Breaking

धनवादले सकिँदै माओवादी, काण्डमा पदाधिकारीको प्रतिस्पर्धा, महरा पछि कोको छन् विवादमा ?


काठमाडौँ – नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा सुन काण्डमा पक्राउ परेपछि सरकारमाथि नैतिक प्रश्न उठेको छ । खासगरी माओवादी मातहत गृह मन्त्रालय हुँदा उनलाई जोगाइएको आरोप छ । माओवादीमा अवस्था यस्तोसम्म देखिन्छ कि निष्पक्ष अनुसन्धान भए ३० प्रतिशतभन्दा बढी पदाधिकारी नै दागी छन् ।
सक्किन लागेको माओवादी आफ्नो लय पक्रन सत्ताको सदुपयोग गर्ने रणनीतिमा थियो । तर आफ्नै नेता बैमान देखिएपछि कसको के लाग्यो र ? अहिले निष्पक्ष अनुसन्धान भए माओवादीका अधिकांश पदाधिकारी नै जेलको हावा खाने अवस्था बनेको छ ।

अहिले जुन काण्ड खोल्यो त्यही काण्डमा माओवादीको क्रान्तिकारी रुप पतित भइसकेको दृश्य छर्लङ्ग देखिन थालेको छ । सुशासनको नारा पिटेर पार्टीको मुहार फेर्नेदेखि काँध फेर्दै सत्ताको आयू लम्ब्याउने मनशायमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै जुन फाइल खोल्दा पनि आफ्नै नेताको अनुहार देख्दा नैतिकताको कसीमा उभिएका छन् । काण्डै काण्डका नाइके ‘महरा सर’ उर्फ कृष्णबहादुर महरा पक्राउ परेपछि सत्ताको पछ्यौरीले बैमानीको इज्जत ढाकिएको प्रष्ट भएको छ ।

गृह मन्त्रालयमा रवि लामिछानेको पुनरागमनपछि माओवादीको खोक्रो सुशासनको चरित्र नांगिएको छ । यदि यो देशमा माओवादी नेताहरुमाथि मात्रै पनि निष्पक्ष छानबिन गर्ने हो भने करिब ४० प्रतिशत पदाधिकारी कुनै न कुनै प्रकरणमा जोडिएका छन् ।

माओवादीका नेताहरुमाथि जति पनि दाग लागेको छ । त्यसको भागिदार प्रचण्ड हुन् । उनी प्रत्यक्ष संलग्न नभए पनि आफ्नो पार्टीको नेता भएकै कारण संरक्षण दिइरहेका छन् । सुन तस्करका श्रीमती छुटाउन भूमिका खेलेको तथा पछिल्लो समय सुन तस्करीमै जोडिएका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई सहकारी ठगीको आरोपमा मात्रै पक्राउ गरिएको छ ।

तत्कालीन गृहमन्त्री रहेका नारायणकाजी श्रेष्ठ व्यक्तिगत रुपमा दाग नलागेका व्यक्ति हुन् । तर मन्त्री बनेपछि तस्कर जोगाउन उनले खेलेको भूमिकालाई नजरअन्दाज गर्न मिल्दैन । यिनै नारायणकाजी श्रेष्ठ थिए जसले– सुन तस्करीमा प्रहरीले अनुसन्धान गर्छ छानबिन आयोग चाहिँदैन भनेका थिए । त्यसबेला एमालेले श्रेष्ठलाई नै सुन तस्करको आरोपसम्म लगाएको थियो । तर अनुसन्धान कमजोर बनाएको भन्दै सीआईबीमाथि नै प्रश्न उठेका बेला नेता जोगाउन नारायणकाजीको चलखेललाई छेउमा राख्न सकिँदैन । जुन हामीलाई भन्दा बढी तत्कालीन सीआईबी प्रमुख किरण बज्राचार्यलाई थाहा होला ।

