Breaking

ओलीले सुहाङ च्याप्दा झलनाथ सकसमा, उम्मेदवार खोज्दै रवि, कांग्रेस गुटमा भिड्दै, पहिचानवादी भोट माग्दै


काठमाडौँ – आगामी बैशाख १५ गते इलाम–२ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुुँदैछ । सुवास नेम्वाङको निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचन नजिकिँदै गर्दा दलहरु उम्मेदवार छान्ने तयारीमा लाग्दा स्वतन्त्र उम्मेदवार भने घरदैलो अभियानमै लागिसकेका छन् । उपनिर्वाचनका लागि कसको तयारी कस्तो छ ?

उम्मेदवारी दर्ताको समय नजिकिएसँगै इलाम–२ मा चुनावी सरगर्मी बढ्न थालेको छ । सबैजसो दलहरुले आफ्नो प्रतिष्ठाको विषय बनाएको यो क्षेत्रमा उम्मेदवार छनोट प्रक्रियामा दलहरु अघि बढेका छन् । यसपटक २० दल उपनिर्वाचनमा सहभागी हुँदैछन् । लगातार जितेको क्षेत्र भएका कारण एमालेका लागि यो निर्वाचन प्रतिष्ठाको विषय बनेको छ । स्वर्गीय सुवास नेम्वाङको विरासत धान्ने उम्मेदवारको खोजीमा एमाले लागेको छ । प्रदेश कमिटीले ६ जनाको नाम सिफारिस गर्दा सुहाङ नेम्वाङको बलियो सम्भावना छ । सुहाङ उनै सुवास नेम्वाङका छोरा हुन् । सुहाङसँगै बुद्धि खनाल, रवीन्द्र सुवेदी, नरेन्द्रनाथ भट्टराई, डा. देवी क्षेत्री दुलाल र रिपल राईको नाम सिफारिसमा परेको छ । तर एमाले विरासतको लडाईंमा रहँदा उसलाई पहिचानवादीदेखि सबै क्षेत्रबाट सन्तुलन मिलाउनुपर्ने बाध्यता छ । रास्वपा जानबाट रोक्न एमालेले सुहाङलाई पार्टीको कानुन विभागको सदस्य बनाउनु, पहिचानवादको मुद्दाले चुनावमा प्रभाव पर्ने बुझेर सुहाङ नै बलियो दाबेदार हुनु र केन्द्रीय नेतृत्वसँग पटक–पटकको प्रत्यक्ष संवादले समेत उनी नै निर्विकल्प उम्मेदवार भएको देखिन्छ । त्यसमाथि झलनाथ खनाल पनि कम्युनिस्टहरुको साझा उम्मेदवार बन्दै सूर्य चिह्नबाटै चुनाव लड्ने मूडमा छन् । अहिलेको समीकरण फेर्दा नै वचन पाइसकेकाले टिकटका लागि उनी अहिले ओलीको निर्णय पर्खिरहेका छन् ।

