Breaking

गुटमै कुटाकुट गरेको राप्रपा आन्दोलन छेड्दै, चैतको मिसन, गणतन्त्रलाई कति खतरा ?


काठमाडौँ – राजनीतिमा सत्ता र शक्तिको लडाईँ हुनु स्वाभाविक हो । तर, छेपारोले रङ फेरेजस्तो नेपाली नेताहरूले व्यवहार र अभिव्यक्ति फेर्दा जनताको विश्वास गुमाइरहेका छन् । विगतमा यही सरकारमा सहभागी भएको राप्रपा अहिले व्यवस्था परिवर्तनको आन्दोलनको तयारीमा छ । यो संघर्षले राप्रपालाई कहाँ पु¥याउला ?
परिवर्तनको लागि लडेकाहरूबाटै अहिलेको व्यवस्था र संविधान खतरामा प¥यो भन्दै गर्दा इतिहास बनिसकेको राजा फर्काउँछु भन्दै राजावादीहरु जुरमुराएका छन् । अहिलेको संविधान र व्यवस्थाको मर्म अनुरूप जनताको बीचमा गएर माननीयको लोगो पनि भिरिरहेका छन् । यही संविधानअन्तर्गत सांसद मात्रै होइन, उपप्रधानमन्त्री समेत भइसकेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले दिने अभिव्यक्ति कहिलेकाहीँ छेपारो पनि तीन छक खाने खालको हुन्छ । १५ महिना अगाडि मात्रै प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानसहित ऊर्जामन्त्री भएका लिङदेनले अहिले राजसंस्था र वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र पुनःस्थापना तथा प्रदेश खारेजीको माग राखेर बृहत् आन्दोलन गर्ने निर्णय गरेको छ ।

सत्ता र पद नपाउँदा निर्मल निवासमा ज्यू हजुर गर्न पुग्ने लिङ्देनले अब प्रदेशमा आफुलाई कुन रूपमा उभ्याउँछन हेर्न बाँकी छ । हुन त, यसअघि प्रदेश खारेज गर्नुपर्ने माग राख्ने राप्रपाले सभामुख पदमा ¥याल काटेको थियो । हुन त, नेपाली राजनीतिमा इमान जमान भेटिदैन । नयाँ हुन या पुराना सबै पदकै लागि मरिहत्ते गरेर लागिरहेका छन् । राजावादीहरू अवसर र पद नपाएसम्म व्यवस्थाको विरोध गर्ने र अवसर मिल्ने बित्तिकै विरोधको पोका थन्काएर यही व्यवस्थालाई मान्दै सपथ लिन दौरा सुरूवालमा ठाटिएर पुगेको पनि देखियो । अहिले व्यवस्थाको विरूद्धमा सडक संघर्ष गर्ने तयारीमा राप्रपा छ ।

केन्द्रीय समितिको बैठक नै बसेर फागुनदेखि सडक आन्दोलन घोषणा गरेको राप्रपाले एसइइ परीक्षालाई मध्यनजर गर्दै चैत्र २७ गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन घोषणा गरेको छ । दुर्गा प्रसाईले एकै दिनमा व्यवस्था पल्टाएर राजा ल्याउँछु भन्दै गरेको आन्दोलनको नतिजाले पनि राजा फर्काउन र व्यवस्था पल्टाउन सहज छैन भन्ने कुरा प्रष्ट भइसकेको छ । आन्दोलन गर्ने मोडमा रहेको राप्रपा एक ढिक्का हुनको साटो आफ्नै पार्टी कार्यालयमा कुटाकुट गर्ने अवस्था सिर्जना भएको दृश्यले पार्टीभित्र एकताबद्ध नभएको र आन्दोलन कमजोर हुन सक्ने आकलन गर्न कुनै कठिनाइ छैन । राजा फर्काउँछु भन्ने अभियान असफल जस्तै भएपछि आफ्नै गृह जिल्ला झापामा बसिरहेको दुर्गा प्रसाई चर्चाकै लागि भए पनि आफ्नो आन्दोलन जारी रहेको दाबी गर्न पछि पर्दैनन् ।

दुर्गा प्रसाई र राप्रपाको बोली र व्यवहारले दुबैको लक्ष्य एउटै तर, बाटो अलग भएको प्रष्ट देखिन्छ । प्रसाईले व्यवस्था र संविधानको विरूद्ध चैत १ गते आन्दोलन गर्ने घोषणा गरेका छन् भने त्यसको ठिक २५ दिनपछि राप्रपाले काठमाडौँ केन्द्रित आन्दोलन गर्ने घोषणाले गरेको छ । राजावादीहरू व्यवस्था परिवर्तनको डम्फु बजाइरहेको बेला आफूलाई कम्युनिस्ट भन्नेहरू हिजो व्यवस्था परिवर्तनका लागि लडिएकाहरूबाटै अहिलेको व्यवस्था खतरामा रहेको तर्क गरिरहेका छन् ।

राप्रपा कसैगरी पनि व्यवस्था परिवर्तन गरेर देखाउने दाबी गरिरहेको छ। त्यसैको भेउ पाएर होला प्रचण्ड नेतृत्वको नयाँ सत्ता समीकरणमा राप्रपाको नाम समेत पनि उच्चारण भएन । अहिलेको नेतृत्व र व्यवस्थाप्रति जनताको आक्रोशमा टेकेर व्यवस्था परिवर्तन गर्ने दाउमा राप्रपा देखिन्छ । त्यो अभियानलाई सत्तारुढ दलहरुका गतिविधिले नै मलजल गरिरहेका छन् ।