Breaking

सुन तस्करको लहरो, नारायणकाजीदेखि प्रचण्डैसम्म, वडादेखि प्रहरीसम्मै सेटिङ, कसरी लाग्ला पार ?


काठमाडौँ – भ्रष्टाचारविरुद्धको मुद्दामा हात हाल्दै, छोड्दै हिँड्ने प्रचण्ड सरकारको प्रवृत्ति सुन काण्डमा भएको घटनाक्रमले भने छरपस्ट गरिदिएको छ । सुन काण्डमा महरालाई पक्राउ गरिसेकपछि तेर्सिएको सवालले माओवादीमाथि नै नैतिकताको नै प्रश्न उठेको छ ।

सुन काण्डमा पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई सोमबार सीआईबीले रुपन्देहीबाट पक्राउ ग¥यो । महराको पक्राउ र सुन काण्डबारे सत्य तथ्य पत्ता लगाउन गठन भएको छानविन आयोगले नेकपा माओवादी केन्द्रका ठूलै नेताको संलग्न भएको प्रतिवेदन पेस गरिसकेपछि यसले लहरो तान्दा पहरो गर्जिने सङ्केत पनि गरिरहेको छ । जसले गर्दा सुशासनको ढ्यांग्रो ठोग्दै तेस्रो पटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डलाई अहिले त्यही आफँैले चलाएको अभियान गलपासो बनिरहेको छ । महरामात्रै होइन, चिनियाँ सुन तस्करसँग संलग्नता देखिएको तर प्रहरी अनुसन्धानबाट उन्मुक्ति पाउँदै आएका सहकारीको बचत रकम हिनामिना तथा सुन तस्करी प्रकरणमा जोडिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पनि शुक्रबार मात्रै पक्राउ परेका थिए । यसअघि सरकार र गृहमन्त्रालय दुवैको नेतृत्व माओवादीले नै गरेको भएता पनि महरा र पुन पक्राउ पर्न सकेका थिएनन् । आफ्ना पार्टीका प्रभावशाली नेतामाथि अपराधमा संलग्न भएको आधारहरू प्राप्त हुँदा पनि प्रधानमन्त्री र तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठ मौन थिए । तर, गृहको नेतृत्वमा रवि लामिछाने आइसकेपछि धमाधम पक्राउ पर्नुले भने तत्कालीन गृहमन्त्री नारायणकाजीले अनुसन्धान कमजोर बनाएर उनीहरूलाई उन्मुक्ति दिएको पुष्टि गर्न कठिन छैन । यसले गर्दा अहिलेसम्म सत्ताकै आडमा महरा र पुनलाई बचाइएको आरोप लाग्ने गरेको छ ।

६१ किलो सुन प्रकरणमा माओवादीका उपमहासचिव तथा हालका अर्थमन्त्री वर्षमान पुन परिवारको कनेक्सनसमेत छरपस्टै छ । सुन तस्करीमा संलग्न दावा छिरिङलाई नेपाली ज्वाईं बनाउन रामचन्द्र अर्यालले काभ्रे्रे जिल्ला प्रशासनमा रहँदा सहयोग गरेका थिए । वर्षमानका भाइ प्रनेश पुनले तिनै तस्करी दावासँग मिलेर सुन गाल्ने कम्पनी खडा गरेका थिए । नन्दबहादुर पुन र वर्षमान पुनकी नातेदार बहिनी अमला रोका अध्यक्ष रहेको कम्पनीको शेयरधनी हालका अर्थमन्त्रीका भाइ प्रनिश पनि थिए । त्यस्तै ६१ किलो सुनको अहिलेसम्मकै मुख्य नाइके अमलाको श्रीमान् दावाको वर्षमानसँग बहिनी ज्वाईंको सम्बन्ध त छ नै नन्दबहादुर पुनकी जेठी बुहारी जुना मगरसँग पनि भाइटीका लगाएका दावाको दुवै पुनसँग भावनात्मक नाता पनि छ । जुनसुकै अपराधको अनुसन्धान राज्यको उच्च निकायकै इसारामा हुने हुँदा राजनीतिक मिलेमतोमा छल्ने प्रवृत्तिको विकास हुँदै गएको छ ।

अझ पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका जेठा छोरा जितेन्द्र पुनलाई त चीनबाट नेपाल सुन ल्याउनका लागि अनुमति पत्रकै व्यवस्था मिलाइएको थियो । किनभने रोल्पा राङसी स्थायी घर भए पनि जितेन्द्रले बुबाको शक्तिको प्रयोग गरेर जिल्ला प्रशासन कार्यालय सिमकोट हुम्लाबाट स्थायी बासिन्दा भएको भन्दै आफ्नै परिचय फेरेका थिए । नेपाल–चीन सीमा क्षेत्रका बासिन्दाका लागि दिइने प्रस्थान÷प्रवेश अनुमति पत्र उनलाई गृह प्रशासनले शक्तिकै आधारमा दिएको थियो । प्रहरी प्रधान कार्यालयबाट बनाएको क्यारेक्टर सर्टिफिकेटसमेत धितो राखेर उनले नाका हुँदै सुन भित्र्याउने गर्थे । पुनको साइनो सुनमा भएको तथ्य प्रमाणित भएको कोही कसैसँग नलुकेको अवस्थामा माओवादीका अधिकांश नेताहरू सुन तस्करीमा संलग्न छन् भन्ने शङ्का पनि थप बलियो भएको छ ।

यसरी हेर्दा प्रधानमन्त्री, गृहमन्त्री मात्रै होइन । उनीहरू मातहतका प्रहरी प्रमुख आईजीपी हुँदै केन्द्रीय अनुशन्धान ब्यूरो (सीआईबी) र जिल्लादेखि वडासम्मकै संलग्नतामा नेपालमा सुन तस्करी हुने गरेको तथ्य खुल्दै गएको छ । त्यसमा पनि देशको नेतृत्व गरिरहेको माओवादीले जतिसुकै सुशासनको हुंकार गरे पनि सुन काण्डले भने प्रश्न तेर्साइ रहेको छ ।