Breaking

सुन तस्करदेखि सहकारी ठग सदनमा, गगनलाई रास्वपाको जवाफ, गणतन्त्रवादी मुछिदा राजावादीमा उत्साह


काठमाडौँ – सुन तस्करी प्रकरणमा जोडिएकालाई धमाधम पक्राउ गरेपछि गृहमन्त्री रवि लामिछानेले यतिबेला वाहवाही पाइरहेका छन् । तर सहकारीको रकम घोटालामा भने आफँै मुछिएकाले उनी प्रतिपक्षको तारो मात्रै बनेका छैनन् यो विषयलाई सदनमा कांग्रेसले जोडतोडका साथ उठाइरहेको छ । सहकारी प्रकरणको अनुसन्धानमा तानिएका व्यक्ति नै स्वार्थ बाझिने जिम्मेवार पदमा रहेकाले अब यो प्रकरण कसरी अघि बढ्छ ? भन्ने जनजनको चासोकाबीच गृहमन्त्रीमाथि नै छानबिन अघि बढाउन कांग्रेसले दबाव मात्रै दिएको छैन प्रधामन्त्रीसँग जवाफसमेत माग गरेको छ ।

सुन तस्करी प्रकरणमा जोडिएका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरेपछि गृहमन्त्री रवि लामिछानेलाई धन्यवाद दिँदै मख्ख पारेका कांग्रेस सांसद गगन थापाले त्यसपछि संसद्मा उनीमाथि एकपछि अर्को प्रहार गर्दै प्रश्नको वर्षा गरे । विषेश गरी सहकारी प्रकरणमा जोडिएका व्यक्तिलाई कुन आधारमा गृहमन्त्री बनाइयो भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग जवाफ खोजिरहेको कांग्रेसले गृहमन्त्री लामिछानेलाई सदनमा बोल्नसमेत दिइरहेको छैन । सोमबार पनि सदनमा सांसद थापाले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेमाथि पनि छानबिन गर्नुपर्ने बताएका छन् । लामिछानेले आफूले पैसा लिएको छैन र आफू सहकारीको सदस्य होइन भनेको भरमा उन्मुक्ति पाए अर्बौं रुपैयाँ ठग्ने अरु व्यक्तिले पनि उन्मुक्ति पाउने सांसद थापाको तर्क छ ।

प्रधानमन्त्री प्रचण्डको धोकाले बिरत्तिएको कांग्रेसले नयाँ सत्ता समीकरण बनाउन भूमिका खेलेका लामिछानेमाथि सदनमा निरन्तर प्रहार गरिरहेको छ । कांग्रेसको प्रस्तावलाई बेवास्ता गर्दै माओवादी र एमालेसँग गडजोड गरिरहेका कारण पनि कांग्रेसलाई असैह्य भइरहेको छ । विशेषतः त्यसैको रोष पोखिरहेको कांग्रेसले सहकारी पीडितलाई न्याय दिलाउन नसके सरकारको औचित्य देखेको छैन् ।

यता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने कांग्रेसलाई सत्ता गुम्दाको छटपटीको रुपमा बुझेको छ । उसले कांग्रेसलाई सत्ताका लागि पानी बिनाको माछाझैँ तड्पिएको भन्दै गृहमन्त्रीको रुपमा लामिछालेलाई स्वीकार गर्ने आँट गर्न सुझाएको छ ।

सदनमा सत्ता र प्रतिपक्षबीचको जुहारी नियाली रहको राप्रपाले भने आफूबाहेक अन्य सबै राजनीतिक दलहरु जनताको अग्नि परीक्षामा असफल भएको दाबी गरेको छ । जनकपुर पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा जनताको भरोसा कुनै पनि राजनीतिक शक्तिमा नभएको भन्दै अन्य सबै राजनीतिक शक्तिहरु जनताको अग्नि परीक्षामा असफल भइसकेको प्रतिक्रिया दिए ।

यस्तै सदनमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बिमस्टेक बडापत्रमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)लाई संसद्बाट पारित गर्नुपर्ने कानुनी व्यवस्थाका आधारमा छलफलका लागि परराष्ट्रमन्त्री श्रेष्ठले प्रस्तुत गरेका थिए । परराष्ट्रमन्त्रीले राखेको प्रस्तावमाथिको छलफलका क्रममा सांसदहरूले भने सार्कको खोजी गरेका छन् ।

सदनमा सांसदहरुले सहकारी प्रकरणमा जोडिएका व्यक्तिमाथिको छानबिन अघि बढाउनदेखि परराष्ट्रमन्त्रीले राखेको प्रस्तावमा सार्कको खोजी गरेका हुन् । तर पछिल्लो समय दिनहुँ जसो प्रतिपक्षी कित्तामा पुगेको कांग्रेसले गृहमन्त्रीमाथि प्रश्न उठाउँदै संसद अवरोधसम्मकै रणनीति लिएपछि अन्य विषय भने छायामा परेका छन् । सहकारीको रकम घोटाला प्रकरणमा गृहमन्त्रीकै संलग्नतालाई लिएर कांग्रेसले बढाउँदै लगेको दबाबले कस्तो मोड लिन्छ, त्यो भने हेर्न बाँकी छ ।