Breaking

चिसियो प्रचण्ड-बाबुराम सम्बन्ध : ‘मन मिल्दा चाटाचाट, नमिल्दा काटाकाट’


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वार्थका लागि जोसँग पनि मिल्न तयार हुन्छन । प्रचण्डले कसलाई कतिबेला धोका दिन्छन अत्तोपत्तो हुँदैन ।

जनयुद्धको सहयात्री बाबुराम भट्टराईदेखि शान्तिपूर्ण राजनीतिमा अवतरण गराउने गिरिजाप्रसाद कोइरालासम्मलाई प्रचण्डले धोका दिएका छन् । प्रचण्ड-बाबुरामको मिलन–बिछोड र धोकाधारीको श्रृंखला लामै छ । संकटको बेलामा नजिक हुन खोजेपनि व्यक्तिगत स्वार्थले दूरी बढाइरहेको छ ।

पछिल्लो १५ महिनामा मात्रै प्रचण्डले चार वटा गठबन्धन फेरे । चुनावमा एउटा, चुनावलगत्तै अर्को, केही महिनामै फेरि अर्को तर, सत्तामा सँधै प्रचण्ड । सत्ताका लागि जोसुकैसँग पनि मिलिहाल्ने र सबैलाई धोका दिन सक्ने पात्र हुन् प्रचण्ड । धोकाधारी र तिकडममा सायद गिनिज बुकमा नाम लेख्ने भए प्रचण्डकै नाम आउथ्यो होला ।

जनयुद्धको सहयात्री बाबुराम भट्टराई, मोहन बैद्यदेखि शान्तिपूर्ण राजनीतिमा अवतरण गराउने गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र माधवकुमार नेपालसम्मलाई प्रचण्डले धोका दिएका छन् । एउटै यात्रामा हिडेका भट्टराईलाई प्रचण्डले सबैभन्दा ठूलो चोट दिएका छन् । माओवादी पृष्ठभूमिका नेता तथा कार्यकर्ता संकटमा परेको बेला भट्टराइए एकजुट हुन खोजे पनि प्रचण्डको प्रवृत्तिले मिल्न दिँदैन । प्रचण्ड र बाबुराम भट्टराई जनयुद्धदेखिका सहयोद्धा हुन् । यी दुई नेताको मिलन र विछोड फेहरिस्त निकै रोचक रहेको छ । एउटै कम्युनिस्ट स्कुलिङबाट आएका प्रचण्ड धोकाधारीमा र बाबुराम पार्टी परिवर्तनमा कृतिमानी कायम गरिरहेका छन् । १० वर्षीय जनयुद्धसँगै लडेका यी दुई नेताबीचको सम्बन्धमा समय चक्रसँगै धेरै फेरबदल आएको छ । दुबै नेता प्रधानमन्त्री पनि बने ।

प्रचण्ड तीन पटक र बाबुराम एक पटक प्रधानमन्त्री बने । नेपालीमा एउटा भनाइ छ, बरु भात छोड्नु तर, साथ नछोड्नु । तर, प्रचण्ड र बाबुरामको हकमा भने ठिक विपरीत भएको छ । जनयुद्धका सहयोद्धा दुई नेता अहिले फरक पार्टीको नेतृत्व गरिरहेका छन् । प्रचण्ड माओवादी केन्द्र र बाबुराम नेपाल समाजवादी पार्टीको अध्यक्ष छन् ।

पार्टी विभाजनपछि चिसिएको प्रचण्ड–बाबुरामको सम्बन्ध गत मंसिर ४ को निर्वाचनले पुनः नजिक ल्याउन खोजेको थियो । कुनै समय भारतपरस्त र राजापरस्तको आरोप र प्रेम—घृणाको सम्बन्धलाई पटाक्षेप गर्दै प्रचण्ड-बाबुराम पुनः सँगसँगै उभिएको प्रतिज्ञा गरेका थिए । बाबुरामले आफ्नो निर्वाचन क्षेत्र प्रचण्डलाई सुम्पिएर उनीसँगको सम्बन्धलाई फेरि नयाँ सिराबाट गास्न खोजेका थिए । तर, निर्वाचनपछि पार्टी एकता गर्ने सैद्धान्तिक सहमति भएको थियो । तर, प्रचण्डको खोलो तरेपछि लौरो विर्सने प्रवृत्तिका कारण बाबुरामसँगको सम्बन्धमा दरार आएको छ ।

पार्टी एकताको योजना कुहिरो भित्र हराएको काग जस्तो भएको छ । २०७९ पुसमा माओवादी केन्द्रले उपाध्यक्ष कृष्णबहादुर महरा र नेसपाले सहअध्यक्ष गंगानारायण श्रेष्ठको नेतृत्वमा वार्ता टोली बनाएका थिए । भट्टराईले प्रचण्डप्रति लक्षित गर्दै व्यवस्था जोगाउने जिम्मेवारी लिएकाहरूबाटै अहिलेको व्यवस्थामाथि संकट रहेको दाबी गरिरहेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डको कार्यशैलीलाई लिएर बाबुरामले सार्वजनिक रूपमा निरन्तर असन्तुष्टि जनाउन थालेका छन् । निर्वाचनपछि राम्रै रूपमा चलिरहेको प्रचण्ड–बाबुरामको सम्बन्धमा पार्टी एकताको विषयमा गत भदौ ३० गते प्रचण्डले पहिलो अध्यक्ष बाबुरामलाई छोडेर दोस्रो अध्यक्ष यादवलाई सम्बोधन गर्दै पत्र लेखेपछि खटपट सुरू भएको हो । पत्रको भाष्य हेर्दा माओवादीले एकता नभएर पार्टी प्रवेश गर्न आऊ’ भनेजस्तो भएको बाबुरामको विश्लेषण छ । प्रचण्डको प्रयोगको राजनीति नयाँ होइन । उनी आफैँ पनि आफू रहन्जेल उथलपुथल भइरहने दाबी गर्छन ।

प्रचण्ड-बाबुरामको मिलन–बिछोड र धोकाधारीको श्रृङ्खला लामै छ । आम चुनावअघिकै सहमति अनुसार नेपाल समाजवादी पार्टीका केही नेता माओवादीको चुनाव चिह्न लिएर निर्वाचनमा गए । केही नेताले जिते पनि । तर, प्रचण्ड र बाबुरामबीच सम्बन्धमा दरार आएसँगै अहिले आफ्नो सांसद छुट्याउन माग गर्दै निवेदन दिएका छन् । अब आफ्नो क्षेत्र २०८४ को निर्वाचनमा प्रचण्डलाई नछाड्ने अभिव्यक्तिसमेत दिएका छन् । प्रचण्ड–बाबुरामबीच भएको नयाँ एकतालाई पनि पूर्वमाओवादीहरू विलयको सङ्ज्ञा दिन्छन ।

प्रचण्ड र बाबुराम दुबै अस्थिर छबि भएका नेता हुन् । अतिमहत्वाकांक्षाबाट प्रचण्ड र बाबुराम दुबै अछुतो छैनन् । स्वार्थका लागि जे पनि गर्न पछि नपर्ने दुबै नेताको राजनीतिक यात्रा ओरालो लागिरहेको छ । उतार–चढावमय प्रचण्ड र बाबुराम सम्बन्धमा दुवैको व्यक्तिगत महत्वाकाङ्क्षाले चिसोपन थप्दै आएको छ ।