Breaking

प्रचण्ड–ओलीको बिछोडपछि ‘डिप लभ’, हायर लेभलको युनिटी, अब फुटे कम्युनिस्ट पत्तासाफ


काठमाडौँ – सत्ताका लागि टुट्दै फुट्दै आएका कम्युनिस्टहरू फेरि एक पटक एक ठाउँमा उभिएका छन् । स्वार्थ नबाझिञ्जेल कम्युनिस्ट एकताको नारा लगाउने वामपन्थी नेताहरू अब भने के साच्चिकै ध्रुवीकृत भएर अघि बढ्न सक्लान् त ?

बिछोड भइसकेपछि फेरि त्यसैसँगको प्रेम झन् बलियो हुन्छ भने झै फेरि पनि नेपालका ठूला कम्युनिस्टहरूबीच एक–अर्काप्रतिको झुकाव प्रगाढ हुँदै गएको छ । हिजो एकले अर्कालाई कम्युनिस्टको दर्जामा नै राख्न नरुचाउने केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अहिले एक अर्काको साहारा बन्दै सत्ता साझेदार बनेका छन् । उनीहरू विगतका सबै तीता अनुभव बिर्सेर सत्ताकै लागि एक ठाउँमा उभिनाले कम्युनिस्टहरू एक हुने संकेत गरेका छन् । कम्युनिस्ट आन्दोलनलाई सार्थक बनाउने हेतुले एमालेलाई छोडेर समाजवादी मोर्चाको गठनमा अघि बढेका प्रचण्ड र माधव अब ओलीकोसमेत साथ पाउन थालेपछि हौसिएका छन् । कम्युनिस्टहरूबीचको सम्बन्धमा घनिष्ठता बढ्दै गएपछि फाटो ल्याएर देखाउन कांग्रेसलाई प्रचण्डले संसद्को रोष्ट्रमबाटै चुनौती दिन थालेका छन् । पाएको वस्तु गुमाइसकेपछि मात्रै त्यसको महत्व बुझ्ने मानव प्रवृत्ति नै भएर होला, प्रचण्ड अहिले आफूहरूको अहिलेको मिलन ‘हायर लेभलको युनिटी’ बत्रेमा विश्वस्त देखिन्छन् ।

सत्ता र शक्तिका लागि जुनसुकै बेलामा पनि टुटफुट हुनसक्ने कम्युनिस्टहरू अहिले फेरि सत्ताकै लागि एक भएका छन् । एकले अर्काको नाम उच्चारण गर्दासमेत मुख कुल्ला गर्नु पर्ने भन्दै कटु वचन बोल्नेहरू अहिले एकअर्काको तारिफ गरेर नथाक्ने भएका छन् । कम्युनिस्ट आन्दोलनलाई सार्थक बनाउन वामपन्थीहरू धु्रवीकृत भएर एक हुन अहिलेको आवश्यकता रहेको एमालेले बुझाइ छ । आफूबाहेक अरूलाई कम्युनिस्ट नै मात्र तयार नहुने, यहाँसम्म कि माधवको एकीकृत समाजवादीलाई त दल भत्र पनि नचाहने एमाले अहिले कम्युनिस्टहरूको सटर धेरै भएकाले एक हुनु पर्ने बताइरहेको छ ।

यसअघि पनि कम्युनिस्ट एक हुँदा, छदाखादाको नेकपाबाट बनेको झण्डै दुई तिहाईको कम्युनिस्ट सरकार फुटेर संसद् विघटनसम्मको अवस्थामा पुगेको थियो । कम्युनिस्ट एक ढिक्का हुँदा त्यस बखत झण्डै दुईतिहाई बहुमत बनाएको थियो । तर अहिले एक ठाउँमा उभिँदा पनि बल्ल बहुमत पुग्ने अवस्थामा छ । त्यसैलाई बुझेका ओली, प्रचण्ड र माधव विगतलाई कोट्याउनु भन्दा भोलिको राजनीतिक यात्रालाई सुनिश्चित गर्न मिलेर जानु पर्ने स्थितिमा आइपुगेका छन् । विगतका तिक्ततालाई भुल्ने र भएका कमीकमजोरीलाई स्वीकार गर्दै फेरि गल्ती नदो¥याउने भन्दै एक ठाउँमा उभिएका कम्युनिस्टहरू अहिलेकै अवस्थामा धु्रवीकृत भएर जान सक्लान् त ?

पहिले जस्तो फुट्नका लागि नभई हायर लेभलको युनिटी भएको प्रचण्डको भनाइले कम्युनिस्टहरु एक ठाउँमा उभिँदै गएको देखिन्छ । ‘भाइ फुटे, गवार लुटे’ भने जस्तो ६० प्रतिशत कम्युनिस्टको मत भएको देशमा कम्युनिस्टहरू टुक्रिँदा गत आमचुनावमा व्यहोरेको घाटाबाट पनि वामपन्थी नेताहरूको निद हराम भएको छ । नेपालका कम्युनिस्ट पार्टीहरु फुट्दा सबैभन्दा धेरै फाइदा कांग्रेसलाई नै हुने गर्छ । कम्युनिस्टरूले खोलेका दर्जनौ सटरहरूलाई एकै ठाउँमा ल्याउन सक्दा सधैं सत्ताको स्वाद चाख्न पाउने लालच पनि वामपन्थी नेताहरूमा देखिन्छ । त्यस्तै अहिले वैकल्पिक भनेर आएका नयाँ शक्तिहरूले समेत जनतामा प्रभाव जमाउँदै लगिरहेको परिप्रेक्षमा बरु सकिने भन्दा सच्चिनु नै बाध्यात्मक परिस्थितिमा अहिलेका कम्युनिस्ट नेताहरू छन् । जसले गर्दा उनीहरू स्वार्थकै लागि सही एक ठाउँमा उभिएका छन् ।