काठमाडौँ – जनताका तमाम मुद्दा बाँकी नै रहँदा ‘के निहुँ पाउँ, कनिका बुकाउँ’ भएको कांग्रेसलाई गृहमन्त्री रवि लामिछानेको राजीनामा एजेण्डा मिलेको छ । सबै एकातर्फ लागि परेर कांग्रेस नेताहरु रविमाथि खनिदा संसदको सबैभन्दा महत्वपूर्ण विषय नै अहिले यही भए झै लाग्छ । जसले रवि भर्सेस कांग्रेसलाई आरोपप्रत्यारोपको आधार तय गर्दा कांग्रेसले के प्रमाणित गर्न चाहन्छ ? सबैको चासोको छ ।
यो दोहोरीमा देखिएका व्यक्ति हुन् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक । यहाँ प्रचण्ड उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी काण्डमा कुनै गल्ती नगरेको कुरामा अडिग रहँदा लेखकले प्रमाण नै प्रमाण देखाइरहेका छन् । रविलाई जोगाउन उनले गल्ती नगरेको भन्दै साक्षी बसेका प्रचण्ड त्यो प्रमाणित भए आफूले नै जिम्मेवारी लिने गरी प्रस्तुत भएका छन् । अझ उनीविरुद्धको छानबिन कांग्रेसहितको सरकार हुँदा नै गरेको प्रचण्डले बताँउदा कांग्रेस विगतमा आफूले नैतिकता नै लजाउने गरेर गरेको कुर्तत बिर्सिरहेको छ । अर्थात संसदको ठूलो पार्टी नेपाली कांग्रेस सत्ताविहीनताले तिलमिलाउँदा उसको मुख्य एजेण्डा नै रवि लामिछानेको राजीनामा बनेको छ । यही मागका लागि कांग्रेसले आफ्ना सबै सांसद उतार्दा रवि नै सहकारी ठग भएको भाष्य निर्माणमा उनीहरु लागेका छन् ।
जब कि प्रचण्ड रवि मै अडिएको आफ्नो सत्ताको वास्तविकताकै कारण उनीमाथि प्रहार आफैँमाथिको मानिरहेका छन् । यी दुई पार्टीको यो रस्साकस्सीले कुनै एक पार्टी गलत भाष्य निर्माणमा लागि परेको प्रष्ट छ । हुन त अहिले कांग्रेस रविलाई निसाना बनाएर प्रचण्ड गलाउने रणनीतिमा छ । यद्यपि, स्वार्थ बाझिने र प्रश्न उठेको व्यक्ति मन्त्री हुनुले प्रचण्डले भनेको सुशासनलाई लज्जित बनाएको कांग्रेसको दाबी सोह्रै आना ठिक छ । तर यो आफ्ना लागिसमेत घातक भएको बुझेका एमाले अध्यक्ष केपी शर्मा ओलीले रविलाई कैलालीको सार्वजनिक कार्यक्रमदेखि काठमाडौंको संसदसम्मै बोकिरहेका छन् । हिजो कांग्रेसका मन्त्रीमाथि प्रश्न उठाउने ओलीले त्यही प्रकृतिका रवि बोक्न अहिले गरेको तछाडमछाडसमेत रोचक देखिँदा उनीहरुको कदम आकाशतिर फर्केर थुके जस्तै बनिरहेको छ ।
यता प्रचण्ड ओली नै कांग्रेसले यो मुद्दा धेरै दिन बोक्न नसक्नेमा प्रष्ट छन् । फलतः आफ्नो गल्ती देख्ने भन्दा कांग्रेस पनि कति खराब हो भन्ने देखाउन उनीहरु लागि पर्दा कांग्रेस गल्दै गएको संकेत देखा परेका छन् । यसैको उदाहरण सुरुमा महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र प्रमुख सचेतक रमेश लेखक जस्ता नेताहरु संसदको रोष्ट्रमदेखि सार्वजनिक कार्यक्रमका मन्चहरुमासमेत रविविरुद्ध खनिएका थिए । उनीहरु एक हप्तामा साइड लाग्दा विकल्पमा अहिले अनुहार नै नचिनिएका कांग्रेसका सांसदहरु मुखर सुनिन थालेका छन् । जहाँ कांग्रेसको माग पनि राजीनामाबाट संसदीय छानबिन समितिमा झरेको छ । जुन बुझेका उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले कांग्रेसले आफूमाथि परेको सामान्य उजुरीमा संसदीय छानबिन र राजीनामा माग्नु बेठिक भएको बताएका छन् । आफ्ना विषयमा कांग्रेसले अनावश्यक विवाद झिकेको आरोप लगाएका उनले यही मुद्दामा टिकिरहन कांग्रेसलाई चुनौती दिए । विभिन्न फायल खोलेर आफूमाथि परेको बुझेका उनी एक त लोकतान्त्रिक पार्टीको ट्याग र अर्कातर्फ संसदीय अभ्यासको पुराना दलको नातालेसमेत संसदलाई प्रभावकारी रुपमा अवरुद्ध गर्न कांग्रेस सफल नहुने उनको बुझाई देखिन्छ ।
कानुनी राजको दृष्टिले हेर्ने हो भने हिजो अनियमिततामा नाम जोडिएका मन्त्री राख्ने कांग्रेस पनि सही देखिँदैन । त्यस्तै नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल नै गएका बालकृष्ण खाँणलाई पार्टीबाट निलम्बनसमेत नगर्ने उसको कदम खेदजनक छ, भने आज रविमाथि उठेको प्रश्न पनि नाजायज होइन । हिजो सञ्चारकर्मी हुँदा बेथितिविरुद्ध घाँटीका नशा चुटिउन्जेल कराउने रवि र त्यसमाथि विकल्प भनिएका उनीमाथि प्रश्न उठ्नु स्वभाविक हो । तर आफूले गर्दा उत्तम र अरुले गर्दा खत्तम मान्ने उनीहरुको दोहोरो चरित्रका कारण एकले अर्कालाई उठाएका प्रश्नमाथि नै नागरिकले प्रश्न गरिरहेका छन् । दुवै पक्षले उसले गर्दा मैले किन गर्न नपाउने भन्ने प्रतिस्पर्धामा उत्रिएर राजनीतिक लाभ लिँदा कानुनी राज र सुशासन भन्ने नाराको धज्जी उडाइएको छ । आम नागरिक भने हाम्रै मामाले जित्छन् भन्दै आ–आफैँमा भिड्दा राजनीतिक पार्टीहरु भने ‘कालेकाले मिलेर खाउ भाले’मा रमाइरहेका छन् ।
प्रतिक्रिया