Breaking

नेताको धोकाधडीले जनता वाक्क, सत्तालाई कहिले चाटाचाट, कहिले काटाकाट, आफ्नै बोलीको छैन टुंगो


काठमाडौँ – देशमा भ्रष्टाचार, बेथिति र बेरोजगारका कारण नेताप्रति जनताको विश्वास घट्दै गइरहेको छ । नेताहरूलाई जनताले मात्रै होइन, नेताहरूले नै विश्वास गर्न छाडेका छन् । त्रिशंकु संसदमा सत्ता र प्रतिपक्षबीच मात्रै होइन, सत्तापक्षमै पनि विश्वास देखिदैन । प्रधानमन्त्री प्रचण्डले प्रावधिक रुपमा विश्वासको मत पाइरहँदा मनोबैज्ञानिक डरले भने डेरा जमाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १५ महिनाको अवधिमा सदनमा कृर्तिमानी नै कायम गर्दै तेस्रो पटक विश्वासको मत लिएका छन् । गत निर्वाचनबाट सदनको तेस्रो दल बनेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तेस्रो पटक प्रधानमन्त्री बनेर पहिलो पटक सपथ लिँदै गर्दा सदनमा प्रतिपक्ष विहीन जस्तै अवस्था थियो । दोस्रोपटक प्रचण्डले सत्ता सहयात्री परिवर्तन गरेपछि सपथ लिँदै गर्दा १ सय ७२ जनाले मात्रै विश्वासको मत दिए । तेस्रो पटक विश्वासको मत लिँदा सामान्य बहुमतको स्थिति बनेको छ । त्यसमाथि पनि सत्तासहयात्री दलहरुबीचमै तीब्र अविश्वास छ । सत्तागठबन्धनको भविश्यप्रति स्वयं प्रधानमन्त्री प्रचण्ड नै विश्वस्त छैनन् ।

कांग्रेस र एमाले मिलेर सरकार बनाउँछन कि भन्ने चिन्ता प्रचण्डमा देखिन्छ । कतै एमाले र माओवादीलाई नै प्रतिपक्षमा पु¥याउने गरी बैकल्पिक गठबन्धन बन्ने हो कि भन्ने डर पनि छ । आफ्नो कित्तामा हुँदा सबै राम्रा र प्रतिपक्षमा पुग्ने बित्तिकै नैतिकताको सीमा कटेर गाली गलोजमा उत्रिनु नेपाली राजनीतिको विशेषता नै बनेको छ । राजनीतिमा जे भनिन्छ, त्यो गरिँदैन, जे भनिदैन, त्यो गरिन्छ । प्रधानमन्त्री प्रचण्डको नाम नै सुन्न नचाहने एमाले अध्यक्ष केपी ओलीको बोली फेरिएको छ । एमाले सत्तामा पुगेपछि सुन्दर शब्दजाल बुनेर ओलीले प्रचण्डको गुणगान गाइरहँदा लाज पनि जलाइरहेको छ ।

दलहरू सत्ता र शक्तिमा रूमलिरहँदा आम सर्वसाधारण भने सास्तीमा छन् । जनजीविकाको विषय कहिल्यै दलहरुको प्राथमिकतामा पर्न सकेन । जनताका आवाज न त सरकारले सम्बोधन गर्छ, न त प्रतिपक्षले सदनमा नै बोल्छन । प्रधानमन्त्री प्रचण्डप्रति एमालेले आक्रोश पोख्दा बचाउमा लाग्ने कांग्रेस अहिले आफैँ विरोधमा छ । कांग्रेस नेताहरूको अभिव्यक्तिले प्रचण्डलाई थप बेचैन बनाएको छ ।

राजनीतिक दलहरूको ध्यान सत्ता र शक्तिमा मात्र हुँदा जनता भने चरम निराशामा छन् । १५ महिनामा मन्त्री र मुख्यमन्त्री धेरै फेरिए । तर, जनताको जीवनस्तर फेरिन सकेको छैन । सामाजिक न्याय, सुशासन र समृद्धिको नाराले प्रचण्डलाई नै गिज्याइरहेको छ । नेताहरु सत्ता लुछाचुडीमा रुमलिरहँदा जनतामा आक्रोश बढ्दो छ । जनआक्रोश विद्रोहमा परिणत हुँदा क–कसलाई बढार्ने हो टुंगो छैन । तर, नेताहरुको चेत अझै खुलेको देखिदैन ।