अन्तर्राष्ट्रिय

भारतमा मोदी–राहुल महासंग्राम, क्षेत्रीय दल निर्णायक, केजरीवालको साथले रोकिएला मोदीको यात्रा ?


काठमाडौँ – भारतमा आगामी १९ अप्रिलदेखि १ जुनसम्म सात चरणमा लोकसभा निर्वाचन हुँदैछ । केन्द्रीय निर्वाचन आयोगले निर्वाचन मिति घोषणा गरेसँगै यतिबेला नेताहरुको दौडधुप पनि तीव्र गतिमा चलिरहेको छ । १८औँ लोकसभाको निर्वाचनले नरेन्द्र मोदीको सत्ता गुम्ने हो या उनले ह्याट्रिक गर्ने हुन् ? यो भने जुनको पहिलो हप्ता स्पष्ट हुनेछ ।
भारतमा आगामी १९ अप्रिलदेखि १ जुनसम्म सात चरणमा निर्वाचन हुँदै छ । भारतमा करिब ९६ करोड ८० लाख योग्य मतदाता छन् । भारतको निर्वाचन विश्वकै सबैभन्दा ठूलो हुनेछ । मत सर्वेक्षणले कीर्तिमानी तेस्रो कार्यकाल सत्तामा पुग्ने योजनामा रहेका नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) र यसका सहयोगीले जित सुनिश्चित रहेको भविष्यवाणी गरिसकेका छन् । कंग्रेससहित दुई दर्जनभन्दा बढी विपक्षी दलहरूले यस चुनावमा भाजपालाई चुनौती दिन भारतीय नेसनल डेभलपमेन्ट इन्क्लुसिभ अलायन्स (आईएनडीआईए) भनिने गठबन्धन बनाएका छन् ।

भारतको तल्लो सदनमा ५४३ निर्वाचित सदस्य रहने व्यवस्था छ । कुनै पनि दल वा गठबन्धनलाई सरकार बनाउन न्यूनतम २७२ सांसद चाहिन्छन् । मोदीको नेतृत्वमा रहेको भाजपाले सन् २०१९ को चुनावमा ५४३ सिटमध्ये ३०३ सिट जितेको थियो । यो वर्ष पार्टीले कम्तीमा ३७० सिट जित्ने लक्ष्य राखेको छ । १७औँ लोकसभाको कार्यकाल सन् २०२४ जुन १६ मा सकिने भएकाले त्यसअघि नै निर्वाचन गराइसक्नु पर्ने संवैधानिक प्रावधान छ । एनडीए र भारत गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने चुनावमा भारतीय जनता पार्टी, कंग्रेस, कम्युनिस्ट पार्टी (माक्र्सवादी) सिपिएम, बहुजन समाज पार्टी, नेसनल पिपुल्स पार्टी (भारतको उत्तरपूर्वी क्षेत्रमा पिए संगमाले राष्ट्रिय पार्टीको हैसित हासिल गर्ने उत्तरपूर्वी राज्य केन्द्रित पहिलो पार्टी हो) र आम आदमी पार्टी गरी ६ वटा राष्ट्रिय हैसियत प्राप्त दल चुनावी मैदानमा छन् ।

त्यसबाहेक थुप्रै क्षेत्रीय दलले पनि आफ्ना उम्मदवार उतार्दैछन् । तर, मुख्य रुपमा चुनावी प्रतिस्पर्धा भने नरेन्द्र मोदी नेतृत्वको नेसनल डेमोक्रेटिक एलायन्स (एनडीए) र कंग्रेस नेतृत्वको ‘इन्डिया’ गठबन्धनबीच हुनेछ । यसअघि १७औँ लोकसभाका लागि सन् २०१९ अप्रिल ११ देखि मे १९ बीच सात चरणमा निर्वाचन भएको थियो । त्यस निर्वाचनमा तीनवटा ठूला राज्य उत्तर प्रदेश, पश्चिम बंगाल र बिहारमा सातै चरणमा मतदान भएको थियो । सो चुनावको नतिजा सन् २०१९ मे २३ मा घोषणा भएको थियो । करिब ६९ करोड ४० लाख मतदाताले मत खसाएको सो निर्वाचनमा झन्डै ४५ प्रतिशत मत पाउँदै नरेन्द्र मोदी नेतृत्वमा रहेको एनडीए गठबन्धनले कुल ३५३ सिट जितेको थियो भने भारतीय जनता पार्टी एक्लैले ३०३ सिट जितेको थियो । करिब २६ प्रतिशत मत कंग्रेस नेतृत्वको युपीएले पाएको थियो ।

समग्रमा कांग्रेस नेतृत्वको युपीए गठबन्धनले ९२ सिट मात्र जित्दा कंग्रेसले ५२ सिट मात्र जित्न सकेको थियो । यस पटक भने मोदीले चुनाव अघि अयोध्यामा राम मन्दिर उद्घाटन गर्दै हिन्दुहरुको मन जेतिसकेका छन् । एकातिर भारत जोडो यात्रामा जनताको मन जितेका राहुल गान्धी पनि कम छैनन् । यस पटकको चुनावी नतिजाले मोदीको तेस्रो कार्यकाललाई निरन्तरता देला या राहुलको सत्ता उदय होला ? त्यसका लागि चुनावको अन्तिम नतिजाले नै निर्धारण गर्ने छ ।