राजनीति

देउवा–ओली मिल्ने पक्का, प्रचण्डले भेटेको ‘क्लु’, कसरी बन्छ प्रचण्ड बिना नयाँ समीकरण ?(भिडियोसहित)


काठमाडौँ— बुधबारको प्रतिनिधिसभामा कांग्रेस–एमाले मिलनको स्पष्ट संकेत प्रधानमन्त्रीबाटै मिल्यो । कांग्रेसले एमालेसँग मिल्ने चेतावनी दिएपछि माओवादीले पनि चुनौती स्वीकार गरेको छ । आखिर कांग्रेस–एमाले मिलनको बाधक पक्ष चाहिँ के हो ?
केही आफ्नै कार्यशैली त केही पुष्पकमल दाहाल प्रचण्डको अस्थीरताको सिकार बनेको नेपाली कांग्रेस, एमाले देखाएर माओवादी तर्साउने अवस्थामा पुगेको छ । नयाँ समीकरण बनेपछि एक हप्तामै भत्काउने कांग्रेसको सक्रियताले छिट्टै विश्वासको मत लिएका प्रचण्डलाई तर्साउने मिसनमा अब कांग्रेस अघि बढेको छ । बुधबारको बैठकमा एमाले–कांग्रेसले घुमाउरो शैलीमा मिल्ने संकेत देखाएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले भेट्दैमा के हुन्छ ? बसौँ न कुरा गरौँ न भन्दै प्रस्ताव गरेका थिए ।

त्यसपछि देउवाले मुन्टो हल्लाउँदै हुन्छ भनेको देखिन्छ । यो दृश्य पनि संसदमा रोचक देखिन्थ्यो । सांसदहरुको हाँसो रोकिएको थिएन । लगत्तै विश्वप्रकाश शर्माले एमाले–कांग्रेस मिले प्रचण्डको धरातल देखाइदिने आशय व्यक्त गरेपछि प्रचण्ड झस्किएनन् मात्रै कि आफूले धोका पाउन लागेको निचोडमा पुगे । र संसदमा भडास पोखे । प्रचण्डले नै कांग्रेस एमाले सहकार्यको खिचडी पाकिरहेको पुष्ट्याइँ गरिदिएका छन् ।

नयाँ गठबन्धन कमजोर बनेको पुष्टि गर्नका लागि प्रचण्डकै केही हाउभाउ पर्याप्त छन् । तर प्रचण्डकै अगाडि एमाले–कांग्रेसले मिल्न प्रयास गर्नुपर्ने सन्देश दिएपछि प्रचण्ड आक्रोशकै श्रेणीमा पुुगेका हुन् । यसअघि आक्रामक मुद्रामा देखिने प्रचण्ड एमालेसँग मिलेपछि सिथिल देखिन थालेका छन् ।
के एमाले–कांग्रेस मिलन बिन्दु नजिकिएको हो ?
२४ गतेको प्रतिनिधिसभा बैठकमै प्रचण्डको बोलीमा सिथिलता देखिन थालिसकेको थियो । त्यसयता देउवाले पूरक समीकरण बनाउन गरेको प्रयास, विश्वासको मत माग्दा प्रचण्डमा देखिएको उर्जा र कांग्रेस–एमाले मिल्दा देशले सकारात्मक दिशा लिए आफू प्रतिपक्षमै बस्न तयार रहेको प्रचण्डकै अभिव्यक्तिले समेत यसको संकेत गर्छ । त्यसमाथि मन्त्रीहरुमै यो समीकरण धेरैदिन टिक्नेमा विश्वास छैन ।

त्यसलाई पछिल्लो केही दिनयता भारत लगायत देशका राजदूतहरुको सक्रियताले समेत पुष्टि गर्छ । बुधबार मात्रै अमेरिकी राजदूत डीन थम्सनसँग एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गरेको भेटले पनि केही संकेत गर्छ । पटक–पटक एमाले र कांग्रेसका नेताहरुले एकअर्कालाई देखाएर माओवादी तर्साउन सक्रिय बनेपनि औपचारिक रुपमा कुमै फेरेर अघि बढ्ने हिम्मत कसैले पनि गरेका छैनन् । त्यसमाथि यो गठबन्धन बनाउन मुख्य भूमिका खेलेका तथा भारत र चीनबीच सन्तुलन कायम राख्ने विष्णु पौडेल अहिले आफैँ यो समीकरण भत्काउन किन लागिरहेका छन् भन्ने प्रश्न छ ।

अहिले केन्द्रमा भागबन्डाको टुंगो लागेपनि प्रदेश सरकारको भागबन्डा गर्न बाँकी नै छ । तत्काल एमाले कांग्रेससँग मिलिहाल्ने अवस्था केही बाध्यताले छैन । किनभने अहिले राजदूतदेखि प्रदेश प्रमुख लगायतका महत्वपूर्ण भागबन्डामा आफ्नो पकड जमाइरहेको छ । कांग्रेससँग मिले उ ठूलो दल भएका कारण भागबन्डामा खुम्चिन सक्ने एमालेले बुझेको छ । त्यसमाथि यो सरकार ढल्नासाथ ठूलो दलको हैसियतमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् । यसो हुँदा ओलीले पहिले सरकारको नेतृत्व गर्न पाउने छैनन् । त्यसमाथि यो गठबन्धन फुट्ने बित्तिकै सरकार बनाउन प्रचण्ड नै देउवाको शरण पर्न सक्छन् । एमालेभन्दा माओवादीलाई थोरै भाग दिए पुग्ने भएकाले कांग्रेस त्यतैतिर ढल्किन पनि सक्छ । किनभने यी सबै दल गठजोड मिलाएर भाग खानका लागि मात्रै मिल्ने र भत्किने गर्छन् । यस्ता केही प्राविधक कारणले एमाले–कांग्रेस तत्कालै सत्ता सहयात्राका लागि तयार छैनन् । तर ढिलोचाँडो यसले सार्थकता पाउने संकेत स्वयम दलका नेताहरुले देखाएका छन् ?