Breaking

देश बनाउँछु भन्ने नेता नै अपराधी र तस्कर, आलमदेखि महरा हुँदै रविसम्मै प्रश्न, शक्तिले कतिन्जेल जोगिने ?


काठमाडौँ – देशमा राजनीतिक परिवर्तन भए पनि जनताको जीवनस्तरमा सुधार आउन सकेको छैन । तर, जनताको लागि भन्दै राजनीति गरेकाहरूको जीवनमा भने उल्लेख्य परिवर्तन आएको छ । सत्ताको मातले नेताहरू बदनाम भइरहेका छन् । कुनै काण्डमा नफसेको नेता भेट्न मुस्किल छ ।

जनताको नाममा नेपालमा पटक पटक राजनीतिक परिवर्तन भएको छ । सडकदेखि जंगलबाट समेत सत्तामा पुगेका छन् । जनताका लागि ज्यानकै बाजी थालेको दाबी गर्नेहरू अहिले व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुबेका छन् । अनेक काण्डमा फसेका छन् । यतिसम्म बदनाम भएको छ कि नाम लिँदासमेत मुख कुल्ला गर्नुपर्ने अवस्था छ । माओवादी नेताहरूका गुरु कृष्णबहादुर महरा सुन तस्करी काण्डमा पक्राउ परेका छन् । माओवादीमा उनी तेस्रो वरियताका नेता हुन् । महरा मात्रै होइन, माओवादीका अन्य नेताहरू पनि विभिन्न काण्डमा जोडिएका छन् । माओवादी नेतासमेत रहेका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनको त सचिवालय नै सुन तस्करी काण्डमा मुछियो । पुनका छोरा दीपेश पक्राउ परिसकेका छन् । हिजा चप्पल पड्काएर हिड्नेहरू सत्ताको स्वादसँगै आज आलिशान महलमा विराजमान छन् । विगतमा जनतासँग गरेका प्रतिवद्धता केबल व्यक्तिगत स्वार्थ पूर्तिका लागि मात्रै थियो भन्ने यी घटनाले देखाउछ ।

माओवादी मात्रै होइन, एमाले र कांग्रेसका नेताहरू पनि बदनाम छन् । एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी नक्कली भु्टानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमै छन् । यही प्रकरणमा कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण मुद्दा खेपिरहेका छन् । पूर्वमन्त्रीसमेत रहेका कांग्रेस नेताहरू मोहन बस्नेत र ज्ञानेन्द्र कार्की टेरामक्स प्रकरणमा मुछिएका छन् । उद्योगीसमेत रहेका विनोद चौधरी पनि विवादमा मुछिएका छन् । जिउँदो मान्छेलाई इट्टा भट्टामा हाल्ने पनि यही व्यवस्थामा देखिए । यो भन्दा विकृत अवस्था के हुन सक्छ ? नैतिकता र आदर्श कहाँ हरायो ? जसकारण भ्रष्टाचार र व्यथितिले देश थिलथिलो भइरहेको छ ।

राजनीतिले अनेक आरोह–अवरोह र घुम्तीहरू पार गरेको छ । जनयुद्ध र जनआन्दोलनका नाममा धेरैले ज्यान गुमाए । कति अंगभंग भए । कतिपय अझै बेपत्ता छन् । तर, ती महान योद्धाहरूको योगदानलाई नेताहरूले स्वार्थ सिद्ध गर्ने हतियार बनाए । पूर्वप्रधानमन्त्रीहरूसमेत कुनै न कुनै प्रकरणमा मुछिएका छन् । त्यसैको उपज देश आजको अवस्थामा छ । जहाँ अपराधको राजनीतिकरण र राजनीतिको अपराधिकरण भइरहेको छ ।

कुनै काण्डमा नफसेको नेता भेट्न मुस्किल छ । अर्थमन्त्री वर्षमान पुनको नाम समेत सुन तस्करी काण्डमा जोडिएको छ । निष्पक्ष छानबिन नभएर मात्रै धेरै नेताले काण्डमा मुछिनबाट जोगिएका छन् । पुराना नेता मात्रै होइन, वैकल्पिक राजनीतिको दाबी गर्नेहरू पनि विवादको भूमरीमा छन् । रास्वपा सभापति रवि लामिछाने सहकारी काण्डमा मुछिएका छन् ।

माकुराको जालोझैं फैलिरहेको भ्रष्टाचारको जालोमा नेताहरू फस्दैछन् । विलासी जीवनशैलीले नेताहरू बदनाम भइरहेका छन् । चारित्रिक कमजोरी, आर्थिक घोटाला, विचौलियाहरूसँगको साँठगाँठ, विलासी जीवनशैलीका कारण नेताहरूमा सैद्धान्तिक विचलन आएको छ । सादा जीवन र जनताको सुख–दुःखमा साथ दिने कुरा इतिहास भइसकेको छ । परिवारवाद, नातावाद र कृपावादमा राजनीतिक फसेको छ । दलीय संरक्षणले भ्रष्टाचार मौलाएको छ ।