Breaking

प्रचण्डलाई असफल बनाउने कांग्रेसको रवि अस्त्र, गृहमन्त्री बनेपछि हायलकायल, कांग्रेस–रास्वपा लफडा


काठमाडौँ – दाइ कांग्रस र भाइ कांग्रेस भनेर चिनिने पार्टी नेपाली कांग्रेस र रास्वपाबीच अहिले सदनमा दोहोरी चलिरहेको छ । कांग्रेसको सबै रणनीतिमा रास्वपाले पानी हालिदिए पछि रुष्ट बनेको कांग्रेस सांसद्हरू भर्खरै गृहमन्त्री बनेका रवि लामिछानेलाई जसरी भए पनि पदबाट हटाउन कसिएका छन् ।

केही महिनापछि सरकारकै नेतृत्व गर्ने लाइनमा रहेको नेपाली कांग्रेस एकाएक सत्ताबाट नै बाहिरिनु परेपछि यतिखेर रन्थनिएको छ । सत्ताबाट सडकमा नराम्ररी बझारिएर रन्थनिएको ‘साइड इफेक्ट’ अहिले कांग्रेसले सदनमा देखाइरहेको छ । गठबन्धन फेरिएपछि बसेको संसदको चार बैठकमा कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषद्का मन्त्रीमाथि प्रश्न उठाउन छोडेको छैन । त्यसमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी कांग्रेसको आँखाको तारो नै बनेको छ । संसद् सुरु भएदेखि नै कांग्रेसले गृहमन्त्री रवि लामिछानेको निरन्तर राजीनामा माग गरिरहेको छ । प्रचण्डलाई धोकेबाज करर गरेको कांग्रेसले प्रधानमन्त्रीलाई असफल बनाउने प्रमुख अस्त्र नै रविलाई बनाएको छ । गृहमन्त्री रविकै कारण शुक्रबारको संसद् बैठक अवरोध हुन पुग्यो ।

कांग्रेसका एकाध सांसदले मात्रै होइन रमेश लेखकदेखि, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल जस्ता सदनमा उपस्थित युवा सांसदले पनि रविलाई पदबाट बर्खास्त गर्नु पर्ने माग राखेका छन् । प्रधानमन्त्री प्रचण्डको मन्त्रिपरिषद्मा सुन काण्ठमा मुछिएका अर्थमन्त्री वर्षमान पुन, गौर हत्याकाण्डमा नाम जोडिएका स्वास्थ्यमन्त्री उपेन्द्र यादव जस्ता मन्त्री हुँदा तिनीहरू विरुद्ध कांग्रेसले बोली फुटाउन सकेको छैन । तर, रास्वपा र रविमाथि भने कांग्रेसका सांसदहरूले आगो ओकलिरहेका छन् । आफू सत्तामा हुँदा रविको विषयमा मौन रहेको कांग्रेस प्रतिपक्षी बेञ्चमा पुगेपछि भने रविकै खेदो खत्रे मुल एजेण्डा बनाएको जस्तो गरिरहेको छ । प्रधानमन्त्री बन्न गरेको प्रस्तावलाई रविले अस्वीकार गरेपछि ‘इगो हर्ट’ भएको कांग्रेसको निसाना रविसँगै रास्वपा पनि परेको देखिएको छ । पोल्याण्डका नागरिकसँग विवाह गरेका शिक्षामन्त्री सुमना श्रेष्ठको नागरिकतामाथि पनि कांग्रेसले आवाज उठाएको छ ।
कांग्रेसले प्रधानमन्त्री बनाउन गरेको प्रस्ताव जायज हुने तर, त्यही व्यक्तिलाई आफूले गृहमन्त्री बनाउँदा भने गलत ठहर्ने कुरा हुनै नसक्ने प्रधानमन्त्री प्रचण्डको तर्क छ । बहालवाला प्रधानमन्त्री र रास्वपाले पनि रविलाई प्रधानमन्त्रीको प्रस्ताव आएको बताई रहँदा कांग्रेसले त्यसको खण्डन नगर्नुले पनि यसलाई यो विषयलाई पुष्टि गर्छ । त्यसैको प्रतिशोध कांग्रेसले सदनमा देखाएको रास्वपाको बुझाइ छ ।

कांग्रेसकै वैचारिक विरासत बोकेका नेताहरूले कांग्रेसलाई लात हानेर रास्वपामा समर्पित हुँदा भाइ कांग्रेस र दाइ कांग्रेसको लडाईं चर्किंदै गएको देखिन्छ । स्वर्णिम वाग्ले, मनिष झा, शिशिर खनाल जस्ता नेताहरूलाई कांग्रेसले अवमूल्यन गर्दा यी दुईबीचको टसल व्यक्तिगत तहसम्म पुगेको छ । जसको उदाहरण तनहुँमा भएको उपनिर्वाचनले पनि देखाएकै कुरो हो । पहिलेदेखि नै आगोमा जलिरहेका यी दुई पार्टीबीचको सम्बन्धमा अहिले आफ्नो प्रधानमन्त्री बनाउने प्रस्तावलाई लत्याएर प्रचण्डको सरकारमा सहभागी भएपछि घ्यू थप्ने काम भएको छ । रविले कांग्रेसको प्रस्ताव मानिदिएको भए प्रचण्डको समीकरण नबत्रे र कांग्रेस फेरि शक्तिशाली हुने थियो । तर, आफ्नो रणनीतिमा रविले पानी हालिदिए पछि कांग्रेस रास्वपामाथि आक्रामक भएको हो ।

पाँच वर्ष मिलेर सरकार चलाउने सर्तसहित आम निर्वाचनअघि नै गठबन्धन गरेको कांग्रेस–माओवादीको संयुक्त डुङ्गा गन्तब्यमै नपुगी बिचैमा डगमगाएपछि माओवादीको सहारा एमाले बन्दा कांग्रेस डुब्न पुग्यो । डुब्दै गरेको कांग्रेसले प्रधानमन्त्रीको प्रस्तावसहित रास्वपालाई उद्धारका लागि आग्रह गरे पनि रास्वपाले माओवादीतर्फ नै हात दिँदा कांग्रेस रास्वपासँग चिढिएको छ । साथै, रवि गृहमा आइसकेपछि आफ्ना विवादित नेता उपर प्रतिशोध साध्ने डर पनि कांग्रेसलाई छ । टेरामक्स काण्डमा ज्ञानेन्द्रबहादुर कार्की, मोहनबहादु बस्नेत मुछिएको र नक्कली भूटानी शरणार्थी काण्डमा आरजू राणा देउवाकै नाम जोडिदा पनि गृहको नेतृत्वमा रवि पुग्दा कांग्रेस हच्किएको छ । त्यसैले सर्प पनि मर्ने लौरे पनि नभाचिने रणनीति अपनाउन खोजेको कांग्रेस रविलाई गृहबाट हटाएर निर्धक्क हुन चाहन्छ । साथै धोकेबाज प्रचण्डलाई पनि साइजमा ल्याउन कांग्रेसको नयाँ रणनीति बुनिरहेको बुझ्न कठिन छैन ।