राजनीति

कांग्रेसलाई प्रचण्डको निर्मम जवाफ, टाउकोको मूल्य तोक्ने एक भए पनि तह लाइदिन्छु, उपेन्द्र अपराधी ! (भिडियोसहित)


काठमाडौँ— प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने क्रममा पनि दलहरुको घोचपेच चल्यो । आज घोचपेच गर्नु आवश्यक त होइन भन्दै उनीहरुले पूरै समय घोचपेचमै बिताए ।
न पुराना न त नयाँ, न साना न त ठूला, संघीय संसदलाई आलोचनाको मात्रै थलो बनाउन कोही पनि पछि परेका छैनन् । बुधबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदै थिए । त्यसक्रममा धोकाधडी र आत्मरतीमा दलहरुले धेरै समय खर्चिए । कांग्रेस र माओवादीबीच वारपारकै सवाल जवाफ–चल्यो ।

सबैभन्दा पहिले एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्ला समस्याबारे कांग्रेस बोल्नै नचाहेको भन्दै छलफलका लागि आउन आग्रह गरे । त्यसपछि बोलेका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस र एमालेको संवाद भए प्रधानमन्त्रीको हालत के होला भन्दै प्रश्न गरे । लगत्तै विश्वासको मतकोसमेत माया मारेर बोलेका प्रधानमन्त्री प्रचण्डले निर्मम जवाफ फर्काए । कोही मिल्दैमा प्रचण्ड नडराउने बताउँदै “हिजो मिलेरै टाउकोको मूल्य तोकेको होइन ?” भन्दै प्रश्न गरे ।

यो घोचपेच यत्तिमा मात्रै रोकिएन । प्रधानमन्त्री प्रचण्ड र विश्वप्रकाशबीच पार्टीको नीति र सिद्धान्तमा हुने छलफलबारे समेत आरोप–प्रत्यारोप चल्यो । विश्वप्रकाशले लोकतान्त्रिक पार्टीमा जुनसुकै विचार पनि उठ्न सक्ने भन्दै कांग्रेसको नीति बनाउन कम्युनिस्टहरुलाई सोध्नुपर्ने हो भन्दै प्रश्न गरेका थिए । प्रचण्डले पनि कांग्रेसका गुटहरुबाट आफू आजित भएरै गठबन्धन फोडेको र अहिले कांग्रेस मिलेको देखिएकाले त्यसमा स्थायी एकता रहोस् भन्ने कामना गरे ।

यस्तै विवादित मन्त्रीहरु मन्त्रिपरिषद्मा कायम रहेको विषयमा पनि घोचपेच चलेको छ । रवि लामिछाने लक्षित कांग्रेसले सहकारीको रकम अपचलन गरेकाहरु नै मन्त्री बनेपछि संसद चल्न नदिनेसम्मकै चेतावनी दिएको थियो तर प्रचण्डले भने उनैलाई आफूूले प्रधानमन्त्री बनाउँदा हुने आफूले मन्त्री बनाउँदा किन नहुने भन्दै प्रश्न गरे ।

यो घोचपेच नयाँ भनिएका दलहरुमा पनि केन्द्रित रह्यो । यो जुहारी चाहिँ कांग्रेस र पूर्व कांग्रेसीहरुको हो । शर्माले हिजो ‘नो नट अगेन’ भन्ने दलहरु पनि अहिले तीनै बुढा नेताहरुको पछि लागेर ‘अगेन एन्ड अगेन’ भन्ने गरेको भन्दै नयाँ दलहरुमाथि पनि प्रश्न उठाए । रविका सत्ता यात्रालाई सदनबाटै विश्वप्रकाशले प्रश्न उठाएपछि रास्वपाका सांसद स्वर्णिम वाग्लेले आफ्नो बोल्ने समय कांग्रेसलाई गाली गर्न खर्चिए । उनले नयाँ पार्टीबारे बोल्ने अधिकार कांग्रेसलाई नरहेको चेतावनी दिए ।

यतिमात्र नभई नयाँ र परिस्कृत भन्ने दलहरुले समेत यो श्रृंखलालाई कायम राखे । अहिले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिएपछि जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आगो ओकले । उपेन्द्र यादवप्रति लक्षित गर्दै उनले गौर हत्याकाण्डमा दाग लागेका व्यक्तिलाई नै मन्त्री बनाएको भन्दै कारवाही गर्न चुनौती दिए ।
भलै आज प्रचण्डले विश्वासको मत पाए । उनको सरकार केही समयका लागि सुरक्षित बनेको छ । तर, विश्वासको मत पाएको सरकाप्रति जनताको विश्वास अझै बढ्न सकेको छैन । त्यसमाथि प्रि–बजेटजस्ता महत्वपूर्ण छलफल स्थगित गरेर सांसदहरु आरोप प्रत्यारोपमा उत्रिनुलाई लोकतन्त्रको सुन्दर पक्ष भन्दै डान्का पिटे पनि जनताको नजरमा संसदीय व्यवस्थालाई त्यति फाइदा गर्ने देखिँदैन ।