Breaking

केपी-माधवको सम्बन्ध सुध्रेला ? विगतको तथ्यले बिछोड निम्तिँदै (भिडियोसहित)

ओली–माधव मिलेकै हुन् ?


काठमाडौँ – एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीचको सम्बन्ध ‘लभ–हेट’ हो छ । उनीहरूबीचको उतारचढावपूर्ण सम्बन्धको अन्तर्यमा सधैँ पार्टी र सत्ता नेतृत्वको आकांक्षा देखिन्छ । केही समयअघिसम्म एकले अर्काको नामै सुन्न नचाहने ओली र नेपालको पुनर्मिलन होला त ?

राजनीतिका चतुर खेलाडी केपी ओली र माधवकुमार नेपालको सम्बन्धबारे फिल्म बन्ने हो भने सायद ‘लभ–हेट’ को सिनमा अहिलेसम्मका फिल्महरूलाई फ्लप खुवाउने खालको हुन्थयो । राजनीतिमा करिब पाँच दशक सँगसँगै यात्रा गरेका ओली–नेपालको सम्बन्धमा उतारचढाव आइरहेको छ ।

कम्युनिस्ट आन्दोलनमा ओली र नेपालले सहकार्य, मनमुटाव र विछोडको चरण पार गरे । ओली-नेपालको पहिलो भेट २०२८ सालको अन्त्यतिर भएको हो । त्यसबेला ओलीलाई नेपालले सेल्टर दिएर झण्डै तीन महिना डेरामा राखेपछि राजनीतिक सम्बन्ध झाँगिएको थियो । भूमिगत आन्दोलनको क्रममा ओली पक्राउ परे ।

नेपाल भूमिगत राजनीतिमै सक्रिय भए । १४ वर्ष जेल बसेर बाहिरिएपछि ओलीलाई नेपालले नै पार्टीमा अगाडि बढाए । ओली र नेपाल दुबै मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)को पक्षमा उभिए । दासढुंगा दुर्घटनामा पार्टी महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएपछि एमालेमा नेतृत्वको संकट देखियो । नेपाल र ओली मध्ये एक महासचिव हुने अवस्था आयो ।

नेपालमा व्यवस्थापकीय क्षमता भए पनि नेतृत्व क्षमता कम थियो । ओलीमा नेतृत्व कला भए पनि सबैलाई मिलाएर लैजाने क्षमता थिएन । नेपाललाई महासचिव बनाउन ओलीले सघाए । पार्टी नेतृत्वमा नेपाल थिए तर २०५४ को महाकाली सन्धि होस् वा एमाले छैटौँ महाधिवेशनमा ओलीको चर्चा अधिक थियो । दुवै नेताले मिलेरै एमाले–माले विभाजनको सामना गरे । सातौँ महाधिवेशनमा नेपालसँग प्रतिष्पर्धा गर्ने अवस्थामा ओली पुगे । तर, ओलीको केही सिप चलेन । ओली नेपालकै कित्तामा उभिइरहे । नेपालले पनि राजकीय पदमा ओलीलाई स्थान दिइरहे ।

एमालेको नवौँ महाधिवेशनमा ओलीसँग नेपाल पराजित भए । प्यानलगत प्रतिष्पर्धाले दुई नेताको सम्बन्ध नराम्ररी बिग्रियो । नेकपा कालमा नेपाल प्रचण्डसँग नजिकिएर ओलीमाथि प्रहार गरे । अदालतले पार्टी विभाजन गरेपछि नेपालले एमाले पनि विभाजित गरे । सम्बन्ध यतिसम्म बिग्रियो कि एकले अर्काको नाम लिँदासमेत मुख कुल्ला गर्नुपर्ने स्थिति बन्यो ।
ओली एमालेको अध्यक्ष भएपछि माओवादी अध्यक्ष प्रचण्डसँग एकाएक नजिकिएका थिए । जबकि, त्यसअघि ओली प्रचण्डको नामसमेत सुन्न चाहदैनथिए । परिस्थिति यसरी फेरियो कि, एमाले र माओवादीबीच पार्टी एकता नै भयो । नवौँ महाधिवेशनको तुष नेकपामा पनि देखियो । ओलीले नेपाललाई पहिला तेस्रो वरियतामा उभ्याएर पछि चौथोमा झारिदिए । नेपालले अपमानको रुपमा बुझिरहे ।

ओली–नेपाल सम्बन्ध बिग्रिदै गयो । नेपालले दिएको स्वास्थ्यलाभको कामनासमते ओलीले अस्वीकार गरे । पार्टी विवाद गहिरिँदै जाँदा ओली र नेपाल मिल्नै नसक्ने अवस्थामा पुगे । नेपालले तत्कालीन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर ओलीलाई प्रधानमन्त्रीबाट हटाउने योजना बनाए । त्यसको छनक पाएपछि ओलीले पुस ५ मा असंवैधानिक रुपमा संसद विघटन गरिदिए । त्यसविरूद्ध प्रचण्ड-नेपाल समूह एकठाउँ उभियो । सर्वोच्च अदालतले फागुन ११ मा संसद पुनस्र्थापना त गरिदियो, तर २३ फागुनमा नेकपा नाम बदरको अर्को फैसला गरेर एमाले र माओवादी केन्द्रलाई ब्युँताइदियो । त्यतिञ्जेलसम्म ओली र नेपालको दूरी धेरै टाढा भइसकेको थियो ।

ओलीले नेपाललाई सहज रूपमा पार्टीमा फर्किन दिएनन् । नेपालले विपक्षी गठबन्धनमा सामेल भए र ओलीको सरकार ढाल्न निर्णायक भूमिका निभाए । त्यसपछि उनीहरूको सम्बन्ध शत्रुतापूर्ण बन्न गयो । दुई नेतासँगै बस्न सक्ने स्थिति नआएपछि नेपालले अन्ततः आफैँले १५ वर्ष नेतृत्व गरेको पार्टीे फुटाएर एकीकृत समाजवादी बनाए । यी वृद्ध नेताहरूबीच त्यसपछि सुरू भएको गालीगलौजपूर्ण आरोप-प्रत्यारोपको श्रृंखला लामै छ ।

पछिल्लो समय ओली र नेपालबीच टेलिफोनमा मात्रै होइन, भेटघाटमा समेत लामै कुराकानी हुन थालेको छ । एकीकृत समाजवादीसँग पार्टी एकता गरेर सबैभन्दा ठूलो दलको नेता बन्ने रणनीतिमा ओली छन् । त्यसैले ओलीले नेपालसँग सहकार्यको हात अघि बढाएका छन् । तर, विश्वासको वातावरण अझै बनिसकेको छैन ।