकेका छैनन् । यही कारण आगामी निर्वाचनमा गठबन्धन नगरी माओवादीले जित्ने आधारसमेत देखेको छैन । कांग्रेसले आगामी निर्वाचनमा गठबन्धन नगर्ने नीति लिएकै कारण प्रचण्डले एमालेसँग हात अघि बढाएका हुन् । प्रचण्डको अस्थिर स्वभावका कारण एमालेसँग पनि कति टिक्छन भन्ने टुंगो छैन । प्रचण्ड संगठनात्मक रुपमा मात्रै होइन, राजनीतिक र नैतिक रुपमा पनि कमजोर बन्दै गएका छन् ।