भेपमार्फत ९ किलो सुन तस्करीको आरोपमा महरा अहिले प्रहरी हिरासतमा छन् । सुन तस्करी गर्न उनले चिनियाँ तस्करलाई सहजीकरणको काम गरिदिएका थिए । यसअघि पनि उनी बलात्कार आरोप, कौडीको भाउमा फ्रिक्वेन्सी वितरण, प्रधानमन्त्रीको निर्वाचनमा सांसद किन्नुपर्ने भएकाले चिनियाँसँग मागेको ५० करोडको टेप काण्ड, अकुत सम्पत्ति लगायतका दर्जनौँ प्रकरणमा मुछिएका पात्र हुन् ।

सापकोटामाथि काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप छ । यो मुद्दा अहिलेपनि सर्वोच्च अदालतमा विचाराधीन छ । तर, यसबीचमा उनी सभामुखदेखि उच्च पदमा पुगिसकेका छन् । मुद्दा विचाराधीन रहेकै बेला सापकोटा सञ्चारमन्त्रीसमेत बनेका थिए ।

गुरुङमाथि भूकम्प प्रभावितको राहतमा भ्रष्टाचार गरेको आरोप छ । भूकम्प प्रभावितका लागि चिनियाँ कम्युनिस्ट पार्टीले पठाएको राहतमा गुरुङले आफ्ना नातेदार मुक्ति मरासिनीसँग मिलेर भ्रष्टाचार गरेको आरोप उनकै पार्टीका नेता गोरखबहादुर केसीले लगाएका छन् । तर यसबारे छानबिन गर्न पार्टी नै तयार छैन ।

१४ किलो सुन तस्करीका मुख्य नाइके पुर्व उपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ १५ लाख धरौटीमा रिहा भएका छन् । अर्थ मन्त्रालय मातहतको भन्सार विभागमा रहेका उनलाई छुटाउन वर्षमान पुनले मुख्य भुमिका खेलेका थिए । पुनले गुरुङसँग हिरासतमै रहेका बेला ११ पटकसम्म टेलिफोन संवाद गरेका बिषय बाहिरिएका थिए ।उनलाई छुटाउनकै लागि पुन अर्थ मन्त्रालय गएको चर्चा समेत हुने गरेको छ । अन्ततः उनी तस्कर छुटाउन सफल भएका छन् । गुरुङमाथि सीआईबीले अनुसन्धान सक्नु अघि नै मुद्दा दर्ता गर्न चलखेलसमेत भएको थियो । ६० किलो सुन तस्करीका मुख्य नाइके दावा छिरिङको परिवारसम्मै साइनो जोडिएका विषय छन् । तर उनले भने आफू निर्दाेष रहेको दाबी गर्दै आएका छन् ।
शर्मा अहिलेपनि ‘तार काट्नो मुसो’को उपमा पाइरहेकै छन् । बजेट बनाउँदा करका दरमा ब्यापक हेरफेर गरेको दाग उनीमाथि छ । जसमा सत्तापक्ष र प्रतिपक्ष मिलेर समिति बनाएको निहुँमा उनलाई उन्मुक्ति दिएका थिए ।

यसबाहेक एनसेल प्रकरणमा छानविन समितिले तयार गरेको प्रतिवेदन अहिलेसम्म गुपचुप छ । त्यसमाथि तस्करीमै संलग्न नेताहरुसमेत आफ्नो हातमा पावर हुँदासम्म जोगाएर राखेकाहरु नै जेलको हावा खान थालेपछि माओवादीमाथि नैतिक दबाब बढेको छ । अर्कोतिर कुनै न कुनै प्रकरणमा मुछिएका नेताहरुमाथि निष्पक्ष अनुसन्धान भए पार्टीको भविश्यमै प्रश्नसमेत उठ्ने गरेको छ । त्यसमाथि हुटहुटी हुँदाहुँदै पनि काम गर्न नपाएको बताउने प्रचण्डले अहिले पनि आफ्नालाई भरसक जोगाइदिन प्रहरीलाई दिने गरेको निर्देशनले समेत सुखद् संकेत गर्दैन ।