तर सुहाङको सम्भावना जति बलियो बन्छ, झलनाथको सम्भावना त्यति नै कमजोर बन्दै जानेछ । यद्यपि, सुहाङ र खनालमध्ये कसलाई अगाडि बढाउन भन्नेमा एमाले अध्यक्ष केपी शर्मा ओली द्विविधामा रहेका छन् । एमाले छाडेर एकीकृत समाजवादी बनाएका खनाललाई बोक्ने वा नबोक्ने भन्नेमा पार्टीभित्र औपचारिक छलफलसमेत हुन सकेको छैन । यस्तै, नेपाली कांग्रेस पनि उम्मेदवार छान्ने प्रक्रियामा गएको छ । गत निर्वाचनमा एमालेसँग ११४ मतले मात्र पराजित भएको कांग्रेसमा यसपटक सात जना आकांक्षी देखिएका छन् । वरीयताक्रम अनुुसार गत निर्वाचनमा हारेका डम्बर खड्का दोस्रो स्थानमा छन् । पहिलो विकल्पमा शेखर पक्षका भेषराज आचार्य छन् । त्यसबाहेक केशव थापा, नरेन्द्र कुमार, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम सिफारिस भएको छ । यी नाम क्षेत्रीय समितिले सिफारिस गरेको हो । अब जिल्ला र प्रदेशले केन्द्रलाई सिफारिस गर्ने भएकाले डम्बर खड्का पहिलो स्थानमा पर्नेमा दुई मत छैन । खड्कालाई यसअघि नै केन्द्रीय सभापति शेरबहादुर देउवाले टिकट दिने वचन दिएर पठाइसकेकाले उनकै सम्भावना उच्च छ ।
यसबाहेक राष्ट्रिय स्वतन्त्र पार्टी पनि आफ्नो लोकप्रियता जाँच्न इलाम–२ लाई सदुपयोग गर्न चाहन्छ । नयाँ पार्टीकै लहडमा गत निर्वाचनमा १ हजार ३६३ मत पाएको रास्वपाले यसपटक पनि उम्मेदवार उठाउँदैछ । सुरुमा रमेश प्रसार्ईं र अनिल केशरी शाहको चर्चा रहे पनि स्थलगत रुपमै अध्ययन गरेको रास्वपाले पहिचानवादी पक्षधर उम्मेदवार उठाउनु पर्ने निष्कर्ष पछि गृहकार्यमा जुटिरहेको छ ।

यसबाहेक दर्जन बढी स्वतन्त्र उम्मेदवारहरु चुनावी तयारीमा जुटेका छन् । पहिचान पक्षधरका तर्फबाट डकेन्द्रसिंह थेगिम लिम्बू साझा उम्मेदवार बनेका छन् । कोशी प्रदेश नामकरणसँगै पहिचानवादीले थालेको आन्दोलनको नेतृत्व गर्दै आएका उनी किराँत धर्म गुरु आत्मानन्द लिङदेनका विश्वास पात्र पनि मानिन्छन् ।

यसबाहेक पत्रकारसमेत रहेका मिलन लिम्बूले पनि उम्मेदवारी घोषणा गरेका छन् । यस्तै यो क्षेत्रमा राप्रपा, जसपा लगायतका दलहरुले पनि उम्मेदवार उठाएका छन् । यो क्षेत्रमा जित निकाल्नका लागि ३० हजार मत आफ्नो पक्षमा पार्न संघर्ष गर्नुपर्ने देखिन्छ । गत निर्वाचनमा ११४ मतले पराजित भएको कांग्रेस यसपटक एक्लै होमिँदैछ । महासमिति बैठकमै एक्लै निर्वाचनमा होमिएर चुनाव जित्ने दाबी गर्ने कांग्रेसका लागि इलाम अग्नि परीक्षा हुुने छ । एमालेको पकड क्षेत्र भए पनि उसलाई पहिचानको मुद्दाले घाटा लाग्न सक्छ । पहिचानविरोधी भएको ट्याग एमालेमाथि लागेका बेला त्यो मत पहिचानवादी उम्मेदवारले काद्दा त्यसको फाइदा कांग्रेसलाई पुग्ने देखिन्छ । सप्तरीको तिलाठी कोइलाडीमा पहिचानवादीको आन्दोलनमा एमालेका कारण झडप भएपछि एमालेलाई मधेश विरोधी ट्याग लाग्दा मधेशमा क्षति व्यहोर्नुपरेको थियो । त्यही घटना इलाममा पनि दोहोरिने सम्भावना छ । त्यसमाथि किरात धर्मगुरु आत्मनन्द लिङदेनको मत पनि निर्णायक मानिन्छ । विगतमा जातीय र धार्मिक आस्था जोडिएको मत सुवास नेम्वाङले आफ्नो पक्षमा पार्ने गरेको आरोप लाग्ने गरेको थियो । तर यसपटक धर्मगुरु लिङदेनको समर्थन पहिचान पक्षधरलाई रहने देखिँदा त्यो मत पनि निर्णायक ठहर्ने विश्लेषण भइरहेको छ ।